६ बैशाख २०८१, बिहिबार

वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापन गर !


Editorial

नेपालपत्र, ७ वैशाख २०७५ । नेपालमा एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै आन्तरिक र अन्तराष्ट्रिय दुवै उडान हुँदै आएको छ । आज मालिन्दो एयरको जहाज धावनमार्गबाट बाहिर जाँदा करिब १३ घण्टासम्म आन्तरिक र अन्तर्राष्ट्रिय उडान र अवतरण प्रभावित बन्यो । वैकल्पिक विमानस्थलको अभावका कारण आजको समस्या सृजना भएको हो । नत्र वैकल्पिक विमानस्थलमा अन्यदेशबाट नेपाल छुटेका जहाजलाई नेपालमै अवतरण गराउन सकिन्थ्यो ।

नेपालमा सरदर दैनिक ९५ भन्दा बढि अन्तराष्ट्रिय उडान तथा अवतरण हुँदै आएको छ भने आन्तरिक उडान पनि ५० भन्दा बढी हुने गरेका छन् । यसको सम्पूर्ण भार नेपालको एकमात्र विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले धान्नुपरेको छ ।

सरकारले निजगड अन्तर्राष्ट्रिय विमानस्थललाई नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउन निर्माण कार्य अगाडि बढाएको छ तर त्यसले सार्थक रुप लिइसकेको छैन । यसरी देशमा वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलको अभाव हुँदा देशले अन्तर्राष्ट्रिय उडानलाई व्यवस्थित गर्न सकेको छैन भने भइपरी आउने जोखिम न्युनिकरण गर्नसमेत कठिन भएको अवस्था छ ।

मालिन्दो एयरको जहाजका कारण १३ घण्टासम्म विमानस्थल अवरोध हुँदासमेत कुनै वैकल्पिक व्यवस्थापन गरेर अन्तराष्ट्रिय उडान र अवतरणलाई सहज गर्नसक्ने अवस्था नेपालसँग भएन । वैकल्पिक विमानस्थलको अभावमा नेपालका लागि छुटेका विमान अन्य देशमा नै अवतरण गर्न बाध्य भए । त्यतिमात्र होइन काठमाण्डौबाट हुने आन्तरिक उडानसमेत प्रभावित रह्यो । यसको मुख्यकारण भनेको नै देशमा अन्तर्राष्ट्रिय विमानस्थल एउटा मात्र हुनु र वैकल्पिक विमानस्थल नहुनु हो ।

प्राविधिक त्रुटिका कारण आएको अवरोध र यात्रुलाई त्यसले पारेको समस्या जुन विमानस्थलमा आज देखिएको दृश्यबाट वैकल्पिक विमानस्थल चाँडोभन्दा चाँडो व्यवस्थापन गर्नु ढिला भइसकेको अवस्था छ । योसँगै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रिय उडान र अवतरणको केन्द्र मात्र बनाएर आन्तरिक उडानलाई अन्य स्थानमा स्थानन्तरण गर्नु पनि आवश्यक छ ।

त्रिभुवन विमानस्थलबाट आन्तरिक उडानलाई अन्यत्र सार्नसकेको खण्डमा अन्तर्राष्ट्रिय उडान र अवतरणको संख्या बढाउन सकिन्छ । यसले प्रत्यक्ष पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउँछ । साथै वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई चाँडो सम्पन्न गरेर सञ्चालनमा ल्याउन सकेमा अन्तराष्ट्रिय स्तरमा विग्रिएको छवि सुधार गर्न र नेपालको हवाई यात्रा कालोसूचीबाट हटाउन समेत सहायक हुन सक्नेछ । यसैले अब सरकारले वैकल्पिक विमानस्थललाई छिटो व्यवस्थापन गरी सञ्चालनमा ल्याउनु जरुरी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !