७ बैशाख २०८१, शुक्रबार

सत्यमोहन जोशीलाई मध्यपश्चिम विश्वविद्यालयले मानार्थ महाविद्यावारिधिको सम्मान गर्ने


सत्यमोहन जोशी

कर्णाली । शताब्दीपुरुष सत्यमोहन जोशीलाई मध्यपश्चिम विश्वविद्यालयले मानार्थ महाविद्यावारिधि उपाधिबाट सम्मान गर्ने भएको छ ।

विश्वविद्यालयको प्राज्ञिक परिषद्को बैठकले कर्णालीको भाषा, लोक संस्कृति, कला साहित्य र इतिहासको क्षेत्रमा पुर्याएको विशिष्ट योगदानस्वरुप मानार्थ महाविद्यावारिधिको सम्मान गर्ने निर्णय गरेको हो ।

काठमाडौँमा दीक्षान्त समारोह आयोजना गरी जोशीलाई मानार्थ महाविद्यावारिधि उपाधि प्रदान गर्ने विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहले वरिष्ठ संस्कृतिविद् जोशीलाई मानार्थ महाविद्यावारिधि उपाधिबाट सम्मान गर्ने औपचारिकपत्र हस्तान्तरण गरिसकेको जानकारी दिए ।

उपकुलपति सिंहका अनुसार जोशीको नेतृत्वमा कर्णालीको लोक संस्कृति, लोकवार्ता र इतिहासको अध्ययन, अनुसन्धानमा सहयोग पुर्याउने अन्य चार जनालाई पनि विश्वविद्यालयले सम्मान गर्ने छ । बिहारीकृष्ण श्रेष्ठ, स्वर्गीय प्रदीप रिमाल, स्थिरजङ्गबहादुर सिंह र चुडामणि बन्धुलाई कदरपत्र प्रदान गरिनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !