१३ बैशाख २०८१, बिहिबार

ऋणमा डुबेको दुर्गमको विद्यालय : नन्दामाता मावि


School

२८ मङ्सिर, अछाम । राज्यले आधारभूत तहको शिक्षा अनिवार्य र निःशुल्क भनेको छ । तर जिल्लाकै विकट क्षेत्र ऋषिदहमा रहेको नन्दामाता माध्यमिक विद्यालय रु १५ लाख ऋणमा डुबेर सञ्चालन भइरहेको छ । जिल्लाकै विकट मेल्लेख गाउँपालिका–२ डाँडासिरीमा रहेको विद्यालयमा शिक्षक दरबन्दीको अभावका साथै भौतिकरूपमा पनि दयनीय अवस्थामा रहेको पाइएको छ ।

विसं २०४९ मा स्थापना भई २०७१ बाट माध्यामिक तहसम्म पढाइ भइरहेको उक्त माविमा अहिले सातजना शिक्षक निजी स्रोतबाट पढाइरहेका छन् भने दुईजना अस्थायी करार र एक जना राहत कोटामा छन् । पाँच २५ विद्यार्थी रहेको विद्यालयमा शिक्षकलाई तलब दिन निकै समस्या रहेको विद्यालयका प्रधानाध्यापक सर्जन धामीले बताउनुभयो ।

विद्यालय आर्थिक, भौतिक र दरबन्दीका हिसाबले खराब हालतमा रहेको उहाँको भनाइ छ । धामी भन्नुहुन्छ, “राज्यका विभिन्न निकायमा हाम्रो पहँुंच नहुनु, भौगोलिकरूपमा ठगिनु र सरोकारवालाको ध्यानाकर्षण समेत नहुनुले सयौं विद्यार्थीको भविष्य अन्धकार हुने खतरा छ ।”

विद्यालयमा डेस्कबेञ्च पनि स्थानीय अभिभावकले निःशुल्क बनाइदिएका छन । पुस्तकालय र विज्ञान प्रयोगशाला तथा उपयुक्त कक्षा कोठाको पनि निकै अभाव रहेको छ । कहिलेकाहीँ निजी स्रोतका शिक्षकको तलबका लागि भारतमा रहेका स्थानीयवासीले चन्दा सहयोग गर्ने गरेका छन् भने विद्यालयमा कुनै योजना आउँदा स्थानीयवासीले श्रमदान गर्छन् र बचेको रकमले शिक्षकको तलब खुवाउने गरिएको छ ।

स्थानीयस्तरमा रहेका सामुदायिक वनबाट समेत सहयोग लिने गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष अर्जुन धामीले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँमा विद्यालयको आवश्यकता छ तर यसकै कारण जनता निकै बोझमा छन, अहिले पनि शिक्षकले पाउनुपर्ने तलब वापतको रु १५ लाख ऋण तिर्न बाँकी छ ।” यही अवस्थामा विद्यालय सञ्चालन गर्न निकै समस्या रहेको अध्यक्ष धामीले बताउनुभयो ।

शिक्षक, स्थानीयवासी र अभिभावकको लगाव र विद्यालयप्रतिको समर्पण तथा विद्यार्थी सङ्ख्याकै कारण अभावकैबीच विद्यालय सञ्चालन गर्नुपरिरहेको स्थानीय अगुवा कुशलराज बुढाले बताउनुभयो । विद्यालयका लागि स्थानीयवासीले सबै काम निःशुल्क गर्ने गरेका उहाँको भनाइ छ ।

नन्दामाताका शिक्षकले पनि वर्षौंदेखिको तलब नपाउँदा विस्थापित हुनुपर्ने अवस्था छ । एकजना शिक्षक तलब नपाएपछि रोजगारीका लागि भारतको शिमला गएका छन् भने अर्का शिक्षक आफूले पाउने रु ८५ हजार तलब नलिएरै अन्यत्र गइसकेको विद्यालयले जनाएको छ । विद्यालयको अवस्थालाई हेरेर शिक्षकले पनि सहयोग गरिरहेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।

विद्यालयको समस्या समाधानका लागि गाउँपालिकाको पनि ध्यानाकर्षण भएको पालिका अध्यक्ष लोकबहादुुर बोहराले बताउनुभयो । नन्दामाता माविलगायत अन्य विद्यालयका लागि पनि गाउँपालिकाले शिक्षक दरबन्दी उपलब्ध गराउने र भौतिक संरचना निर्माणका लागि पहलकदमी भइरहेको अध्यक्ष बोहराले बताउनुभयो ।

“गाउँपालिकाले शिक्षा नीति बनाएर समग्र शैक्षिक अवस्था सुधारको विशेष योजना बनाएको छ”, अध्यक्ष बाहरोले भन्नुभयो, “विद्यार्थी कोटा पुगेका विद्यालयमा शिक्षक दरबन्दीको सम्पूर्ण व्यवस्था हुन्छ, म गाउँपालिका अध्यक्ष हुँदासम्म यहाँको शैक्षिक व्यवस्थापन सम्पूर्ण तरिकाले गरिन्छ ।”

गाउँपालिकाले ४० जना विद्यार्थी बराबर एक शिक्षकको अवधारणा ल्याएको जनाइएको छ । यस अनुरूप नन्दामाता माविका लागि पाँचवटा दरबन्दी उपलब्ध गराइने गाउँपालिका अध्यक्ष बोहराले बताउनुभयो ।

अन्य विद्यालयमा पनि विद्यार्थीको अनुपात हेरेर शिक्षक दरबन्दीका लागि गाउँपालिकाले पर्याप्त बजेटको व्यवस्था गरेको छ । यस्तै गाउँपालिकामा अब बन्ने विद्यालयका भवन कर्कटपाता रहित र पक्की बनाइने गाउँपालिकाले जनाएको छ । शैक्षिक गुणस्तर अभिवृद्धिका लागि गाउँपालिका प्रतिबद्ध भएर लागिपरेको पालिका अध्यक्ष बोहराले बताउनुभयो । अभिभावक र शिक्षकले पनि आफ्नो कर्तव्य पूरा गर्नुपर्ने भन्दै शिक्षाको विकासका लागि गाउँपालिकाले खेल्नुपर्ने भूमिकामा कुनै कसर बाँकी नरहने अध्यक्ष बोहराले बताउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !