७ बैशाख २०८१, शुक्रबार

विद्यालय पुनःनिर्माण अझै एक वर्ष लाग्ने


स्कुल

काभ्रेपलाञ्चोक, ११ फागुन । भूकम्पले क्षति पु¥याएका जिल्लाका २८ सामुदायिक विद्यालयका भवन एशियाली विकास बैंक (एडिबी)को करिब रु एक अर्ब २९ करोड ऋण सहयोगमा निर्माण सम्पन्न भएका छन् । सरकारको आपतकालीन परियोजनाअन्तर्गत चार वर्षमा ती सङ्ख्यामा विद्यालय भवन पुनःनिर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा)ले जनाएको छ ।

पुनःनिर्माण सम्पन्न भएका ती विद्यालय हस्तान्तरण भइसकेको एकाइ प्रमुख द्वारिका पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार दाताको ऋण सहयोगमा विद्यालयका भवन तथा शौचालय निर्माण भएका हुन् । धुलिखेलस्थित सञ्जीवनी नमूना मावि र चौरीदेउरालीस्थित प्रभा नमूना माविमा आवासीय भवन तथा केही विद्यालयमा दुई भवनसमेत निर्माण भएका छन् ।

यस्तै, सरकारको विपद् व्यवस्थापन परियोजनाअन्तर्गत एडिबीकै ऋण सहयोगमा जिल्लामा १९ सामुदायिक विद्यालय भवन पुनःनिर्माण हुने भएका छन् । १० विद्यालयको निर्माण ७० प्रतिशत सकिएको एकाइका इञ्जिनीयर सोभित श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी नौ विद्यालय पुनःनिर्माणका लागि बोलपत्र प्रक्रिया अघि बढाइएको छ । १९ विद्यालय पुनःनिमार्णका लागि रु ५१ करोड २४ लाख ३५ हजार ऋण सहयोग भएको उहाँले बताउनुभयो ।

भूकम्पबाट क्षतिग्रस्त सामुदायिक विद्यालयमध्ये ८३ विद्यालयलाई अहिलेसम्म पनि पुनःनिर्माण योजनाले छोएको छैन । पुनःनिर्माण योजनाले नछोएका अधिकांश विद्यालयका विद्यार्थी अस्थायी छाप्रोमा पढ्न बाध्य छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग दाताले दिएको रकम सम्झौता गर्न ढिलाइ हुनु, विद्यालयका लागि उपुयक्त जमिन प्राप्त गर्न नसक्नु, विद्यालय छनोटमा ढिलाइ हुनु तथा विभिन्न प्राविधिक कठिनाइका कारण ८३ विद्यालयको पुनःनिर्माणको काम शुरु नभएको जिल्ला शिक्षा समन्वय एकाइ धुलिखेलले जनाएको छ ।

“भौगोलिक विकटता, दक्ष कामदारको अभावले पनि पुनःनिर्माणमा प्रतिकूल प्रभाव परेको छ”, जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) प्रमुख पोखरेलले भन्नुभयो । जिल्ला शिक्षा विकास तथा समन्वयबीच बजेटमा एकरुपता नहुनु तथा अभिभावकमा चासो–चिन्ता नदेखिनु अर्को प्रमुख कारण रहेको पोखरेलले बताउनुभयो । उहाँका अनुसार पुनःनिर्माण थालिएको चार वर्षमा जिल्लाका ५८७ सामुदायिक विद्यालयमध्ये ६० प्रतिशत विद्यालयको पुनःनिर्माणको काम सकिएको छ । उहाँ भन्नुभयो, “निर्माणाधीन विद्यालयका काम हाल तीव्रताका साथ भइरहेको छ ।”

क्षतिग्रस्त सामुदायिक विद्यालयको पुनःनिर्माणमा अझै एक वर्ष लाग्ने भएको छ । निर्माणाधीन विद्यालयको ८५ प्रतिशत काम सम्पन्न भएको एकाइको तथ्याङ्कले देखाएको छ । जिल्लाको सामुदायिक विद्यालयको पुनःनिर्माण योजनामा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सङ्घसंस्था तथा भारतीय दूतावासलगायतले सहयोग गरेका छन् । मण्डनदेउपुर नगरपालिका र महाभारत गाउँपालिकामा पूर्ण क्षति भएका विद्यालयको पुनःनिमाणको काम आउँदो २०७७ भित्र सक्ने योजना छ । एकाइका अनुसार हाल धुलिखेल नपामा ५०, पाँचखाल नपामा ७५, पनौती नपामा ६५, नमोबुद्ध नपामा ६५, बनेपा नपामा ६० प्रतिशत विद्यालयको पुनःनिर्माण भएको छ ।

यस्तै, खानीखोला गाउँपालिकामा ८०, चौँरीदेउराली गाउँपालिकामा ७०, रोशी गाउँपालिकामा ७०, भुम्लु गाउँपालिकमा ७०, बेथानचोक गाउँपालिकामा ६० र तेमाल गाउँपालिकामा ६५ प्रतिशत सामुदायिक विद्यालयको पुनःनिर्माणको काम सकिएको हो । जिल्लाका कूल ६९० विद्यालयमध्ये १०३ संस्थागत छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !