१३ बैशाख २०८१, बिहिबार

विश्व प्रेस स्वतन्त्रता दिवस : कति स्वतन्त्र छन पत्रकार !


Editorial

नेपालपत्र, २० वैशाख २०७५ । अाज विश्व प्रेस स्वतन्त्रता दिवस, अभिव्यक्ति स्वतन्त्रता पाएकाे उत्सवकाे रूपमा विभिन्न कार्यक्रम गरेर मनाइयाे । नेपालमा पनि पत्रकार महासंघकाे अायाेजनामा विहान प्रभातफेरी गर्याे ।

देशभर फ्रिडम फोरमले एक वर्ष (मे २०१७ देखि अप्रिल २०१८) सम्म गरेको मिडिया अनुगमनपछि बुधबार सार्वजनिक गरेको वार्षिक प्रेस स्वतन्त्रता प्रतिवेदनमा यस वर्ष प्रेस स्वतन्त्रता उल्लंघनका घटना सन् २०१३ पछिकै उच्च रहेको पाइएको छ । प्रतिवेदनअनुसार सन् २०१३ मा १३१ प्रेस स्वतन्त्रता उल्लंघनका घटना भएकामा त्यसपछिका वर्षमा केही कमी देखिए पनि मे २०१७ देखि अप्रिल २०१८ सम्म ६६ वटा घटना भए, जसबाट २०० भन्दा बढी सञ्चारकर्मीहरू प्रभावित भएका छन् ।

तीनै तहको निर्वाचन यसै वर्ष सम्पन्न भएसँगै राजनीतिक गतिविधिमा तीव्रताका कारण सन् २०१६–१७ भन्दा झण्डै दोब्बर घटना २०१७–१८ को वर्षमा घटेको प्रतिवेदनमा जनाइएको छ । अघिकांश प्रेस स्वतन्त्रता उल्लंघनका घटना राजनीतिक मामिलासँग जोडिएका छन् । अघिल्लो वर्ष प्रेस स्वतन्त्रता उल्लंघका २९ घटना भएका थिए ।
यस वर्ष घटेका ६६ घटनामध्ये १४ आक्रमण, आठ पक्राउ, १३ हातपात, १४ ज्यान मार्ने धम्की, १६ वटा अवरोध र एउटा घटना तोडफोडका छन् ।

प्रेस स्वतन्त्रता घटनामध्ये प्रदेश नं ३ मा सबैभन्दा बढी २९ घटना भए जसमध्ये काठमाडाैंमा मात्रै २५ घटना घटेका छन् । प्रदेश ४ मा ११ घटना घटे भने प्रदेश २ मा आठ, प्रदेश १ मा तीन, कर्णाली प्रदेशमा तीन र प्रदेश ५ र ७ मा छ/छ वटा प्रेस स्वतन्त्रता उल्लंघनका घटना घटेका छन् ।
प्रेस स्वतन्त्रताविरुद्ध घट्ने घटनाहरूमा विशेष सरकारी कर्मचारी, राजनीतिक कार्यकर्ता, सुरक्षा निकायका व्यक्तिहरूको संलग्नता रहेको प्रतिवेदनमा जनाइएको छ । उल्लंघनका घटनामा सुरक्षा तथा सार्वजनिक निकायका कर्मचारीको संलग्नता बढी देखिएकाले उनीहरूले पत्रकारको हक र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्नुपर्ने प्रतिवेदनले औँल्याएको छ ।

सार्वजनिक सरोकार, भ्रष्टाचारजन्य क्रियाकलाप, चुनाव तथा सोको मतगणना, राजनीतिक दलका प्रदर्शन, तस्करी तथा अपराधजन्य विषयको समाचार संकलनका क्रममा पत्रकारमाथि धम्की तथा आक्रमणका घटना भएका छन् ।

राजनीतिक दलले अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न बारम्बार मौखिक प्रतिबद्धता जनाए पनि उनीहरूको स्वतन्त्रता विरोधी क्रियाकलापका कारण सञ्चारकर्मी अभिव्यक्ति स्वतन्त्रता उपभोगबाट वञ्चित रहे ।

२५ अाैं विश्व प्रेस स्वतन्त्रता दिवस मनाइरहँदासमेत पूर्ण स्वतन्त्र भएर निर्भयकासाथ काम गर्ने अवसर मिल्न सकेकाे छैन । पत्रकारले डर र त्रासमा रहेर अाफ्नाे पेशा अगाडि बढाइरहनुपरेकाे अवस्था छ । नेपालकाे सन्दर्भ हेर्ने हाे भने पनि राजनैतिक हस्तक्षेप भएर पत्रकारिता पेशा कुण्ठित भएकाे छ । त्यतिमात्र हाेइन व्यवसायिकताकाे नाममा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप र नियन्त्रण जारी रहेकाे पाइन्छ। नेपालमा न पत्रकारले चाहे अनुसार कलम चलाउन सकेकाे देखिन्छ, न पत्रकारिता पेशा नै पूर्ण स्वतन्त्र व्यवसाय बन्न सकेकाे छ। यसमा पत्रकार र प्रेस पनि दाेषी देखिन्छन् । उचित र जायज अावज उठाउन नसक्नु नै अहिलेकाे अवस्थामा प्रेस पुग्नु हाे ।

अब प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई पूर्ण कार्यन्वनय गर्नु अावश्यक छ र पत्रकारले पनि अरूकाे लागि पत्रकारिता गर्न छाडेर निश्पक्ष र स्वतन्त्र पूर्वक अाफ्नाे पेशा अगाडि बढाउन सकेमा पत्रकारिता पेशामाथिकाे दृष्टिकाेण परिवर्तन हुन सक्नेछ । साथै राज्यले पनि अाफ्नाे चाैथाे अंगकाे रक्षा र प्रवर्द्धनमा कुनै कमि हुन नदिने याेजना बनाइ त्यसलाई लागू गर्न जरूरी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !