७ बैशाख २०८१, शुक्रबार

नेपालकाे चीन-भारत सम्बन्ध सन्तुलित रहाेस् !


Editorial

नेपालपत्र, ८ वैशाख २०७५ । केपी शर्मा अाेली प्रधानमन्त्रीमा नियुक्त भएसँगै भारतले नेपालसँग र विशेषगरी एमाले अध्यक्षसँग चिसिएकाे सम्बन्ध सुधारमा पहलकदमी लिएकाे छ । यता चिनियाँ सरकार पनि पछिल्लाे समयमा नेपालसँगकाे सम्बन्धलाई धेरै चासाेका साथ नेपालकाे मामिलामा सहभागिता खाेज्ने प्रयासमा रहेकाे पाइन्छ । छिमेकका दुई ठूला राष्ट्रले नेपाललाई महत्व दिनु राम्राे हाे तर नेपालले अब दुवै छिमेकलाई सन्तुलित व्यवहार गर्न सक्छ या सक्दैन त्याे भने हेर्न बाँकी छ ।

परराष्ट्र मन्त्रीकाे चीन भ्रमणले भारत र चीन दुवै राष्ट्रसँग समानताका अाधारमा सम्बन्ध विस्तार गर्न नेपालले नीति लिएकाे प्रष्ट भएकाे छ । अब दुवै राष्ट्रकाे विश्वास जितेर हातेमालाे गर्दै अगाडि बढ्नु नेपालका लागि चुनाैति र अवसर दुवै रहेकाे छ ।

भारतले सम्बन्ध सुधारमा अाफै पहलकदमी लिनु र अर्काे छिमेकी चीनलेसमेत विकासका नाममा अाफ्नाे सकृयता बढाउनुले नेपालका लागि चुनाैति बढेकाेे छ । पछिल्लाे वर्षहरूमा चीन अाफ्नाे प्रभाव नेपालमा विस्तार गर्न चाहिरहेकाे छ । प्रम अाेलीले भारतले नेपालमा नाकाबन्दी लगाएकाे समयमा भारतसँग नझुकेर चीनसँग सम्बन्ध विस्तारकाे प्रयास गरेवाट चीनले समेत अाफ्नाे राजनैतिक र कुटनैतिक प्रभाव बढाउदै लगेको छ ।

नेपालका लागि भारत र चीन दुवै राष्ट्रलाई सन्तुलित राखेर देश विकासमा दुव‌ै छिमेककाे सहयाेग र विश्वास लिनु चुनाैति र अनिवार्यसमेत छ । एकलाई चिड्याएर अर्काेसँग सम्बन्ध विस्तार गर्दा क्षणिक फाइदा भएपनि त्यसले दिर्घकालिन असर  गर्दछ । नेपालले भारत भ्रमण लगतै चीन भ्रमणकाे तयारी गर्नु र भारतिय प्रधानमन्त्री यसै महिनाकाे अन्त्यमा नेपाल अाउने सन्दर्भ साथै चिनियाँ राष्ट्रपतिकाे निकट भविष्यमा हुने भ्रमणले नेपालकाे अहिलेकाे अवस्था र दुई देशले दिएकाे महत्व प्रष्ट हुन्छ ।

अब नेपालले दुवै छिमेकसँग सहकार्य गर्दै सन्तुलित सम्बन्ध विस्तार गरेर अार्थिक विकासलाई अगाडि बढाउनु अावश्यक छ । दुवै छिमेकसँग सन्तुलित सम्बन्ध बनाउन सके नेपालले प्रगतिकाे पथमा अगाडि बढ्न कुनै समस्या छैन।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !