६ बैशाख २०८१, बिहिबार

शिक्षामा २५ वर्षे योजना


Nepalpatra

२३ असोज, काठमाडौँ । राष्ट्रिय योजना आयोगले शिक्षाको २५ वर्षे योजना निर्माणका लागि सरोकारवालासँग छलफल थालेको छ ।

आयोगले आज सञ्चार मन्त्रालयमा आयोजना गरेको ‘शिक्षा क्षेत्रको दिर्घकालीन सोच’ विषयको अन्तक्र्रिया कार्यक्रममा शिक्षाविद्, विभिन्न विश्वविद्यालयमा कार्यरत प्राध्यापक, सरकारी अधिकारीलगायसँग छलफल गरेको हो ।

आयोगका उपाध्यक्ष उषा झाले शिक्षाको दिर्घकालीन योजना बनाउन सरोकारवाला सबै मिलेर लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “शिक्षामा रहेका समस्या हटाउँदै अबको बाटो तय गर्नुपर्छ ।”

शिक्षाविद् मनप्रसाद वाग्लेले विश्वले गरेको प्रविधिका उपलब्धिको प्रयोग शिक्षामा हुनुपर्ने बताउनुभयो । विद्यार्थीलाई इँटाको विश्वविद्यालयभन्दा पनि इन्टरनेटमार्फत पढाउनुपर्नेमा उहाँको जोड छ । उहाँले भन्नुभयो, “प्रविधिको प्रयोग गरेर जहाँ बस्यो त्यहीँ सिक्ने अहिलेको समयको माग हो ।”

काठमाडौँ विश्वविद्यालयमा कार्यरत प्रा. डा. प्रकाशचन्द्र भट्टराईले व्यावसायिक शिक्षाले युवाको विदेश पलायन कम गर्नसक्ने बताउनुभयो । त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागमा कार्यरत प्रा. डा. प्रमोद भट्टले माध्यमिक तहमा सिकाइ उपलब्धि कमजोर भएको औँल्याउनुभयो ।

काठमाडौँ विश्वविद्यालयमा कार्यरत प्रा. डा. सुरेश गौतमले शिक्षामा सरकारको लगानी कम हुँदै जानु दुभाग्यपूर्ण भएको भन्दै त्यसलाई बढाउनुपर्नेमा जोड दिनुभयो । शिक्षाविद् प्रा. डा. किशोर श्रेष्ठले देशभरमा रहेका बालविकास केन्द्रमा कार्यरतलाई एकीकृत तालीमको खाँचो रहेको औँल्याउनुभयो ।

आयोगका कार्यक्रम निर्देशक तीर्थराज राईले प्रमुख राजनीतिक दलले राजनीतिक घोषणापत्रमा शिक्षा सुधारको योजना समेटेको बताउनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !