८ बैशाख २०८१, शनिबार

दलित बालबालिका दलान शिक्षातर्फ आकर्षित


विद्यालय

१० मङ्सिर, वीरगञ्ज । धान खेतमा गएर मुसा मार्ने, खोलानालामा माछा तथा घोंघी मार्ने र बाख्रा चराएर दिन बिताउने मुसहर बालबालिका अहिले ‘दलान (पाहुना घर) शिक्षा’तर्फ आकर्षित भएका छन् ।

मुसहर बालबालिकालाई शिक्षामा पहुँच बढाउन जयश्री सबरी माता मुसहर एकता समाजले सहयोग जुटाएपछि अहिले उक्त शिक्षामा ५० मुसहर समुदायका बालबालिका कखरा सिक्दै आफ्नो उज्जवल भविष्य कोर्दै आइरहेको समाजका सदस्य गुलाबचन्द सदाले बताउनुभयो ।

प्रदेश नं २ को सरकारले ‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रम ल्याएपछि दिनभरि बराल्लिने मुसहर बालबालिका पढ्न थालेकाले अभिभावक पनि तिनको उज्ज्वल भविष्यप्रति जिम्मेवार हुन थालेको अभिभावक कुमकुम सदाले जानकारी दिनुभयो ।

सिहरा जिल्लाको कल्याणपुर नगरपालिका वडा नं १२ तिलासी गाउँमा सङ्घीय सरकारले बनाइदिएको दुईकोठे दलान अहिले कुनै सरकारी विद्यालयभन्दा कम देखिँदैन । मुसहर बस्तीको बीचमा रहेको सो दलानमा मुसहर समुदायकै दुई शिक्षकले प्रत्येक दिन बिहान बेलुका अतिरिक्त कक्षा लिँदै आइरहेका छन् । सो संस्थाले सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाहीलगायत तराईका जिल्लामा शिक्षाबाट बञ्चित मुसहर बालबालिकालाई शिक्षामा पहुँच बढाउन दलान शिक्षालाई अगाडि बढाएको सल्लाहकार सोनामतीदेवी सदाले बताउनुभयो ।

तराईका विभिन्न जिल्लाबाट काम गर्न खाडीमुलुक गएका दलित समुदायका युवाले खोलेको सो संस्थाले केही रकम जम्मा गरी दलित समुदायका बालबालिकालाई शिक्षामा पहँुचका साथै असहाय र अपाङ्गता भएका बालबालिकालाई कलम, कापी उपलब्ध गराउँदै आएको संस्थाका अध्यक्ष राकेश माँझीले बताउनुभयो । दलान शिक्षामा पढने दलित विद्यार्थीसँग प्रतिविद्यार्थी रु १०० शुल्क लिने र सो रकममध्ये केही रकम पारिश्रमिक स्वरूप शिक्षकलाई दिने गरेको स्थानीय गनोरी सदाले बताउनुभयो । करीब ४० घर मुसहर रहुको सो बस्तीमा दलान शिक्षा सञ्चालन भएपछि यसप्रति दलित बालबालिकाको आकर्षण बढ्न थालेकाले अन्य गाउँका दलितले पनि यसलाई निरन्तरता दिन थालेका छन् । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !