१२ बैशाख २०८१, बुधबार

३३ किलाे सुन तस्करी : लहराे तान्दा पहराे हल्लियाे !


Editorial

नेपालपत्र, १९ वैशाख २०७५ । पछिल्लो समय नेपालमा सुन तस्करीकाे घटना एक पछि अर्काे गर्दै सार्वजनिक भइराखेकाे छ । अधिकांश घटनामा मुख्य तस्करी भन्दा पनि भरिया मात्रै समातिने र कारवाही भाेग्न बाध्य भइरहेका थिए । तर पछिल्लाे सुन तस्करीकाे घटना रहस्यमयी तरिकाले सार्वजनिक हुँदैछ । फागुन १९ गते प्रहरीले मोरङ उर्लाबारी नगरपालिका ७ घर भएका ३५ वर्षीय सुन व्यापारी सनम शाक्यको शव फेला पारेसँगै सुन तस्करीको घटना बाहिरिएको थियो।

सनमकाे हत्यावाट सुरू भएकाे सुन प्रकरणमा अाजसम्ममा प्रहरीका उच्च अाेहदाका व्यक्तिकाे समेत सम्लग्नता भएकाे भन्दै अनुशन्धानमा तानिएका छन् । सुरूमा सनमकाे हत्या लेनदेनकाे विषयमा भनेर ढाकछाेप गर्ने प्रयास नि भयाे तर याे पटक याे घटनाले सजिल्यै सेलाउने माैका पाएन । प्रहरीले उर्लाबारीका चुडामणि उप्रेती ‘गोरे’ लाई मुख्य अभियुक्त बनाएकाे छ । गोरेको नेतृत्वमा सन् २०१५ देखि यता पटकपटक गरी करिब ३८ क्वीटल अर्थात ३७ लाख ९९ हजार ५ सय ५९ ग्राम सुनको अवैध कारोबार गरेको प्रहरीकाे दाबी छ ।

मुद्दामा १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय ३० रुपैयाँ ९० पैसा बराबरको विगो दाबी प्रहरीले गरेकाे छ । मुद्दामा अभिुयक्त बनाइएकाहरु मध्ये ७ प्रहरी अधिकारीसहित २९ जना पक्राउ परेका छन् । प्रतिवादी बनाइएका मध्ये मुख्य नाइके गोरे, एसएसपी श्याम खत्रीसहित ३४ फरार छन् ।

सुन तस्करीमा संलग्न तथा हत्याको आरोपमा अनुसन्धानमा तानिएका प्रहरीहरुमा पूर्व डिआईजी, बहालवाला एसपी, डिएसपी, सई  र प्रहरी जवानसमेेत रहेका छन् । प्रहरी हिरासतमा रहेका उनीहरुलाई सुन तस्करी सहयोगी तथा संगठित अपराध अन्तरगत मुद्दा दर्ता गरिएको छ । उनीहरु स्वयम सुन ल्याउनमा संलग्न भन्दा पनि तस्करीलाई बढावा दिनको लागि सहयोगीको काम गरेको भन्न्दै मुद्दा चलाइएको हो । त्यतिमात्र हाेइन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीसमेत याे प्रकरणमा तानिइसकेका छन्।

अाजसम्म खुलेकाे घटनावाट याे सुन प्रकरणमा ठूलाे जालाे रहेकाे र एकपछि अर्काे रहस्य पर्दाफास हुने अवस्था छ । अब याे घटनामा भइरहेकाे अनुशन्धानकाे निश्पक्ष छानविन हुने हाे भने देशकाे माथिल्लाे निकायमा नेतृत्व गरिरहेकाहरूसमेत तानिने सम्भावना बढेकाे छ । लहराे तान्दा पहराे हल्लिन्छ भनेझैं याे घटनामा एकपछि अर्काे गर्दै उच्च तहका व्यक्तिसम्म संलग्न रहेकाे अाशंकामा अनुसन्धानकाे दायरामा तानिएका छन् । अझै उपल्लाे तहकाेसमेत प्रत्यक्ष वा अप्रत्यक्ष सहयाेग रहेकाे पुष्टि केहिदिनमै हुने अाशा गरिएकाे छ ।

देशलाई उच्च तहमा रहेका व्यक्तिकाे संरक्षण पाएर तस्करीकाे जालाे बढाउँदै लगेकाे अवस्थामा याे घटना एउटा प्रतिनिधि घटना हाे । यसले नेपालमा माैलाएकाे तस्करीलाई छरपष्ट पारिदिएकाे छ । अब अनुसन्धानमा कुनै कमि नगरी जरैसम्म पुगेर तस्करीकाे नाइके पक्राउ गर्न सकेमा देशकाे अवस्थामा सुशासनमा निक्कै मद्धत गर्नेछ । त्यसैले कसैकाे दवाव र प्रभावमा नपरी यश कार्यमा संलग्न सबैलाई कारवाहीकाे दायरामा ल्याउनु अावश्यक छ र सबैले त्यही हुनेमा अनुसन्धान विभागसँग अपेक्षा राखेका छन् । जनताकाे अासमा तुसरापात नहाेस् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !