६ बैशाख २०८१, बिहिबार

प्राविधिक शिक्षा पढाउँदै सामुदायिक विद्यालय


प्रविधि

दमौली, १३ फागुन । वर्तमान समयको आवश्यकता र विद्यार्थीको मागलाई पूरा गर्न तनहुँ जिल्लाका सामुदायिक विद्यालयहरुले धमाधम प्राविधिकको पढाइ शुरु गरेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा रहेका सामुदायिक विद्यालयले सिभिल इञ्जिनीयरिङ्, पशुविज्ञान, कम्प्युटर इञ्जिनीयरिङलगायतका प्राविधिक शिक्षाको पढाइलाई अगाडि बढाएका हुन् ।

घिरिङ गाउँपालिका–३ स्थित चन्द्रज्योति माध्यमिक विद्यालयमा गत वर्षदेखि सिभिल इन्जिनीयरिङको पठनपाठन भइरहेको प्रधानाध्यापक प्रेम थापाले जानकारी दिनुभयो । विद्यालयले सिभिल इञ्जिनीयरिङतर्फ टिएसएलसीको गत वर्षदेखि पठनपाठन शुरु गरेकामा यो वर्षबाट डिप्लोमाको पढाइ शुरुआत गरेको छ ।

थापाका अनुसार डिप्लोमातर्फ पाँच र टिएसएलसीतर्फ १० जना विद्यार्थीले प्राविधिक शिक्षा पढिरहेका छन् । “ग्रामीण भेगमा अवस्थित विद्यालय भएको भएर विद्यार्थी सङ्ख्या अलिकति कम जस्तो देखिएको छ तर प्राविधिक धारको पढाइमा विद्यार्थीको आकर्षण भने बढेको छ ।” थापाले प्राविधिक शिक्षाको पढाइको महत्वबारे जानकारी गराएर आगामी वर्ष विद्यार्थी सङ्ख्या वृद्धि गर्न पहल थालिने जानकारी दिनुभयो ।

घिरिङ गाउँपालिका–१ पुट्टारस्थित कालीगण्डकी बहुप्राविधिक शिक्षालयले वन विज्ञानको पढाइ सञ्चालन गरिरहेको छ । विद्यालयमा ३४ जना विद्यार्थी अध्ययनरत रहेको शिक्षालयका प्रमुख गोविन्द पौडेलले जानकारी दिनुभयो । शिक्षालयमा वन विज्ञानको पढाइका लागि विभिन्न २२ जिल्लाबाट विद्यार्थी भर्ना भएका छन् ।

पौडेलका अनुसार तनहुँ, लमजुङ, स्याङ्जा, कालिकोट, बझाङ, अछाम, कैलाली, दैलेख, जुम्ला, रुकुम, दार्चुला, बाजुरा, महोत्तरी, जाजरकोट, सल्यान, हुम्लालगायतका जिल्लाबाट विद्यार्थी यहाँ अध्ययनरत छन् । प्राविधिक शिक्षा त्यसमा वन विज्ञानको पढाइ शुरु भएपछि विभिन्न दुर्गम जिल्लाबाट समेत विद्यार्थी अध्ययनका लागि शिक्षालयमा आएको पौडेलले बताउनुभयो ।

नेपालमा प्राविधिक शिक्षाको माग बढी भएकाले देशका विभिन्न ठाउँबाट वन विज्ञान पढ्न आउने विद्यार्थीको आकर्षण बढे पनि यहाँको जीर्ण सडकले केही समस्या उत्पन्न हुन थालेको पौडेलले बताउनुभयो । शिक्षालयमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् ९सिटिइभिटी० मातहत ११ जना र निजी स्रोतमा पाँच जना कर्मचारी कार्यरत छन् । टाढाटाढाका जिल्लाबाट विद्यार्थी अध्ययन गर्ने भएकाले अधिकांशले पुट्टार क्षेत्रमै डेरा लिएर बसेका छन् ।

व्यास नगरपालिका–५ स्थित जनजुक्त शाही माध्यमिक विद्यालयले पशु विज्ञानको पढाइ सञ्चालन गरिरहेको छ । विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र न्यौपानेले समाजको माग र आवश्यकतालाई मध्यनजर गर्दै विद्यालयमा पशुविज्ञानको पढाइ शुरु गरिएको जानकारी दिनुभयो । पशुविज्ञानतर्फ १२ जना विद्यार्थी भर्ना भएर अध्ययन गरिरहेका छन् ।

पशुविज्ञानतर्फ अध्ययन गरिरहेका विद्यार्थीलाई बेमौसमी खेती तथा ग्रामीण पशु स्वास्थ्य कार्यकर्ता तालीम पनि सञ्चालन गरिएको न्यौपानेले बताउनुभयो । “पढाइलाई प्रयोगात्मक बनाउन विद्यालयमै तालीमको आयोजना गरिएको छ, विद्यार्थी आफैँले विभिन्न खेती गरिरहेका छन्,” न्यौपानेले भन्नुभयो, “यसले विद्यार्थीलाई पढाइ सँगसँगै ज्ञान पनि सिक्ने अवसर मिलेको छ ।”

शुक्लागण्डकी नगरपालिका–४ स्थित पञ्चमुनीदेव माध्यमिक विद्यालयले पशुविज्ञानको पढाइ सञ्चालन गरेको छ । पशुविज्ञानमा १२३ विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक धु्रव मल्लले जानकारी दिनुभयो । पढाइलाई प्रयोगात्मक बनाउन विद्यालयले च्याउखेती तालीम सञ्चालन गरेको छ । उक्त विषय अध्ययन गरिरहेका विद्यार्थी अहिले च्याउखेतीमा व्यस्त छन् ।

व्यास नगरपालिकास्थित निर्मल माध्यमिक विद्यालयले सब–ओभरसियर, सत्यवती माध्यमिक विद्यालयले कम्प्युटर विज्ञान, आँबुखैरेनी गाउँपालिकास्थित रामशाह माध्यमिक विद्यालयले पशु विज्ञान, भानु नगरपालिकास्थित होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालय, बन्दीपुर गाउँपालिकास्थित पवित्रा माध्यमिक विद्यालयमा सिभिल इञ्जिनीयरिङको पढाइ हुने गरेको छ ।

भीमाद नगरपालिकास्थित सिद्धार्थ माध्यमिक विद्यालय, शुक्लागण्डकी नगरपालिकास्थित गाउँफर्कोदय माध्यमिक विद्यालय, भानु नगरपालिकास्थित भानु संस्कृत माध्यमिक विद्यालय, त्रिभुवन माध्यमिक विद्यालय र चोक माध्यमिक विद्यालयमा कृषि तथा बाली विज्ञान र म्याग्दे गाउँपालिकास्थित जनगणपते माध्यमिक विद्यालयमा पशुविज्ञानको पढाइ हुने गरेको छ । साधारण विषयमा भन्दा प्राविधिक विषयमा अध्ययन गर्न खोज्ने विद्यार्थीको सङ्ख्या क्रमशः बढ्न थालेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !