१२ बैशाख २०८१, बुधबार

खाजा खानकै लागि विद्यालय आउँछन् चेपाङ बालबालिका


खाजा खान

धादिङ, ३० फागुन । बेनिघाटरोराङ गाउँपालिका–२ सिमथलीस्थित प्रजा आधारभूत विद्यालयका चेपाङ बालबालिका विद्यालय आउँदा भोकै आउँछन् भन्दा पत्यार नलाग्न सक्छ तर यो वास्तविकता वर्षौंदेखि चलिरहेको छ ।

कक्षा २ मा अध्ययनरत सेविका चेपाङ सात वर्षकी भइन् । घरमा खानेकुरा नभएकाले बिहान उनी खाना नखाइ आउँछिन् । जब विद्यालय आउँछिन् । यताउता हेरिरहने बानी छ । कहिलेकाहीँमात्र बिहानको खाना खाएर आउने भएकाले धेरैजसो भोकै आएपछि खाजा बनाउने ठाउँतिर एकटकले हेरेपछि उनी कक्षातिर पुग्ने गर्छिन् । निन्याउरो अनुहार बनाएर कक्षामा बस्ने भएकाले कतिखेर खाजा खान पाइन्छ भनेर उनीहरु झ्यालतिर हेरेर बसेको टिठलाग्दो दृश्य देखिन्छ ।

कक्षा २ मा अध्ययन गर्ने अनिशा चेपाङ पनि खाली खुट्टा विद्यालय आउँछिन् । विद्यालय पोशाक लगाएको देखिएकै छैन । आमाबुबा ज्याला गर्न जान्छन् । बिहान निस्कने आमाबुबाले बेलुका घरमा खानेकुरा ल्याए भने उनीहरुले खानाखान पाउँछन् अन्यथा बेलुका पानी खाएर भोकै बस्नु उनीहरुको बाध्यता हो । कक्षा ४ मा अध्ययनरत १० वर्षीय सुजन चेपाङ पुरानो कपडा लगाएर विद्यालय आउँछन् । ज्याला गरेर किनेको चप्पलसमेत फाटेको छ । विद्यालय आउँदा लाज हुने भएपछि उनी बिदाको दिन ज्याला गरेर कमाएको थोरै पैसा जोहो गरेर चप्पल किनेर लगाउने गर्छन् ।

कक्षा ४ मा अध्ययन गर्ने सन्तोष चेपाङको हालत पनि उस्तै छ । खानेकुरा घरमा छ्रैन । विद्यालयको खाजाका लागि आउने गरेको चेपाङ बालबालिका समस्यासँग जुधिरहेका छन् । चार कक्षा पढ्ने भए पनि उनीहरु ज्याला गर्न जान सक्ने कहलिन्छन् । ज्याला गर्न नपाएको दिन विद्यालय आउने विद्यार्थीको सङ्ख्या पनि बढी नै छ । ज्याला गर्नु उनीहरुको बाध्यता र पेट पाल्ने आधारका रुपमा लिइएको छ ।

यी पात्रहरु प्रतिनिधिमात्र हुन् । प्रजा आधारभूत विद्यालयमा अध्ययन गर्ने ११० विद्यार्थीमध्ये २५ विद्यार्थी हरेक दिन विद्यालयको खाजा खान पाइन्छ भनेर आउने गरेका छन् भने ७५ विद्यार्थी खाली खुट्टामा र विद्यालय पोशाक नलगाई विद्यालय आउने गरेका विद्यालयका प्रधानाध्यापक अप्सरा मैनालीले राससलाई जानकारी दिनुभयो ।

घरमा खाने अन्न नभएका चेपाङ समूदायको बसोबास रहेको सिमथलीमा ७० घर छन् । छाप्रा बनाएर बसेको गाउँमा र विद्यालयमा खानेपानीसमेत छैन । विकासको सबै पूर्वाधारको पहुँचबाट टाढा रहेको सिमथलीवासीका लागि आयआर्जनको कुनै उपाय नभएपछि गाउँवासी ज्याला मजदूरी गर्न गाउँ छाडेर हिँड्ने र केही मानिस बच्चा भएकाले गाउँमै बसेर एक छाकको भरमा जीवन निर्वाह गरिरहेको कष्टकर जीवन देख्न सकिन्छ ।

नेपाल सरकारले २०३५ सालदेखि लागू गरेको प्रजा विकास कार्यक्रम र गैह«सरकारी संस्थाले गरेको विकासले नछोएको र उनीहरुको फोटोमात्र कार्यालयमा पुगेको अवस्थामा गाएको विकासमा लाग्ने हो भने गाउँवासीको आम्दानी हुने योजना स्थानीय सरकारले बनाएर मात्र सम्भव हुने प्रधानाध्यापक मैनालीको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !