८ बैशाख २०८१, शनिबार

महालक्ष्मी नगरपालिका र कान्तिपुर इन्टरनेशनल कलेज वीच समझदारी पत्रमा हस्ताक्षर


महालक्ष्मी नगरपालिका र कान्तिपुर इन्टरनेशनल कलेज वीच समझदारी पत्रमा हस्ताक्षर

फागुन ४, ललितपुर । महालक्ष्मी नगरपालिका र कान्तिपुर इन्टरनेशनल कलेज वीच समझदारी पत्रमा हस्ताक्षर । ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका र यस नगरपालिकाको वडा नं. ८ लुभुमा सञ्चालनमा रहेको कान्तिपुर इन्टरनेशनल कलेज वीच एक अर्कालाई सहयोग गर्ने अभिप्रायले समझदारी पत्रमा हस्ताक्षर गरी सम्झौता भएको छ । सम्झौता पत्रमा महालक्ष्मी नगरपालिकाका मेयर श्री रामेश्वर श्रेष्ठ र कान्तिपुर इन्टरनेशनल कलेजको तर्फवाट प्रिन्सिपल प्रा. डा. जीवराज पोखरेल, नगरपालिकाका प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद रेग्मी र कलेजका एकेडेमिक डाइरेक्टर नवराज पोखरेलले आज हस्ताक्षर गर्नुभयो ।

उक्त समझदारी पत्रमा उल्लेख भएअनुसार महालक्ष्मी नगरपालिकाले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत रहेका शहरी योजना, सम्पदा संरक्षण, वास्तुकला तथा इन्जिनियरिङ सम्बन्धी काम अध्ययनका लागि उक्त कलेजका बिद्यार्थी तथा प्राध्यापकहरुलाई अनुमति दिनेछ तथा कलेजले यस सम्बन्धमा आवश्यक सर-सल्लाह दिनेछ । नगरपालिकालाई आवश्यक परेमा कलेजले विद्यार्थी तथा प्राध्यापक एवं विज्ञहरूलाई परिचालन गरी उक्त काम सम्बन्धी ईञ्जिनियरिङ सेवा प्रदान गर्नेछ ।

यस नगरपालिकामा स्थाई रुपमा बसोबास गरेका र यस नगरपालिकाका आदिबासी मध्ये ५ जना बिद्यार्थीका लागि भर्नाको ब्यवस्था गरिएको छ । उक्त बिद्यार्थीले विश्वविद्यालयको नियमानुसार जेहेन्दार तथा बिपन्न छात्रवृत्ति पाउने छन् । नगरपालिका र कलेजले विभिन्न अवसरहरुमा आयोजना गर्ने सार्वजनिक कार्यक्रमहरुमा एकले अर्कालाई पूर्व जानकारी दिने र आवश्यक सहयोगको आदान प्रदान गर्ने छन् ।

साथै कलेजले आफ्ना बिद्यार्थी तथा प्राध्यापकहरुलाई परिचालन गरी ईञ्जिनिरियरिङ सेवाको माध्यमबाट सामाजिक बिकास, सुधार, सचेतना, सम्पदा संरक्षण र रुग्ण सामुदायिक बिद्यालयको उत्थानमा योगदान दिने छ । यस समझदारी पत्रको हस्ताक्षर भएको तीनवर्षसम्म समझदारी कायम रहनेछ । त्यसपछि यसलाई निरन्तरता दिने या विश्राम दिने सम्वन्धमा समिक्षा हुनेछ र निरन्तरता दिनुपर्ने भएमा पुनः समझदारी गरिनेछ ।

उक्त कार्यक्रममा बोल्दै मेयर श्रेष्ठले देशको विकास गर्ने भनेको इन्जिनियर जस्ता प्राविधिक जनशक्तिले भएकोले गर्दा नगरपालिकाले असल र कुशल इन्जिनियर बनाउन उक्त कलेजसंग हातेमालो गर्दै अघि बढ्ने बताउनुभयो । इन्जिनियर जस्ता प्राविधिक जनशक्तिले भौतिक पूर्वाधार निर्माण गर्दा बडो दुरदर्शी भई फोहर ब्यबस्थापनको पाटोलाई एकदम ध्यान दिएर सेफ्टी ट्यांकी राख्दा सिल्ड म्यानेजमेन्टलाई पनि ध्यान दिन आग्रह गर्नुभयो ।

उक्त कार्यक्रममा बोल्दै प्रिन्सिपल प्रा. डा. पोखरेलले नेपालमा नै शायद पहिलो पटक निजी ईञ्जिनिरियरिङ कलेज र स्थानीय सरकार अन्तर्गतको नगरपालिकाले समझदारी पत्र (MoU) मा हस्ताक्षर भएको बताउनुभयो । इन्जिनियर जस्ता प्राविधिक जनशक्ति सिर्जनशील तथा रचनात्मक हुनुपर्ने भन्दै सम्वृद्धिको ज्वलन्त इतिहास छिमेकी देशहरु चिन र भारत भएकोले उनीहरुको विकासको प्रेरणावाट सिक्नुपर्ने बताउनुभयो । साथै इन्जिनियर विकास र उन्नतिको संवाहक भएकोले गर्दा यो सम्झौताले इन्जिनियरलाई सामाजिक इन्जिनियरमा रुपान्तरण गर्ने पनि बताउनुभयो ।

नेपाल इन्जिनियरिङ परिषदका रजिष्टार ई. खेमराज रेग्मीले अव परिषदले डाक्टरले एमबिबिएस पास गरी सकेपछी काम गर्न नेपाल मेडिकल काउन्सिलको परिक्षा पास गर्नुपर्ने भएजस्तै अव इन्जिनियर पनि नेपाल इन्जिनियरिङ परिषदको परिक्षा पास गर्नुपर्ने कानुन बन्दै गरेको बताउनुभयो । इन्जिनियरिङका बिद्यार्थीले नोटकापी पढ्ने भन्दा पनि टेक्स बुक पढ्नुपर्ने सुझाव पनि दिनुभयो ।

ललितपुर जिल्लामा अवस्थित महालक्ष्मी नगरपालिका ऐतिहासिक नगरपालिका हो । महालक्ष्मी भगवतीको नामबाट यस नगरपालिकाको नामाकरण भएको हो । यो नगरपालिकाको सिमाना पश्चिममा ग्वार्काेबाट आरम्भ हुन्छ र पूर्व लामाटारको मानेदोभानसम्म फैलिएको छ । यस नगरपालिकामा महालक्ष्मी मन्दिर लगायत श्रृङ्गी ऋषि गुफा पनि छ, जुनश्रृङ्गी ऋषिको जन्म स्थान भएको विश्वास रहेको छ । उनले पुत्रेष्ठी यज्ञ गरी राम, लक्ष्मण, भरत तथा शत्रुघ्नको जन्म भएको कुरा रामायणमा उल्लेख भएको पाइन्छ । त्यसै गरी साना गाउँ तथा लुभू लगायत धेरै ऐतिहासिक स्थलहरु भएको यस नगरपालिकाले विभिन्न संरक्षण तथा विकासका कार्यक्रमहरू जनसमक्ष ल्याएको छ ।

कान्तिपुर इन्टरनेशनल कलेज सन २००० मा स्थापना भएको हो । यसले सिभिल इन्जिनियरिङ्ग (Civil Engineering) तथा वास्तुकला (Bachelors in Architecture) मा स्नातक तहको ४ तथा ५ वर्षे शिक्षा प्रदान गरिरहेको छ । अहिले यस कलेजमा २०० विद्यार्थी, ३० प्राध्यापक तथा १० प्रशासकीय कर्मचारी रहेका छन् । उक्त कलेजले गरेको यो दोस्रो समझदारी पत्र (MoU) हो । यसअघि उक्त कलेजले लुभु खानेपानीसँग पनि इन्जिनियरिङ सम्बन्धी काममा केहि समय अघि हस्ताक्षर गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !