६ बैशाख २०८१, बिहिबार

विकट गाउँपालिकामा प्राविधिक शिक्षा : जहाँ पशुलाई झारफुक गरिन्छ


education

लमही, ३ असार । सरकारको एक स्थानीय तह, एक प्राविधिक शिक्षाको अवधारणाअनुसार दाङको राजपुर गाउँपालिकामा प्राविधिक शिक्षा शुरु भएको छ । दाङको विकट गाउँपालिकाको रूपमा रहेको राजपुरमा पहिलोपटक प्राविधिक शिक्षा शुरु भएको हो ।

राजपुर–५ सालभौँरीस्थित साधारण माध्यमिक विद्यालय गङ्गदीमा पशु विज्ञानको पढाइ शुरु भएको हो । सोमबार विद्यालयको ५९औँ वार्षिकोत्सवका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीका सल्लाहकार जीवन गौतम र प्रदेश नं ५ का प्रदेशसभा सदस्य रेवतीरमण शर्माले प्राविधिक शिक्षाको उद्घाटन गर्नुभएको हो ।

त्यस अवसरमा सल्लाहकार शर्माले सरकारले एक स्थानीय तह, एक प्राविधिक शिक्षाको अवधारणाअनुरुप राजपुरमा प्राविधिक शिक्षालय सञ्चालनमा ल्याइएको बताउनुभयो । यस वर्षदेखि कक्षा ९ बाट पशु प्राविधिक शुरु भएको विद्यालयका प्रधानाध्यापक जङ्गबहादुर चौधरीले बताउनुभयो । यसलाई वर्षेनी निरन्तरता दिँदै कक्षा १२ सम्म पशु विज्ञान पढाउने उहाँको भनाइ छ ।

उक्त विद्यायल गाउँपालिकाको एक मात्रै १०/२ सञ्चालन गर्ने विद्यालय भएकाले उक्त विद्यालयमा पशु विज्ञान पढाइ शुरु हुनु समग्र राजपुरका लागि ठूलो सफलता भएको समेत उहाँको भनाइ छ । “यस गाउँपालिकामा अहिलेसम्म एउटा पनि प्राविधिक शिक्षालय थिएनन्”, उहाँले भन्नुभयो, “तर अहिले हामीले सञ्चालनमा ल्याएका छौँ, यो राजपुर गाउँपालिकाका लागि ठूलो सफलताको विषय हो ।”

प्राविधिक शिक्षा सञ्चालनमा आएपछि विद्यार्थी पनि खुशी भएका छन् । “यसअघि प्राविधिक शिक्षा पढ्नका लागि कि त लमही कि घोराही जानुपथ्र्यो”,’ छात्र सञ्वत यादवले भन्नुभयो, “अब भने गाउँमै प्राविधिक शिक्षा पढ्न पाइने भयो ।” शुरुआतमा ३६ छात्र र १९ छात्रा गरी ४५ ले पशु विज्ञान अध्ययन गर्न पाउने विद्यालयकी प्राविधिक संयोजक सन्तोषी चौधरीले बताउनुभयो । विसं २०६७ मा उक्त विद्यालयले १०/२ सञ्चालनमा ल्याएको थियो ।

त्यस अवसरमा प्रदेशसभा सदस्य शर्माले उक्त प्राविधिक शिक्षाको विकासका लागि प्रदेशबाट पहल थाल्ने प्रतिबद्धता जनाउनुभयो ।

पशुलाई झारफुक गरिन्छ

राजपुर गाउँपालिकामा यादव र चौधरी समुदायको बाहुल्य छ । यहाँ प्रत्येक घरमा दुईदेखि ५०/६० सम्म भैँसीपालन गर्ने गरिन्छ । सोही क्षेत्र भैँसीपालनका लागि पनि पकेट क्षेत्र मानिन्छ । तर कुनै कारणवश भैँसी बिरामी परेमा भैँसीलाई झारफुक गर्ने चलन छ । केही महीनाअघि मात्रै राजपुरमा भैँसीमा भ्यागुते रोग देखियो ।

त्यतिबेला पनि झारफुककै भरपर्दा त्यहाँका करीब ३० भैँसी मरेका थिए । “भैँसीमा भ्यागुते रहेछ, यहाँका नागरिकले रोग देखापरेपछि झारफुक गर्न थाले” स्थानीय बुद्धिजीवी बिन्तुराम यादवले भन्नुभयो, “त्यसैले ३० भन्दा बढी भैँसी मरे ।” यहाँ पशु प्राविधिकसम्बन्धी ज्ञान नहुँदा पशुमा जुनकुनै रोग लाग्दा पनि यसरी नै झारफुक गर्ने गरेको उहाँको भनाइ थियो । तर अब पशु विज्ञान सञ्चालनमा आएपछि भने यो समस्या अन्त्य हुने उहाँको विश्वास थियो ।

पशु बिरामी परे पनि त्यसका लागि कि त गढवाबजार कि लमही बजार जानुपर्ने अवस्था छ, यसले गर्दा पनि समस्या हुने गरेको सोही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुदयराज चौधरीले बताउनुभयो । “नजिकमा पशु प्राविधिक हुँदैनथिए”, उहाँले भन्नुभयो, “त्यसैले यहाँका किसान झारफुकमा भर पर्ने गरेका थिए ।” राजपुरमा उत्पादन भएको दूध दाङको लमही, घोराही, तुलसीपुर, भालुवाङलगायतका बजारमा जाने गरेको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !