, प्राविधिक शिक्षाको केन्द्र बन्दै बर्दिबास

प्राविधिक शिक्षाको केन्द्र बन्दै बर्दिबास

महोत्तरी, १० भदौ । एक समय हातहतियारको अभ्यास गर्ने गरिएकोे बर्दिबास क्षेत्र अहिले भने ज्ञानविज्ञान क्षेत्रका विज्ञ तयार गर्ने थलो बनेको छ । बर्दिबास सशस्त्र युद्धताका तत्कालीन नेकपा माओवादीका लडाकुको ‘क्यान्टोनमेन्ट’ को थलोका रुपमा परिचित थियो । महोत्तरीको हालको बर्दिबास–११ खयरमारा विगतमा सशस्त्र माओवादी छापापार बस्ने ठाउँसमेत थियो ।

महोत्तरीको बर्दिबास नगरपालिका–११ चुरे पहाडी शृङ्खला र खयरमारा खोलाको काखमा अवस्थित यो ठाउँमा नेपालको बाम प्रजातान्त्रिक आन्दोलनका योद्धा स्वर्गीय निर्मल लामाको नाउँमा ‘निर्मल लामा बहुप्राविधिक शिक्षालय’ स्थापना भएर सञ्चालनमा आएको तीन वर्ष हुन लागेको छ । तीनवर्षे डिप्लोमा (स्नातक) तहको पठनपाठन र विषयगत अभ्यास गराइने यस शिक्षालयमा सिभिल इञ्जिनीयरिङ, जोमेट्रिक इञ्जिनीयरिङ (अमिन, सर्भे), वनविज्ञान, फुड ऐण्ड डेरी टेक्नोलोजी र होटल म्यानेजमेन्ट विषयका सैन्द्धान्तिक र व्यावहारिक सीप दिइन्छ । अब आउने शैक्षिकसत्रदेखि फार्मेसी, रेडियोग्राफी (रेडियोलोजी), आयुर्वेद र प्राकृतिक चिकित्सा विषयको पठनपाठनको पनि थप स्वीकृति पाएपछि यो क्षेत्र मुलुककै एक गतिलो शैक्षिक गन्तव्य एवं प्राविधिक शिक्षाको केन्द्रमध्येको एक बन्नसक्ने बर्दिबास नगरपालिकाको खयरमारा बस्तीका बासिन्दा बताउँछन् ।

“एकताका बन्दुक पड्काउने अभ्यास गरिने थलोमा अहिले मुलुकका विभिन्न भेगका छात्रछात्रा कलमको र किताबको अभ्यास गर्दैछन्”, खयरमाराका पुराना राजनीतिक, सामाजिक कार्यकर्ता चन्द्रलाल गौतम भन्नुहुन्छ, “व्यावसायिक र प्राविधिक शिक्षाको नयाँ थलो बनेको हाम्रो ठाउँले विभिन्न विषयमा दक्ष जनशक्ति तयार गर्दैछ भन्ने कुराले हामीलाई खुशी तुल्याउँछ ।” बन्दुकको अभ्यास गरिएको पुरानो थलोमा अहिले कलम किताबको अभ्यास थालिएको मात्र नभई जनबोलीमा ‘छापामार क्याम्प’ र ‘जनसेना क्याम्प’ भनेर चिनिने यो ठाउँको नाउँ नै ‘सुन्दर बस्ती’ का नामबाट फेरिएको गौतमले बताउनुभयो ।

तत्कालीन माओवादीका सेनाको व्यवस्थापन नहोउञ्जेल ‘जनमुक्ति सेना नेपाल, शहीद रामवृक्ष यादव ब्रिगेड खयरमारा’ लेखेर बोर्ड ठड्याइएको यो थलोमा अहिले ‘निर्मल लामा बहुप्राविधिक शिक्षालय, बर्दिवास–११ सुन्दरबस्ती, खयरमारा’ लेखिएको बोर्ड परैबाट चम्किला अक्षरमा देखिन्छ । अब यो ठाउँले मुलुकको मुहार फेर्ने जनशक्ति तयार गर्दैछ भन्ने कुराले आफूहरुमा खुशीको सञ्चार गराएको खयरमारावासी बताउँछन् ।

विसं २०७५ मा सञ्चालनमा आएको शिक्षालयमा अहिले विभिन्न विषयका गरी ५०७ छात्रछात्रा छन् । अहिले पठनपाठन भएका विषयमा सिभिल इञ्जिनीयरिङ, जोमेट्रिक इञ्जिनीयरिङ (अमिन, सर्भे), वनविज्ञान, फुड एण्ड डेरी टेक्नोलोजी र होटल म्यानेजमेन्ट छन् । यी विषयको पठनपाठन गराउन विभिन्न विषयका १३ शिक्षक र अन्य कर्मचारीसहित २६ जनाको जनशक्ति परिचालित छ । आउँदो शैक्षिकसत्रदेखि सञ्चालनको अनुमति पाएका विषय भने प्रदेश–२ भित्रका विभिन्न माध्यमिक विद्यालयमा पठनपाठन र अभ्यास गराइने गरी तयारी थालिएको शिक्षालयका प्राचार्य दुखीराम महरा बताउनुहुन्छ । शिक्षालयकै प्रशासनिक नेतृत्व रहने गरी विभिन्न जिल्लाका माध्यमिक विद्यालयमा नयाँ थप विषयको पठनपाठन र अभ्यास सञ्चालनको अन्तिम तयारी भइरहेको महराको भनाइ छ ।

“यसक्रममा हामीले आयुर्वेद विषयको महोत्तरीकै सुदूर दक्षिणपूर्वी भारतीय सीमावर्ती मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयमा र प्राकृतिक चिकित्सा र योगको सिरहाको विद्यालयमा पठनपाठन सञ्चालनको तयारी गर्दैछौँ”, प्राचार्य महराले भन्नुभयो, “त्यसैगरी फार्मेसी र रेडियोग्राफी (रेडियोलोजी) विषयको पठनपाठन पनि कहाँ सञ्चालन गरिने छिट्टै टुङ्गो लगाइनेछ ।” यसरी नयाँ थप विषयको पठनपाठन प्रदेशका विभिन्न जिल्लास्थित विद्यालयमा सञ्चालन गरिँदा विद्यार्थीले आफ्नै ठाउँमा नयाँ विषय पढ्न पाउने र अभिभावकलाई आर्थिक बोझ पनि कम हुने शिक्षालयको ठम्याइ छ ।

अहिले पठनपाठन भइरहेका विषय शिक्षालयको मुख्य थलो सुन्दरबस्ती खयरमारामै भइरहेको छ । विकट हिमाली जिल्ला ताप्लेजुङ्ग, हुम्ला, कालीकोट र दोलखा, पहाडी जिल्ला दैलेख, पाँचथर, रुकुम (पूर्व÷पश्चिम दुवै) खोटाङ्ग, बाजुरा, रामेछाप र उदयपुर एवं प्रदेश– १ को तराई र प्रदेश– २ का सबै जिल्लाका विद्यार्थी छन् । पछिल्ला पाँच महिनायता (गत चैतदेखि यता) कोभिड–१९ सङ्क्रमण सन्त्रासले गर्दा नियमित पठनपाठन र अभ्यास गराउन नसकिएको शिक्षालय प्रशासनले जनाएको छ । यद्यपि शिक्षालयसँग सिधा सम्पर्कमा रहेका छात्रछात्रा आ–आफ्ना विषयको तयारी गरिरहेका छन् ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी) बाट सम्बन्धन प्राप्त यस शिक्षालयमा मधेशी, दलित, आदिवासी र महिलाका लागि आरक्षण छ । यस अवसरले सबै वर्ग र तप्काका छात्रछात्राको प्रवेश सहज भएको प्राचार्य महरा बताउनुहुन्छ । यहाँ अहिले कूल छात्रा सङ्ख्या १०५ रहेको छ । प्राविधिक र व्यावसायिक विषयमा छोरीहरुको आकर्षण बढ्नुले आर्जनमा लैङ्गिक समानताको अवसर बढाउन सहयोग पुग्ने प्राचार्य महराको विश्वास छ ।

शिक्षालयमा प्रवेशका लागि पाँच हजार धरौटी र तीनवर्षे अवधिको पूरा शुल्क प्रतिविद्यार्थी ५० हजार लाग्छ । यसबाहेक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र प्राविधिक शिक्षा तथा व्यावसायिक शिक्षा परिषद् केन्द्रीय कार्यालयले निश्चित मापदण्डभित्रबाट तोकिएको सङ्ख्यामा सिफारिस गरेका विद्यार्थीले निःशुल्क शिक्षाको अवसर पाउँछन् । यस्तो अवसर पाएका छात्रछात्रा अहिले शिक्षालयमा २१ जना छन् ।

नगरपालिकामा भए पनि बर्दिबासको सघन बजार क्षेत्रबाट २० किलोमिटर दूरीमा अवस्थित सुन्दरबस्ती ग्रामीण परिवेशको ठाउँ छ । वनपाखा, पाहाडी शृङ्खला, खोल्साखोल्सी र नदीकै काखमा भएको हुँदा प्राकृतिक मनोरम दृश्यसँगै खानपिनका लागि दूध र हरियो सागसब्जी ताजा पाइन्छ । फलपूmलखेतीको पकेटक्षेत्र मानिएको खयरमारामा आँप, भुँइकटहर र लिची मुख्य फल हुन् । राम्रो ग्रामीण परिवेश, आत्मीयता, आहारविहार तथा व्यवहारका कारण टाढाबाट पढ्न आएका छात्रछात्राले आफ्नै पनको महसुस गर्न पाएका प्राचार्य महरा बताउनुहुन्छ ।

महोत्तरीको बर्दिबास नगरपालिकालाई शैक्षिक केन्द्र बनाउने नगरवासीको सङ्कल्पमा निर्मल लामा बहुप्राविधिक शिक्षालयको सञ्चालन खास र ठोस उपलब्धि मानिएको छ । “हामीले आफ्नो नगरलाई प्रदेशकै शैक्षिक केन्द्र बनाउने सङ्कल्प गरेका छौँ”, नगरप्रमुख विदुरकुमार कार्की भन्नुहुन्छ, “यस सङ्कल्पलाई साकार बनाउन शिक्षालयको कुशल व्यवस्थापनसहितको सञ्चालन सफलताको एक कडी हो ।” नगरको शैक्षिक विकासमा आपूm नेतृत्वको निर्वाचित जनप्रतिनिधिको टिम मेहनतका साथ अघि बढेको कार्की बताउनुहुन्छ । नगरको यो सङ्कल्पमा आफ्नै संसदीय निर्वाचन क्षेत्र (प्रतिनिधिसभा क्षेत्र, महोत्तरी–१)का प्रतिनिधिसभा सदस्य तथा वर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको दर्विलो साथ पाइएको कार्कीले बताउनुभयो ।

शिक्षालयलाई भौतिकरुपले साधन सम्पन्न बनाउन अहिले दुई वटा भव्य भवन निर्माणको चरणमा छन् । रु चार करोड ८३ लाखको लागतमा २१ कोठे तीनतले भवन कार्य सम्पन्न हुने अन्तिम चरणमा छ । त्यसैगरी रु पाँच करोड ५० लाखको लागतमा अर्को ४० कोठे भवन निर्माण शुरु भएको छ । दुवै भवन नेपाल सरकारले निर्माण गरिरहेको हो । यसबाहेक मित्रराष्ट्र दक्षिण कोरियाको कोइकाले शैक्षिक कार्यक्रमअन्तर्गत रु एक अर्बको लागतमा शिक्षालय परिसरमै भौतिक÷ प्राज्ञिक प्रयोगशाला निर्माण गर्ने टुङ्गो भएको छ । कोइकाले यो काम सन् २०२१ को प्रारम्भसँगै शुरु गर्ने तयारी रहेको प्राचार्य महराले जानकारी दिनुभयो ।

शिक्षालयको सञ्चालनले आफ्नो ठाउँबारे सकारात्मक चासो बढ्दै गएको खयरमारावासीले महसुस गरेको बताउने गरेका छन् । शिक्षालयको भौतिक विकाससँगै खयरमारामा बाटोघाटो, वातावरण पर्यावरण संरक्षण र फलपूmलखेतीका नयाँ योजनामा धमाधम काम थालिएको खयरमाराकै बासिन्दा सामुदायिक रेडियो प्रशारक सङ्घ (एकोराब) ले सञ्चालन गरेको रेडियो नेटवर्क सिआइएनमा कार्यरत सञ्चारकर्मी गीता चिमोरियाको कथन छ ।

पूर्वपश्चिम राजमार्गको महोत्तरी जिल्लामा पर्ने वनपथचोकबाट नौ किलोमिटर सघन वनक्षेत्र छिचोलेर पुगिने खयरमारामा शिक्षालय सञ्चालनसँगै शुरु भएको विकास गतिविधिले खयरमारावासीलाई दङ्ग बनाएको छ । हालसम्म सार्वजनिक यातायातको निर्धारित ‘रुट’ मा पर्न नसकेको खयरमारा वनपथचोकदेखि बस्तीसम्म कालोपत्र सडक बने सम्भावना अझै थपिँदै जाने यहाँका बासिन्दाले आशा गरेको बताएका छन् । यसले शिक्षालयका कर्मचारी, शिक्षक र विद्यार्थीलाई समेत सहज हुने र अन्य अवसर खुल्दै जाने खयरमारा विद्युत्चोकका राजु उप्रेतीको भनाइ छ ।