, पिँढी पाठशालाबाट पठनपाठन थालिएको पोखरा शिक्षाको केन्द्र

पिँढी पाठशालाबाट पठनपाठन थालिएको पोखरा शिक्षाको केन्द्र

वासुदेव पौडेल, पोखरा, ११ फागुन । ‘शिक्षा नपाए कि काशी जानू, कि कास्की जानू’ प्राचीनकालदेखि नेपाली जनजिब्रोमा झुण्डिने उखान हो यो । उखानमा भने जस्तै प्राचीनकालदेखि नै कास्कीमा शिक्षा विकासको लामो गौरवशाली इतिहास छ । तत्कालीन प्राचीन समाजमा शैक्षिक केन्द्रका रुपमा दरिलो छाप छोडेको कास्की यतिखेर शिक्षाको आकर्षक गन्तव्य बन्दै गएको छ भन्दा कुनै अत्युक्ति हुँदैन । राजधानी काठमाडौँ बाहिर विद्यालय तह होस् वा उच्च शिक्षा हरेक क्षेत्रमा कास्कीले आफूलाई अग्रणिरुपमा बढाएको पाइन्छ ।

यकिन तिथिमिति थाहा नभए पनि १८–१९औँ शताब्दीको समयावधितिर कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित पाउँदुरमा सञ्चालित पिँढी पाठशाला र त्यही समयको आसपासमा विन्ध्यवासिनी क्षेत्रमा सञ्चालित पठनपाठनले त्यस समयदेखि नै कास्कीले आफूलाई शिक्षाको केन्द्र स्थापित गरेको संस्कृतिविद् तीर्थ श्रेष्ठ बताउनुहुन्छ ।

पाउँदुरमा पौडेल थरका विद्वानले पिँढीमा राखेर पढाउने भएकै कारण त्यसबेला पिँढी पाठशाला भनिएको हुनसक्ने उहाँले बताउनुभयो । त्यस समयमा विन्ध्यवासिनी आसपासमा पराजुली र रेग्मी थरका विद्वानले गुरु, शिष्य परम्पराअनुसार नै पठपाठन गराएइको पाइन्छ । पोखरामा पढ्नकै लागि देशका विभिन्न स्थानबाट आउने क्रम बढेसँगै शिक्षा नपाए काशी कि कास्की भन्ने प्रचलन भएको हुनसक्ने बूढापाका बताउँछन् ।

पढ्ने पढाउने क्रम थालिए पनि कास्कीमा औपचारिकरुपमा विसं १९५८ मा देव शमशेरको पालामा खोलिएको भाषा पाठशाला यहाँको पहिलो औपचारिक पाठशाला हो । तत्कालीन समयमा विन्ध्यवासिनी मन्दिर क्षेत्रमा सञ्चालित उक्त पाठशालापछि भीमकाली पाटनमा सारिएको थियो । जुन अहिले संस्कृत माध्यमिक विद्यालयका रुपमा रहेको छ । यस अवधिमा संस्कृत शिक्षा नै पठनपाठनको मुख्य आधार बनेको थियो ।

भाषा पाठशालापछि पोखरामा आधुनिक शिक्षालाई लक्षित गरी २००६ सालमा पब्लिक मिडिल स्कुल स्थापना गरियो । शुरुमा नदीपुरस्थित नारायणस्थानको पौवामा स्थापित सो विद्यालय २००९ सालमा नेशनल हाइस्कुलका नाममा टुँडिखेलमा सारिएको थियो ।

सो विद्यालय स्थापना एवं सञ्चालनपछि २०१३ सालमा रामघाटमा छुट्टै सोल्जर्स बोर्ड हाइस्कुल स्थापना भएको थियो । यसरी शुरु भएको पोखराको शिक्षाको विकाससँगै पछिल्ला वर्षमा के साधारण के प्राविधिक हरेक किसिमको शिक्षा पाउन थालिएसँगै यो शिक्षाको केन्द्र बन्दै गएको छ । उच्च शिक्षाका क्षेत्रमा गौरवशाली इतिहास बोकेको पृथ्वीनारायण क्याम्पसदेखि पछिल्ला समयमा यहाँ खेलेका क्याम्पसले यहाँको शैक्षिक विकासमा ठूलै योगदान पु¥याएका छन् । लेखनाथको ढुङ्गेपाटनमा स्थापित पोखरा विश्वविद्यालयले त यहाँको शैक्षिक गरिमा र महिमालाई अझै उचाइमा पु¥याएको छ । पछिल्ला समयमा यहाँका कलेज भौतिक पूर्वाधार मात्र नभई शैक्षिक गुणस्तरीयतामा पनि अग्रसर देखिएका छन् ।

पोखरा विश्वविद्यालयअन्तर्गत पोखरामा मात्रै चार वटा आङ्गिक क्याम्पस, पाँच वटा सम्बन्धन प्राप्त क्याम्पस र एक वटा संयुक्त आङ्गिक क्याम्पस रहेको विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार स्कुल अफ हेल्थ एण्ड अलाइट साइन्सेज, स्कुल अफ विजनेस, स्कुल अफ इञ्जिनीयरिङ र स्कुल अफ डेभलपमेन्ट एण्ड सोसल इञ्जिनीयरिङ गरी चार आङ्गिक क्याम्पस विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसरमा सञ्चालित छन् ।

पोखराको घारीपाटनमा सञ्चालित हिमालय आई इन्टिच्यूट विश्वविद्यालयको संयुक्त आङ्गिक क्याम्पस हो । त्यस्तै पोखरा इञ्जिनीयरिङ कलेज फिर्के, गण्डकी कलेज अफ इञ्जिनीयरिङ एण्ड साइन्स लामाचौँर, नेपाल टुरिजम एण्ड होटेल म्यानेजमेन्ट कलेज छिनेडाँडा, ला ग्राण्डी इन्टरनेशनल कलेज सिमलचौर र पोखरा कलेज अफ म्यानेजमेन्ट नदीपुर पोखरा विश्वविद्यालयका सम्बन्धन प्राप्त क्याम्पस हुन् । यी शैक्षिक संस्थाबाट प्राविधिक तहका विभिन्न विषयमा अध्यापन हुँदै आएको छ ।

विश्वविद्यालयले आङ्गिक एवं सम्बन्धन प्राप्त क्याम्पसमा भौतिक पूर्वाधार विकासका साथै शैक्षिक गुणस्तरीयतालाई आफ्नो प्राथमिकतामा राखेको ढकालले जानकारी दिनुभयो । नयाँनयाँ विषय एवं शैक्षिक संस्थाकै खोजीमा पोखराबाट विद्यार्थी बाहिरनुपर्ने अवस्था नरहेको कालिका बहुमुखी क्याम्पस काजीपोखरीका क्याम्पस प्रमुख रवीन्द्र बाँस्तोला बताउनुहुन्छ ।

“प्राविधिक एवं व्यवसायिकतर्फका नयाँ विषयकै लागि विद्यार्थी पोखराबाट बाहिरिनुपर्ने अवस्था त छैन,” उहाँले भन्नुभयो, “शैक्षिक गुणस्तरियता अभिवृद्धि गर्नेतर्फ भने प्रत्येक शैक्षिक संस्थाले गम्भीरतापूर्वक सोच्नु आवश्यक छ ।” शैक्षिक संस्था खोलिने क्रम बढिरहेको बताउँदै उहाँले पोखरामा पब्लिक कलेजको सङ्ख्या १४ पुगिसकेको जानकारी दिनुभयो ।