७ बैशाख २०८१, शुक्रबार

नेपालमा पनि विश्वकपकाे गर्मी बढ्याे !


Editorial

नेपालपत्र, २७ जेठ २०७५ । विश्वकप फुटबल प्रत्येक ४-४ बर्षको अन्तरालमा हुने गर्दछ । यस पटकको विश्वकप रसियाले अयोजना गर्दै छ । रसिया विश्वकप २०१८ आउँदो विहीबारदेखि शुरु हुँदैछ । खेल रसियामा हुने भए पनि विश्वभरकै मानिसलाई आकर्षित गरी सकेको छ । फुटबलको कुम्भमेलाको रुपमा प्ररिचित विश्वकपका खेलहरु हेर्न नेपालीहरु समेत बेग्र प्रतिक्षामा रहेका छन् । अब करिब एक महिना नेपालीको दिमागवाट विश्वकप फुटबल भाग्ने छैन । बिगतमा झैँ यस पटक पनि सबै आफ्नो दैनिक काम छोडेर फुटबलमा झुमिरहेको देख्न सकिन्छ ।

खेलकाे महाकुम्भकाे रूपमा परिचित विश्वकप फुटबल सुरू हुन अब तीन दिन मात्र बाँकी छ । तर विश्वकपकाे गर्मी, माैसमी गर्मीभन्दा धेरै तातिसकेकाे छ । शहरदेखि गाउँसम्मै सबैकाे व्यग्र प्रतीक्षा रहेकाे यस खेललाई अझ राेमाञ्चक बनाउन र सबैकाे केन्द्रविन्दुकाे रूपमा देखा पर्ने धेरै उदाहरण शहरदेखि गाउँमा पुगेकाे छ । अाफ्ना अाफ्ना समर्थक देशकाे जर्सी सबैले किन्ने हाेडबाजी सुरूभइसकेकाे छ । सवारी साधनमा पनि अाफ्नाे प्रिय देशकाे झण्डा राखेर विश्वकपलाई सबै नेपालीले स्वागत गर्न अातुर भएकाे पाइन्छ ।

त्यतिमात्र होइन विश्वकप हेर्न समर्थक देशको समूह बनाउने र एकै ठाउँमा भेला भएर खेल हेर्ने तयारी भइसकेको देखिन्छ । साथीहरु मिलेर खेल हेर्नु र रमाइलो गर्नु राम्रो कुरा हो तर मनपरेको देश भन्दैमा अनेक खर्च गरेर भड्किलोपन देखाउनु राम्रो हुन्न । त्यसमाथि यस पटकको सबैजसो खेलहरु नेपाली समय अनुसार बेलुकाको समयमा हुने हुँदा सबैले हेर्न अनुकुल समय मिलेको छ । यसले पनि नेपालीलाई यो पटकको विश्वकप अझ प्रिय बन्न पुगेको छ ।

विश्वकप फुटबलमा मनपर्ने देश छनाैट गर्नु र समर्थन गर्नु स्वभाविक हाे । तर विगतमा झैं यस पटक पनि खेलकाे महाकुम्भकाे समयमा बाजि लगाउने र मनाेरञ्जन गर्नेभन्दा भड्किलाे बनाउने प्रवृति याे पटक पनि दाेहाेरिने संकेत देखिन थालेकाे छ । सबैभन्दा लाेकप्रिय खेल र त्यस खेलकाे पनि कुम्भ विश्वकप सबैकाे चासाे र चर्चाकाे विषय हुनु स्वभाविक हाे । तर विश्वकपकाे वहानामा विकृति भित्र्याउनु हुन्न र विकृति भित्रिन नदिन बेलामा नै सम्बन्धित पक्षले कडाइ र नियन्त्रण गर्न जरूरी छ ।

विश्वकप फुटबल स्वस्थ मनोरञ्जनको रुपमा मात्र लिएर रमाइलो गर्नु आवश्यक छ । धन र जनको क्षति हुने गरी भड्किलो प्रदर्शन गर्नु हुन्न र अरुलाई समेत त्यसो गर्नवाट रोक्नु पर्दछ । खेलको रमाइलो लिनुपर्दछ तर सभ्य र भव्य रुपमा न कि असभ्य र भड्किलो रुपमा ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !