७ बैशाख २०८१, शुक्रबार

हालसम्म चार हजार विद्यालय पुनःनिर्माण


School

२८ फागुन, काठमाडौँ । विनाशकारी भूकम्पमा क्षतिग्रस्त भएकामध्ये हालसम्म चार हजार १९० विद्यालय पुनःनिर्माण भएका छन् । पुनःनिर्माण भएकामध्ये विद्यालय व्यवस्थापन समितिमार्फत तीन हजार ३६८, निर्माण व्यवसायीमार्फत ६४ र गैरसरकारी क्षेत्रमार्फत ७५८ विद्यालय निर्माण भएका हुन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण परियोजना कार्यान्वयन एकाइ (शिक्षा)का वरिष्ठ इञ्जिनीयर उद्धव नेपालले विद्यालय व्यवस्थापन समितिमार्फत एक हजार ४३७, निर्माण व्यवसायीमार्फत ३१४ र गैरसरकारी क्षेत्रबाट २९२ विद्यालय गरी कूल दुई हजार ४३ विद्यालय निर्माणाधीन अवस्थामा रहेको जानकारी दिनुभयो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण परियोजना कार्यान्वयन एकाइ (शिक्षा) र शिक्षा पत्रकार समूहको आयोजनामा काभ्रेको धुलिखेलमा आयोजित छलफल कार्यक्रममा नेपालले काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, ओखलढुङ्गा, काठमाडौँ र भक्तपुरमा एशियाली विकास बैंक (एडिबी), अमेरिकी सहयोग संस्था युएसएड र नेपाल सरकारको रु. ९.६ अर्ब बजेटमा १५४ विद्यालय निर्माण गर्ने लक्ष्य रहेकामा ४१ विद्यालय निर्माण सम्पन्न भएका र ११३ विद्यालय अझै निर्माण हुन बाँकी रहेको जानकारी दिनुभयो ।

जापान सरकार र नेपाल सरकारको (१२ प्रतिशत)को बजेटमा दोलखा, रामेछाप, गोरखा, धादिङ, ललितपुर, नुवाकोट, रसुवा र मकवानपुरमा सबै विद्यालयको ६६ प्रतिशत काम सम्पन्न भएको छ ।

परियोजना कार्यान्वयन एकाइ काभ्रे कार्यालयका वरिष्ठ अधिकारी निर्मल घिमेरेले आपत्कालीन विद्यालय पुनःनिर्माण आयोजनाअन्तर्गत ललितपुर, गोरखा, धादिङ, रसुवा, नुवाकोट र मकवानपुरका २३६ विद्यालय नेपाल सरकार र जापानी सहयोग संस्था जाइकाको ऋण सहयोग गरी रु १४ अर्बमा र नेपाल सरकारको बजेट स्रोतमा सञ्चालन गर्दै आएकामा हालसम्म ४१ प्रतिशत विद्यालय निर्माण भएको जानकारी दिनुभयो ।

घिमिरेले काभ्रे जिल्लाकोे कूल विद्यालय सङ्ख्या ६९० रहेको, त्यसमध्ये सामुदायिक विद्यालय ५८७ र संस्थागत विद्यालय १०३ रहेको जानकारी दिँदै विनाशकारी भूकम्पले अधिकांश सामुदायिक विद्यालयका भवन पूर्ण क्षति भएको बताउनुभयो । काभ्रे जिल्लामा कक्षाकोठा सङ्ख्या पाँच हजार २१० रहेकामा पूर्णक्षति कक्षाकोठा सङ्ख्या ९५४, अधिकक्षति कक्षाकोठा सङ्ख्या ९१४, सामान्य क्षति कक्षाकोठा सङ्ख्या एक हजार ४८३ र क्षति नभएको कक्षाकोठा एक हजार ८५९ भएको जनाउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !