१३ बैशाख २०८१, बिहिबार

सामुदायिक विद्यालयलाई सहयोग


विद्यालय

२४ कात्तिक, लेखनाथ । स् कास्कीको पोखरा महानगरपालिका–३१ बेगनासस्थित आनन्दज्योति माविमा विद्यार्थीसँगै स्थानीयवासीको बाक्लो उपस्थिति थियो ।

दमेराहरुले पञ्चेबाजा घन्काएका थिए । त्यही माहोलमा केहीबेरमा विदेशीको एक हुल विद्यालय परिसर पुगे । स्थानीय सांसद, जनप्रतिनिधि, स्थानीय सामाजिक कार्यकर्ता र भद्र भलाद्मीसहित गाउँले र विद्यार्थी उनीहरुलाई स्वागत गर्न तम्तयार देखिन्थे । यसैबीचमा उनीहरुले विदेशी टोलीमा आएका करीब ३० जना पाहुनालाई एक एक गरी फूलमाला र अबिर लगाइदिएर पञ्चेबाजा अगाडि लगाउँदै विद्यालय प्राङ्गणमा भित्र्याए ।

सहृदयता, मित्रता र अनेकतामा एकता प्रवद्र्धनका लागि प्रेयर ब्रेकफास्टमा भाग लिन उक्त टोली नेपाल आएको थियो । उक्त टोलीमा अमेरिका, बेलायत, कोसोभो, लेबनानलगायतका देशमा सामाजिक, व्यापारिक, शैक्षिक तथा धार्मिक क्षेत्रमा क्रियाशील व्यक्तिहरु थिए ।

यसैबीच विद्यालयले औपचारिक समारोहको आयोजना गरी उनीहरुलाई स्वागत तथा अभिनन्दनसमेत गरेका थिए । यसैक्रममा उक्त क्षेत्रका स्थानीयवासीसमेत रहनुभएका प्रतिनिधिसभाका सांसद खगराज अधिकारीले विकासका कामले गति लिएको अहिलेको अवस्थामा सबैको साथ, सहयोग र सहकार्य आवश्यक छ भन्नुभएको थियो । सांसद अधिकारीले एकता र सहृदयताले नै धेरै कुराको पाठ सिकाउने बताउँदै शैक्षिक विकासमार्फत समृद्धि ल्याउनका लागि सरकार प्रयत्नशील रहेको बताउनुभयो ।

अमेरिकन एक्सप्रेस बैंकका पूर्व कार्यकारी अधिकृत बेन स्मिथले विद्यालयको शैक्षिक गुणस्तर सहयोगार्थ रु दुई लाख ८७ हजार सहयोग गर्नुभएको थियो ।

प्रेयर ब्रेकफास्ट कार्यक्रमका संयोजक तथा युवा व्यवसायी पदमराज पौडेल, विद्यालयका प्रअ शुक्रराज अधिकारी, शिक्षक तारानाथ पौडेललगायतले विद्यालयको शैक्षिक विकासका लागि विदेशी दाताले गरेको सहयोगले शिक्षाको गुणस्तर उकास्न सकिने विचार राख्दै आगामी दिनमा पनि यस प्रकारको सहयोग रहिरहने विश्वास व्यक्त गर्नुभएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !