६ बैशाख २०८१, बिहिबार

प्राविधिक शिक्षाले विद्यार्थी तान्यो


education

हेटौँडा, ३ जेठ । सिन्धुलीका १५ वर्षीय सञ्जय लामा प्रत्येक दिनजसो बागमती नदी तरेर मकवानपुरको बागमती गाउँपालिका ज्यामिरेमा रहेको देवकी माध्यमिक विद्यालयमा पढ्न आउनुहुन्छ । कक्षा ९ मा अध्ययनरत सञ्जयले कक्षा ८ सम्म सिन्धुलीकै स्थानीय विद्यालयमा अध्ययन गर्नुभएको हो ।

आजसम्म कम्प्युटर चलाउने अवसरसमेत नपाउनुभएका सञ्जयले माध्यमिक तहदेखि नै कम्प्युटर इञ्जिनीयरिङ पढ्न पाइने सुनेपछि यहाँ भर्ना हुन आएको बताउनुभयो । उहाँ मात्र होइन, मकवानपुरको दुर्गम मानिने बागमती गाउँपालिकाको ज्यामिरेस्थित देवकी माविमा कम्प्युटर इञ्जिनीयरिङ पढ्न रुचि भएका करीब ८० ले आवेदन हालेका छन् । ४८ जनाको कोटामा करीब दोब्बर विद्यार्थीले यो विषय पढ्ने रुचि देखाएका हुन् । भर्नाका लागि विद्यार्थी तथा अभिभावकसमक्ष हारगुहार गर्नुपर्ने दुर्गम गाउँको विद्यालयमा प्राविधिक विषय पढ्न पाउने भएपछि अपेक्षा गरेभन्दा धेरै विद्यार्थी आएका छन् ।

ठूलो सङ्ख्यामा विद्यार्थी भर्ना हुन आएपछि शिक्षक पनि उत्साहित भएका छन् । “हामी उत्साहित र अन्योल दुवै छौँ”, विद्यालयका प्रधानाध्यापक खड्गबहादुर पुलामीले भन्नुभयो, “विद्यार्थी बढी आउनु राम्रो हो र त्यसले हामीलाई उत्साहित बनाएको छ । तर अब व्यवस्थापन कसरी गर्ने भन्ने अन्योलता पनि सँगसँगै छ”, उहाँले थप्नुभयो । प्रवेश परीक्षामार्फत विद्यार्थीको छनोट गरिने बताउँदै उहाँले बाँकी विद्यार्थीलाई अन्य विषय पढ्न अनुरोध गरिने बताउनुभयो ।

बागमती नदी र चौराह खोलाको टापुजस्तै देखिने ज्यामिरे बागमती गाउँपालिकाको केन्द्र झुरझुरेबाट दुई किलोमिटर दक्षिणमा पर्छ । विगतमा पुल नभएका कारण वर्षाको केही महीना खुला संसारबाट अलग हुने ज्यामिरे अहिले चौराहखोलामा झोलुङ्गे पुल बनेपछि भने गाउँपालिकाको केन्द्रसरह नै बन्न पुगेको छ । ललितपुर, काभ्रे, सिन्धुली र मकवानपुरको सङ्गम ज्यामिरेटापुमा ८ कक्षासम्म पढाइ हुने एउटा आधारभूत र १२ कक्षासम्म पढाइ हुने एउटा माध्यमिक गरी दुई विद्यालय छन् । दुईमध्ये देवकी माविले भने यस वर्षदेखि कक्षा ९ देखि कम्प्युटर इञ्जिनीयरिङ विषयको पढाइ प्रारम्भ गरेको हो । कम्प्युटर इञ्जिनीयरिङको पढाइ शुरु गरेपछि यहाँ छिमेकी जिल्ला सिन्धुली तथा मकवानपुरका टाढा– टाढाबाट पनि विद्यार्थी आउन थालेका छन् ।

सिन्धुली ककरेका अनराज घिसिङ कम्प्युटर इञ्जिनीयर बन्ने सपना पूरा गर्न देवकी मावि आएको बताउनुहुन्छ । उहाँका अनुसार आमाबुबाको चाहना पनि उहाँलाई इञ्जिनीयर बनाउने छ, त्यो पूरा गर्न पनि उहाँ यहाँ आउनुभएको हो ।

त्यस्तै सिन्धुलीकै जेमबहादुर घिसिङको पनि प्राविधिक विषय पढेर छिट्टै जागिर खाने धोको छ । कम्प्युटर इञ्जिनीयर भए धेरै राम्रो जागिर पाइन्छ र धेरै पैसा कमाइन्छ भन्ने ठानेर यहाँ पढ्न आएको उहाँको भनाइ छ ।

पूर्वी मकवानपुर राईगाउँका समीर राई रौतहट चन्द्रपुरको एक विद्यालयमा पढ्दै आउनुभएको थियो । “देवकी मावि ज्यामिरेमा कम्प्युटर इञ्जिनीयरिङ पढ्न पाइने भएपछि आमाले यतै बोलाउनुभयो । मलाई पनि कम्प्युटर मन पर्ने, त्यही भएर यहाँ आएँ”, उहाँले भन्नुभयो । वाग्मती झुरझुरेकी दिलकुमारी राई पनि कम्प्युटर अध्ययन गर्न भनेर यो विद्यालयमा भर्ना हुन आएको बताउनुहुन्छ । त्यस्तै वाग्मतीका वीरबलकाजी स्याङ्बाको रुचि पनि कम्प्युटर नै छ । स्थानीय प्रभात पुलामीको ११ कक्षा पुगेपछि कम्प्युटर पढ्ने रहर थियो । तर आफू पढिरहेकै विद्यालयमा ९ कक्षादेखि नै कम्प्युटर इञ्जिनीयरिङको कक्षा शुरु भएपछि उहाँ पनि मख्ख पर्नुभएको छ । रहरको विषय पढ्न टाढा जानु परेन आफ्नै गाउँमा त्यो पनि ९ कक्षादेखि मलाई त धेरै खुशी लागेको छ, उहाँले खुशी बाँड्नुभयो ।

जिल्लाका विभिन्न विद्यालयले माध्यमिक तहदेखि नै विभिन्न विषयका प्राविधिक विषय अध्यापन गराउन थालेपछि सयौँ विद्यार्थीले माध्यमिक तहदेखि नै रुचिको विषय अध्ययन गर्न पाएका छन् । प्राविधिक शिक्षालाई समेत कतिपय विद्यालयले पूर्णरूपमा निःशुल्क बनाएका छन् । जिल्लाका जनता माविमा वाग्मतीमा कृषि प्राविधिक, महेन्द्र मावि बकैयामा इलेक्ट्रिकल इञ्जिनीयरिङ, सिद्धार्थ मावि हेटौँडामा कानून, भुटनदेवी माविमा सिभिल इञ्जिनीयरिङ पढाइ हुँदै आएको छ । देवकी मावि वाग्मती, ज्यामिरेमा भने यो वर्षदेखि कम्यप्युटर इञ्जिनीयरिङको पढाइ शुरु भएको हो । पहिलो वर्ष भएकाले परिणामको विषयमा अनुमान मात्रै लगाउन मिल्ने बताउँदै राम्रो हुनेमा आशावादी भएको बताउनुहुन्छ विद्यालयका शिक्षक रञ्जन रखाल ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !