७ बैशाख २०८१, शुक्रबार

२२ वर्षसम्म दर्ता हुन नसकेको उज्यालो शिक्षा सदन


Nepalpatra

दुर्गा देवकोटा, लम्की, १६ जेठ । कैलाली जिल्लाको पहाडी भू–भाग मोहन्याल गाउँपालिका–७ कचालीस्थित उज्यालो शिक्षा सदन (विद्यालय) अहिलेसम्म दर्ता हुनसकेको छैन । स्थानीयवासीको पहलमा विसं २०५४ मा स्थापना भएको विद्यालय अहिलेसम्म सरकारी निकायमा दर्तासमेत हुन नसकेको हो ।

चौसठ्ठी घरका बालबालिका अध्ययन गर्ने यो विद्यालय नभएमा यहाँका बालबालिका शिक्षाबाट वञ्चित हुन्छन् । सरकारले सबैलाई शिक्षाको पहुँचमा पु¥याउने लक्ष्य लिएको छ, तर २२ वर्षसम्म सञ्चालन भएको विद्यालय दर्ता नै हुन नसक्नु दुःखद् भएको स्थानीयवासी श्याम माझीले बताउनुभयो ।

कर्णाली नदी किनारमा अवस्थित कचालीगाउँ भौगोलिकरूपमा निकै विकट छ । यहाँका बासिन्दाको आर्थिक अवस्थासमेत निकै कमजोर छ । नदी किनारको बस्ती भए पनि खेतीपाती छैन । यहाँका मान्छे ज्यालामजदुरी गरेर जीविकोपार्जन गर्छन् । केही व्यक्ति रोजगारीका लागि भारत पसेका छन् । ६४ घरधुरी रहेको कचालीगाउँ नजिकै घना जङ्गल छ । त्यही जङ्गलको एक कुनामा काठले बेरेको सानो टहरा छ । घामपानी केही रोक्न नसक्ने टहरामा विद्यालय सञ्चालन भइरहेको छ । टहराभित्रको भित्तामा एकथान ‘ह्वाइट बोर्ड’ छ । विद्यार्थी बस्ने बेञ्चको कल्पना पनि यहाँका विद्यार्थीले गरेका छैनन् । भुइँमा बस्नका लागि बोरा बिछ्याइएको छ ।

पैँतालीस विद्यार्थी यही टहरा र बोरामा बसेर आफ्नो भविष्य खोज्दैछन् । विद्यालय कक्षा ३ सम्म विभाजन गरिएको छ । तर, शिक्षिका एउटै हुनुहुन्छ । स्थानीय तुलसादेवी माझीले दुई वर्षदेखि न्यून पारिश्रमिकमा पढाइरहनुभएको छ । उहाँले पढाएबापत मासिक रु दुई हजार पाउनुहुन्छ । वडा कार्यालयले पारिश्रमिकको व्यवस्था गरिदिएको छ ।

“मेरो उद्देश्य बालबालिकालाई अक्षर चिनाउने पनि हो”, शिक्षिका माझीले भन्नुभयो, “पढ्न लेख्नबाट बच्चा वञ्चित हुनु हुँदैन भन्ने सोचेर विद्यालय सम्हालेकी छु ।” उहाँभन्दा अघि स्थानीयवासी डम्मरबहादुर भुल पढाउनुहुन्थो । उहाँले डेढ वर्ष निःशुल्क पढाउनुभयो । विद्यार्थीको भविष्य बनाउने क्रममा आफ्नै भविष्य अन्धकार हुने देखेपछि उहाँले पढाउन छोड्नुभयो ।

शिक्षिका माझी दुई वर्षको दूधेबालक काखी च्यापेर विद्यालय पुग्नुहुन्छ । उहाँको कमाईले घरखर्चसमेत धान्दैन । तैपनि उहाँ बालबालिकाको भविष्यप्रति चिन्तित हुनुहुन्छ । एक जनाले यतिधेरै बालबालिका सम्हाल्नु निकै कठिन छ । जङ्गल नजिकै भएका कारण वन्यजन्तुको समेत डर छ । उहाँले जेनतेन बालबालिकालाई सम्हाल्नुभएको छ । “मैले कति मेहनत गरेको छु, त्यो मलाई मात्रै थाहा छ”, शिक्षिका माझीले भन्नुभयो, “कुनै दिन मैले गरेको मेहनतले फल पाउने विश्वास छ ।”

तीन कक्षामाथिका गाउँका अन्य ६० बालबालिका मोहन्याल गाउँपालिकाकै कुइने पढ्न जान्छन् । कुइने कचालीबाट करीब तीन किलोमिटर दूरीमा छ । कर्णाली नदी किनारको पहाडी बाटो निकै जोखिमपूर्ण छ । ती बालबालिकालाई कुइनेस्थित अरनिको आधारभूत विद्यालय पुग्न डेढ घण्टा लाग्छ । उनीहरु समेत कक्षा ८ भन्दा माथि पढ्नका लागि कुइनेबाट थप एक घण्टा टाढा बडिगाउँ स्कूल जान्छन् ।

विद्यालय पुग्न निकै कठिन हुने अरनिको आधारभूत विद्यालय कुइनेमा कक्षा ७ मा अध्ययनरत कचालीका १४ वर्षीय नवीन जैशीले बताउनुभयो । उहाँले वर्षाको समयमा कैयौँ दिन लडेर चोटपटकसमेत लाग्ने गरेको सुनाउनुभयो । “विद्यालय जानेआउने क्रममा लडेर कतिका हातखुट्टा भाँचिएका छन्”, उहाँ भन्नुहुन्छ, “गाउँमा विद्यालय छैन, अरु विकल्प पनि छैन ।”

आफ्ना बालबालिकाले भोगेको यही समस्याले थिचेपछि अभिभावक विद्यालय स्थापनाका लागि अग्रसर भएका हुन् । उनीहरु कम्तीमा सानो उमेरका बालबालिकाले मात्रै भए पनि शिक्षाआर्जनका लागि टाढा जान नपरोस् भनेर विद्यालय स्थापना गरेको बताउँछन् । “सानो उमेरका बच्चा त्यति टाढा पढ्न जान सक्दैनन् भनेर विद्यालय स्थापना गरेका हौँ”, विद्यालय व्यवस्थापन समिति अध्यक्ष टीकाराम भुलले भन्नुभयो, “अहिलेसम्म न दर्ता हुनसक्यो न भौतिक पूर्वाधार विकास गर्न सकियो ।”

विद्यालय दर्ताका लागि स्थानीयवासीले निकै प्रयास गरेका हुन् । उनीहरुले पटकपटक जिल्ला शिक्षा कार्यालय कैलालीमा निवेदनसमेत दिए । तर उनीहरुका पक्षमा बोलिदिने कुनै अगुवा भेटिएन । जसका कारण यो विद्यालयको अवस्था जस्ताको तस्तै रह्यो । अध्यक्ष भुलका अनुसार ढिलै भए पनि आगामी शैक्षिकसत्रबाट स्वीकृतिको तयारी भइरहेको छ ।

स्थानीयले स्वीकृति पाएपछि भौतिक संरचना बढाउने बारेमा समेत सोच बनाएका छन् । उनीहरुले विद्यालयको भवन निर्माणका लागि नदी किनारमा ढुङ्गा र बालुवा सङ्कलन गरेर राखेका छन् । “पहिले स्वीकृतिको प्रयासमा छौँ”, अध्यक्ष भुलले भन्नुभयो, “स्वीकृत भइसकेपछि केही भौतिक संरचना निर्माण गर्छौँ ।” शिक्षा सहज र सर्वसुलभरूपमा पाउने नागरिकको अधिकार सुरक्षित हुनुपर्ने उनीहरुको माग छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !