११ बैशाख २०८१, मंगलबार

एसइई परीक्षा नहुने, विद्यालयकै आन्तरिक मूल्याङकनलाई मान्यता दिइने


एसइई परीक्षा

काठमाडौं, जेठ २८ । नेपाल सरकारले यस वर्षको नियमित एसइई परीक्षा नहुने गरी विद्यालयकै मूल्यांकनलाई मान्यता दिइने निर्णय भएको छ । आज बुधबार राती बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले एसइई परीक्षा नहुने प्रस्ताव पारित गरेको एक मन्त्रीले बताए । बैठकमा यस वर्षको एसइई परीक्षा खारेज गर्न शिक्षा मन्त्रालयले प्रस्ताव पारित भएको हो ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस वर्ष नियमित परीक्षा नगरी कानूनी रुपमा मिलाएर विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षा हुने निर्णय भएको एक मन्त्रीले बताए । अब विद्यालयहरूले आन्तरिक मूल्यांकनको नम्बर परीक्षा बोर्डमा पठाउने छन् र त्यसकै आधारमा ग्रेड निर्धारण गरेर परीक्षाफल सार्वजनिक हुने ती मन्त्रीले बताए ।

ती मन्त्रीले एसईई खारेज नभई विद्यालयलाई जिम्मा दिइएको बताए । यसमा पनि आन्तरिक परीक्षा र मूल्याङ्कन हुने उनले बताए । आज बसेको मन्त्रिपरिषद्‍ले गरेका निर्णय औपचारिक रुपमा सार्वजनिक गरिएको छैन । सरकारका प्रवक्ताले भोलि बिहीबार मात्रै निर्णयबारे जानकारी दिने बताइएको छ ।

कोरोना भाइरस संक्रमण र लकडाउनको कारण अन्योलमा परेको एसइई परीक्षा सरकारले नहुने गरेको हो । करिब ३ महिनादेखि अन्योल अवस्थामा रहेको एसइई परीक्षा यस पटकलाई नहुने गरी विद्यालयले मूल्यांकनलाई मान्यता दिन मन्त्रिपरिषद् बैठकमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले प्रस्ताव लागेका थिए । मन्त्री पोखरेलले लगेको प्रस्तावलाई मन्त्रिपरिषद्ले पारित गरेको हो ।

गएको चैत ६ गतेदेखि शुरु हुने भनिएको एसइई परीक्षा कोरोना भाइरस संक्रमण र लकडाउनको कारण अचानक स्थगित भएको थियो । सरकारले जाँच शुरु हुनु अघिल्लो साँझ परीक्षा अनिश्चितकलको लागि रद्ध गर्ने निर्णय गरेको थियो ।

कक्षा १० को एसइई परीक्षाका लागि चार लाख ८२ हजार २१९ विद्यार्थीले आवेदन दिएका थिए भने एक हजार ९९५ परीक्षा केन्द्र निर्धारण गरिएको थियो ।  परीक्षाको लागि प्रश्नपत्र सबै केन्द्रमा पुर्याइएको थियो । परीक्षा अचानक स्थगित भएपछि प्रश्नपत्र केन्द्र नजिकको प्रहरी चौकीमा सुरक्षित गरी राखिएका छन् ।

बोर्डले गत चैत ८ गतेदेखि हुने कक्षा १२ र चैत २५ गतेदेखि हुने भनिएको कक्षा ११ को परीक्षा पनि बन्दाबन्दीका कारण स्थगन गरेको थियो । विश्वविद्यालयका परीक्षा पनि स्थगन गरिएका छन् ।

यो पनि पढ्नुहोस्

एसइई परीक्षा : आन्तरिक मूल्याङ्कनलाई मान्यता दिने प्रस्ताव


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !