४ बैशाख २०८१, मंगलबार

शङ्खरापुरमा एक विद्यालय एक योग शिक्षक


योग

काठमाडौँ । राजधानीको उत्तरपूर्वी भेगस्थित शङ्खरापुर नगरपालिकाले राष्ट्रिय योग दिवसका अवसरमा साताव्यापी कार्यक्रम आयोजना गरेको छ । राष्ट्रिय योग दिवस मुख्य दिन माघ १ गतेदेखि शुरु भएको योग कार्यक्रममा नगरपालिकाका कर्मचारी, इलाका प्रशासन कार्यालयका कर्मचारी, सामुदायिक विद्यालयका शिक्षक, सुरक्षाकर्मी र स्थानीयवासी गरी ५० भन्दा बढीको सहभागिता रहेको थियो । सहभागीमा योगप्रतिको उत्सुकता सिक्ने चाहना पाइएको नगरपालिका शिक्षा शाखाले जनाएको छ ।

स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी आयोजना गरिएको कार्यक्रममा डा हरिप्रसाद पोखरेल, डा क्षितिज बाराकोटी, तीर्थविनोद गिरी, पतञ्जलि योग समिति नेपालका लोकनाथ खनाल, अच्युत अर्याल र रामप्रसाद सञ्जेल, ब्रह्मकुमारी राज योग सेवा केन्द्रका तिलक भाइजी, ओसो तपोवनका स्वामी अरहत, जीवन विज्ञानका मेनुका ढकाललगायतका योगगुरुले प्रशिक्षण दिनुभएको थियो ।

प्रत्येक वडामा योग भवन बनाइने

योग शिविरको समापन कार्यक्रममा नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले नगरपालिकाभित्रका सबै वडामा नियमित योग सञ्चालन गर्ने उद्देश्यअनुरुप नौवटै वडामा सामुदायिक भवन निर्माण अघि बढाइएको बताउनुभयो । ऐतिहासिक महत्व बोकेको शङ्खरापुरलाई योग नगरका रूपमा विकास गर्ने लक्ष्य रहेको जानकारी पनि उहाँले दिनुभयो ।

नगर उपप्रमुख शुक्रलक्ष्मी श्रेष्ठले योगलाई नियमित र निरन्तरता दिन नगरपालिकाभित्र सञ्चालन हुने योग कार्यक्रममा नगरपालिकाको पूर्ण सहयोग रहने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाले नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयका कम्तीमा एक शिक्षकलाई योग प्रशिक्षण दिन कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । नगरपालिकाका शिक्षा शाखा प्रमुख बोधराज निरौलाले स्थानीय पाठ्यक्रममा योगलाई समावेश गरेर विद्यालय तहमा पठनपाठन शुरु गरिएको बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !