१३ बैशाख २०८१, बिहिबार

दुर्गम विद्यालयका सहारा बन्दै ‘टिच फर नेपाल’


education

१४ कात्तिक, काठमाडौँ । शैक्षिक अवस्था सुधारको अभियानमा जुटेका ‘टिच फर नेपाल’ दुर्गमका सामुदायिक विद्यालयको सहारा बन्दै आएको छ ।

शैक्षिक सुधारका लागि सिकाइ पद्धतिमा नै परिवर्तन ल्याउनुपर्ने आवश्यकता महसुस गरी शुरु भएको ‘टिच फर नेपाल’ अभियान अहिले सिन्धुपाल्चोक, धनुषा र ललितपुरका सामुदायिक विद्यालयमा लागू भएको छ । यो अभियान लागू भएका विद्यालयमा मुख्य विषयको नतिजामा सुधार आएको देखिएको छ ।

अभियानअन्तर्गत संस्थाले सिन्धुपाल्चोक, धनुषा र ललितपुरका विभिन्न दुर्गम स्थानका विद्यालयमा कमजोर नजिता आउने गणित, विज्ञान र अङ्ग्रेजी विषय निःशुल्क रुपमा पढाउँदै आएको छ ।

शिक्षाको अवस्था सन्तोषजनक नभएका विभिन्न ग्रामीण भेगका सामुदायिक विद्यालयमा कम्तीमा पनि स्नातक तह उत्तीर्ण युवालाई स्वयंसेवकका रुपमा पठाउने र त्यसले पारेको प्रभावको अनुगमन गर्ने गरेको संस्थाले जनाएको छ ।

हालसम्म ८६ जना स्वयंसेवक शिक्षकमार्फत संस्थाले तीन जिल्लाका सात हजार विद्यार्थीलाई अध्यापन गराइरहेको छ । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–११ स्थित इन्द्रश्वरी उच्च माविका प्राचार्य राधाकृष्ण श्रेष्ठले संस्थाले शिक्षणमा प्रयोग गरिएको नयाँ विधि र विद्यालय समयअघि र पछि लिइने अतिरिक्त कक्षाको प्रभावले विद्यालयको नतिजा सुधार हुँदै आएको बताउनुभयो ।

“शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न सङ्घ संस्थासँगको सहकार्य र समन्वयमा विद्यालयले कक्षाकोठाका अतिरिक्त अन्य परियोजना सञ्चालन गरिरहेको छ, यस कार्यले कक्षाकोठामा मात्र नभई समुदाय र अभिभावकमा समेत सकारात्मक सन्देश प्रवाह भएको छ”, उहाँले भन्नुभयो ।

प्राचार्य श्रेष्ठले भन्नुभयो, “ शिक्षणमा प्रयोग गरिएको नयाँ विधिले कक्षामा निकै कम सक्रिय, पढाइमा कमजोर, बोल्न लजाउने विद्यार्थीका लागि अत्यन्त उपयोगी भएको पाइएको छ ।”

ललितपुरका स्रोत व्यक्ति ढकबहादुर कार्कीले स्वयंसेवक शिक्षकको पढाइमा पास र फेलभन्दा पनि विद्यार्थीलाई कस्तो महसुस भइरहेको छ, त्यो बुझ्न खोज्नुहुन्छ भन्दै यसले विद्यार्थी र शिक्षकबीच वास्तविक अर्थपूर्ण सम्बन्ध कायम हुन्छ र विद्यार्थीलाई बुझ्न सजिलो हुने बताउनुभयो ।

“अहिले प्रशिक्षार्थीले माध्यमिक तहमा राम्रो काम गरिरहनुभएको छ, यदि प्राथमिक तहमा पनि यसैगरी पढाउन लगाउने हो भने शैक्षिकस्तर अझै माथि उकासिन्थ्यो”, उहाँले भन्नुभयो ।

शिक्षा मन्त्रालय, शिक्षा विभाग तथा सम्बन्धित जिल्ला शिक्षा कार्यालयसँगको समन्वयमा ‘टिच फर नेपाल’ अभियान २०७० साल वैशाखदेखि सञ्चालनमा छ । यस अभियानले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट कम्तीमा स्नातक सकेका तथा सामाजिक परिवर्तनमा सामेल हुन प्रतिबद्ध अब्बल युवालाई छनोट गरी छ हप्ताको तयारी तालीमपश्चात् स्वयंसेवी शिक्षकका रूपमा उपलब्ध गराउँदै आएको छ । यी युवाले अङ्ग्रेजी, गणित र विज्ञान विषयमा अध्यापन गर्दै आएका छन् ।

टिच फर नेपाल शैक्षिकरुपमा अब्बल नेतृत्वदायी भूमिकामा काम गरिरहेका र सामाजिक परिवर्तनप्रति दृढ इच्छाशक्ति भएको युवाको अभियान हो । यस अभियानअन्तर्गत उनीहरु दुई वर्ष कक्षाकोठामा प्रत्यक्षरुपमा काम गरेर दीर्घकालीन रुपमा संरचनागत परिवर्तन हुने विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिकामा हुनेछन् ।

टिच फर नेपालका प्रशिक्षार्थीले कक्षाकोठामा पढाउनुका अलावा प्रशस्त अतिरिक्त क्रियाकलाप गराउने गर्दछ । पछिल्लो चार वर्षको अनुभव उत्कृष्ट र प्रतिबद्ध युवाको जमातले दुई वर्षको अवधिमा पनि विद्यालय र समुदायमा आशा लाग्दा परिवर्तन गर्न सकिन्छ भन्ने देखिएको टिच फर नेपालका कार्यकारी अधिकृत शिशिर खनालले बताउनुभयो ।

बैंकर अनिलकेशरी शाह, नेपाली काङ्ग्रेसका युवा नेता गगन थापा, डा केदारभक्त माथेमा, सञ्चारकर्मी किरण नेपाल, डा मनप्रसाद वाग्ले, रामेश्वर खनाल, व्यवसायी शेखर गोल्छालगायतले यो अभियानको शुरुआत २०७० सालमा गर्नुभएको थियो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !