८ बैशाख २०८१, शनिबार

जङ्गलबाट दाउरा जुटाएर परीक्षाको तयारी !


५ चैत, जाजरकोट । करीब २० जना परीक्षार्थी बस्नका लागि चार वटा कोठा छ, त्यो पनि भाडामा । उनीहरु जङ्गलबाट आफैँले खोजेर ल्याएको दाउरामा भात पकाएर खान्छन् । होटलमा खान–बस्न सक्ने उनीहरुको आर्थिक हैसियत नभएकाले स्थानीयवासीको घरमा सामूहिक रुपमा मिलेर बस्छन् । पिउनेपानी र शौचालयको पनि राम्रो प्रबन्ध छैन ।

आसन्न माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को तयारीका लागि उनीहरु अहिले दुःख, कष्ट सहेर तल्लुस्थित परीक्षा केन्द्र तोकिएको वीरेन्द्र ऐश्वर्य माविमा ‘ट्युसन’ पढ्नका लागि जाने गरेका छन् । नलगाड नगरपालिका–९ की परीक्षार्थी शारदा सिंहले भन्नुभयो, “घरमा आर्थिक अवस्था कमजोर भएका कारण दाउरा बोकेर केन्द्र भएको ठाउँमा पुगेर खाना बनाएर खाने र तयारी कक्षा पढ्न जाने गरेका छौँ । परीक्षा अवधिमा पनि हामी यसरी नै गुजारा टार्छौं ।”

“विद्यालयमा पाठ्यक्रम पूरा नभएका कारण विद्यालयदेखि बाहिर गएर ट्युसनसँगै दाउरा बोक्नु हाम्रो बाध्यता हो,” घरङ्गाका छात्र सुदीप विकले भन्नुभयो, “घरमा पैसा भएको भए सबै साथीहरु होटलमा बसेर खाना खान्छन्, हामी पनि त्यस्तै गथ्र्यौं तर हामीसँग पैसा छैन । घरबाट ल्याएको मकैको पीठोको रोटी पकाएर खाँदै परीक्षाको तयारी गरेका छौँ ।”

दल्लीस्थित परीक्षा केन्द्रमा पनि १०÷१२ जनाभन्दा बढी विद्यार्थी पीठो र दाउरा बोकेर परीक्षा दिने तयारीमा छन् । विद्यालय जाँदा पनि नभ्याएको बेला आफूहरु भोकै पढ्ने जाने गरेको खलङ्गास्थित त्रिभुवन माविमा परीक्षा दिन आएका विद्यार्थी नरेन्द्र पुनले बताउनुभयो । उहाँले भन्नुभयो, “घरमा आमा÷बाबाले पकाएको खाएर परीक्षा दिनु कसलाई पो रहर हुँदैन र तर घरदेखि निकै टाढा परीक्षा केन्द्र भएपछि घरबाट खाद्यान्न र दाउरा बोकेर जानु परेको छ ।”

जिल्लाका दुर्गम ठाउँमा रहेका परीक्षा केन्द्र नजीक तयारी कक्षा र परीक्षाका लागि पुग्न हैरानी हुने गरेको छ । यही चैत १० गतेदेखि एसइई परीक्षा हुँदैछ । जाजरकोटमा कूल १९ वटा परीक्षा केन्द्र तोकिएको छ ।

दल्ली, खलङ्गाबाहेक अन्य दुर्गममा परीक्षा केन्द्र रहेका छन् । आधा दर्जन परीक्षा केन्द्रमा टेलिफोन सम्पर्क गर्न नै मुस्किल हुन्छ । दुर्गममा रहेका परीक्षा केन्द्रमा होटलहरु पनि नहुँदा विद्यार्थीहरु आफैँ खाना बनाएर पढ्न र परीक्षा दिन बाध्य हुनु परेको गुनसो अभिभावकको छ । घर नजीकको परीक्षा केन्द्रमा परीक्षा दिन नपाउँदा विद्यार्थीहरु समस्या परेको हो । जाजरकोटबाट नियमित चार हजार, खुल्ला १८, प्राविधिक धार ५२ र आंशिक ३०९ जना विद्यार्थी परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख सुधीनराज बुढाथोकीले बताउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !