८ बैशाख २०८१, शनिबार

शैक्षिक क्षेत्रमा नमुना बन्यो पाल्पाको ‘रामतुलसी मावि’


‘रामतुलसी मावि

रामपुर । रामतुलसी माध्यमिक विद्यालय शैक्षिक तथा भौतिक विकासमा अब्बल विद्यालय बनेको छ । पाल्पा जिल्लामै सामुदायिक विद्यालयअन्तर्गत रामपुर नगरपालिका–५ स्थित बेझाड बजारमा रहेको यस विद्यालयले अहिले प्रविधिमैत्री शिक्षामा जोड दिन थालेकाले आकर्षण बढेको हो ।

अहिले संस्थागत विद्यालय छाडेर यहाँ बालबालिका भर्ना गर्नेक्रम बढेको छ । प्रर्याप्त खेलमैदान, गुणस्तरीय शिक्षा, सौहार्द्र बालमैत्री वातावरण, प्रयोगशाला र पुस्तकालयको व्यवस्थालगायतले संस्थागत विद्यालयमै बालबालिका पढाउनुपर्छ भन्ने अभिभावक पनि अहिले सामुदायिक विद्यालयतर्फ आकर्षित हँुदै गएका छन् ।

संस्थागत विद्यालयमा पाइने सेवासुविधा सरकारी विद्यालयले उपलब्ध गराउन थालेकाले अहिले सोही विद्यालयमा छोरालाई भर्ना गरिदिएको अभिभावक महेन्द्रकुमार श्रेष्ठ बताउनुहुन्छ ।“सरकारी विद्यालयमा हाम्रा बालबच्चालाई चाहिने सबै सुविधा भएपछि संस्थागतमै भर्ना गराउनुपर्छ भन्ने छैन, समयानुकूलको प्रविधिसहितको शिक्षा घरदैलोमा रहेको सामुदायिक विद्यालयमै पाइने भएपछि अन्यत्र बोर्डिङ स्कुलतिर बालबालिका लिएर जानु परेन”, उहाँले भन्नुभयो ।

अभिभावक बालबालिकाको भविष्य उज्वल बनाउन शिक्षामा ठूलो लगानी गर्न पछि पर्दैनन् तर घरदैलोमै सामुदायिक विद्यालयले शहर बजारमा खुलेका संस्थागत विद्यालयले दिने प्रविधिसहितको शिक्षा दिन थालेकाले शहर बजारमा बालबालिका पढाउन पठाउनुपर्र्ने समस्या कम हुँदैे अर्का अभिभावक लीला भट्टराई बताउनुुहन्छ । यसै शैक्षिकसत्रदेखि सञ्चालन गरिएको प्रविधिमैत्री पूर्वबालविकास अर्थात् मन्टेश्वरी कक्षाले अभिभावकको आकर्षण बढाएको छ ।

उक्त कक्षा पाल्पा जिल्लामै नमूनाको रूपमा सञ्चालन भएकाले अवलोकनका निम्ति विभिन्न ठाउँबाट अभिभावक आउने गरेका छन् । यसमा खेल समूह (प्ले ग्रुप), नर्सरी र केजी (एलकेजी र युकेजी) गरी तीन कक्षा सञ्चालन हुनाका साथै एलकेजी र युकेजीका विषयवस्तु केजीमा समावेश गरेर पठनपाठन सुरु गरिएको प्रधानाध्यापक बालकृष्ण लम्साल बताउनुहुन्छ ।

“सामुदायिक विद्यालयमा अझै पनि सभ्य तथा आर्थिकरुपमा अब्बल केही अभिभावकले आफ्ना छोराछोरी पढाउन चाहना नगर्ने र केहीले भरसक कक्षा ५ सम्म संस्थागत विद्यालयमा नै पढाउने प्रवृत्ति हट्न सकेको छैन”, उहाँ भन्नुहुन्छ, “कक्षा छ मा पुगेपछि मात्र नभई नर्सरीदेखि नै सामुदायिक विद्यालयमा पढाउनुपर्छ भन्ने धारणा अभिभावकमा ल्याउन सुविधा सम्पन्न प्रविधिमैत्री कक्षाको सुरुआत गरेका हौँ”, उहाँ जोड दिनुहुन्छ ।

अहिले पूर्वबालविकास कक्षाका विद्यार्थीलाई जुन प्रविधिबाट पठनपाठन सुरुआत गरिएको र सोहीअनुसार कक्षा १० सम्म पढाउने योजना बनाइएको उहाँको भनाइ छ । हाल यहाँ नेपाली र अङ्ग्रेजी माध्यममा कक्षा १० सम्म पठनपाठन भइरहेकामा अबदेखि अङ्ग्रेजी माध्यमअन्तर्गत पनि विशिष्टीकृतरुपमा प्रविधियुक्त शिक्षा दिइने विद्यालयले जनाएको छ ।

बालबालिका विद्यालयबाट घर गएर मोबाइल, टिभीमा भुल्ने क्रमलाई निरुत्साहित गरी विद्यालयमै प्रविधिमैत्री वातावरणमा रमाउने अवस्था सिर्जना गर्न यस्तो अवधारणा ल्याइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेल उल्लेख गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “अबको विद्यार्थी स्कुल जान नपाएर रुने अवस्था बनाउने कोशिसका साथ शैक्षिक विकासमा अगाडि बढ्नाका साथै सङ्ख्यात्मकमा भन्दा गुणस्तरमा जोड दिएर काम गरेका छौँ ।”

करिब ढाइ रोपनी जमिनमा खाजाघर, खेल खेल्ने ठाउँसहित मन्टेश्वरीको ब्लक निर्माण गरी समयानुकूल अत्याधुनिक प्रविधिको व्यवस्था गरेर कक्षा सञ्चालनमा ल्याइएको विद्यालय व्यवस्थापन समितिका सदस्य अशोक श्रेष्ठ बताउनुहुन्छ । उहाँका अनुसार इमेल र इन्टरनेटका माध्यमबाट गीत सङ्गीतसहित प्रविधिको प्रयोग गरी पढाइनेछ । अहिले ४४ जना भर्ना भएकामा यसै शैक्षिकसत्रमा ५० पुग्ने अनुमान छ ।

नगरपालिकाका नगर शिक्षा अधिकृत विकल काफ्ले अन्यत्रबाट यहाँ शैक्षिक अवलोकन भ्रमणका लागि कुनै समूह आएमा देखाउन लायकको विद्यालय भएको बताउनुहुन्छ ।

हाल नगरपालिकाकाभित्र सामुदायिक ५१ र संस्थागत नौ गरी ६० विद्यालय सञ्चालित छन् । लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये यस विद्यालयले नमुना विद्यालयको तेस्रो वर्ष पार गरी चौथो वर्षमा काम गर्दै सबैजसो सूचक पनि पूरा गरेको छ ।

यसै शैक्षिक सत्रदेखि स्कुल बस सञ्चालनमा ल्याइएको र अर्को वर्ष छात्राबास निर्माण गरिसक्ने योजना छ । बिस्तारै पुराना संरचना हटाउने, नयाँ संरचना थप गर्दै जानका साथै वार्षिक नतिजा पनि पछिल्ला वर्षको तुलनामा सुधार हँुदै गएकोे छ ।

यस विद्यालयमा प्राविधिकतर्फ तीनवर्षे कृषि बाली विज्ञान, उच्च शिक्षातर्फ विज्ञान, शिक्षाशास्त्र, व्यवस्थापन सङ्काय र मावि तहमा अङ्ग्रेजी तथा नेपाली माध्यममा पठनपाठन भइरहेको छ । यो जिल्लाकै धेरै विद्यार्थी भएको विद्यालय हो । हाल यहाँ दुई हजारको हाराहारीमा विद्यार्थी अध्ययनरत छन् ।विसं २०२५ मा स्थापना भएको यो विद्यालय पूर्वी पाल्पामै पुरानो हाइस्कुलका नामले परिचित छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !