८ बैशाख २०८१, शनिबार

देउसीभैलोबाटै जुटाए विद्यार्थीले शिक्षकको तलब


Nepalpatra

२७ कात्तिक, गलेश्वर । देउसीभैलोबाट सङ्कलित रकम वनभोजसहित रमाइला कार्यमा खर्च गरिँदै आएको बेला यहाँको एक विद्यालयका विद्यार्थीले भने सो रकम निजी स्रोतका शिक्षकको तलबका लागि जुटाएका छन् ।

रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेस्थित रितुङ माविका विद्यार्थीले देउसीभैलो खेलेर रु ६ लाख ५० जुटाएका छन् । सो रकम विद्यार्थीले विद्यालयलाई हस्तान्तरण गरेका छन् । आधारभूतदेखि माविस्तरसम्मका शिक्षकको तलब जुटाउन हम्मेहम्मे परेपछि विद्यार्थीले स्थानीयवासीको घरदैलोमै पुगेर देउसीभैलोमार्फत उक्त रकम जुटाएका शिक्षक यामप्रसाद विश्वकर्माले बताउनुभयो ।

“मावि तहमा दरबन्दी नहुँदा शिक्षकलाई समुदायले तलब खुवाउनुपर्छ,” उहाँले भन्नुभयो, “निजी स्रोतका शिक्षकको तलबभत्तामा वार्षिक रु १० लाख खर्च हुन्छ ।” विद्यालयको आर्थिक अवस्था निकै कमजोर छ । लामो समयदेखि शिक्षकलाई तलब खुवाउन नसकिरहेको अवस्थामा विद्यार्थीले देउसीभैलो खेलेर रकम जुटाएपछि सजिलो भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गमान छन्त्यालले बताउनुभयो । मावि तहमा गणित, विज्ञान र अङ्ग्रेजी विषयका शिक्षक नीजि स्रोतका छन् । आधारभूत तहमा समेत समस्या छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !