८ बैशाख २०८१, शनिबार

कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न सिफारिस


स्वास्थ्य मन्त्रालय

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । यसबारे निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक भोलि बोलाएको छ ।

मन्त्रालयले कोरोना संक्रमण बढिरहेकोले सबै परीक्षा तत्काल नगर्न सीसीएमसी र शिक्षा मन्त्रालयलाई सुझाव दिएको हो । कक्षा १२ को परीक्षा साउन ३१ देखि सञ्चालन गर्न परीक्षा तालिका सार्वजनिक भइसकेको छ ।

कोरोना संक्रमण फैलिँदै गरेको अहिलेको अवस्थामा सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिश गरेको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सामाजिक संजाल ट्वीटरमार्फत जानकारी दिएका छन् ।

स्वास्थ्य मन्त्रालयले विज्ञहरुसँगको छलफलपछि परीक्षा सञ्चालन गर्न उपयुक्त नहुने सुझाव दिएको हो । मृत्युदर १.५ र संक्रमितको दर पनि बढिरहेकाले परीक्षा सञ्चालन नगर्नुपर्ने स्वास्थ्य मन्त्रालयको अडान छ ।

यसै विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठबीच छलफलसमेत भएको थियो । प्रधानमन्त्री देउवा पनि अवस्था सामान्य भएपछि र यो उमेर समूह (२० वर्षमुनिका किशोरकिशोरी)ले खोप पाएपछि मात्रै परीक्षा सञ्चालन गर्ने देखिएको स्रोतले जनाएको छ ।

बोर्डले भौतिक दूरी कायम गरी एउटा कक्षामा २५ जना मात्रै विद्यार्थी राख्ने गरी तयारी थालेको थियो । परीक्षा अगावै अनिवार्य रुपमा पीसीआर परीक्षण गर्ने, परीक्षा केन्द्रमा स्वास्थ्य परीक्षण गर्ने र केन्द्रमा हेल्थडेस्क राख्ने लगायतको तयारी गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !