७ बैशाख २०८१, शुक्रबार

एडीबी र सरकारबीच ४० अर्ब ५८ करोडको ऋण सम्झौता


एडीबी र सरकारबीच ४० अर्ब ५८ करोडको ऋण सम्झौता

मंसीर २४, काठमाडौं । नेपाल सरकार र एशियाली विकास बैंक (एडीबी) बीच विभिन्न चार नयाँ परियोजना निर्माणका लागि ४० अर्ब ५८ करोड रूपैयाँको ऋण सम्झौता भएको छ। पोखरा-मुग्लिङ सडकको स्तरोन्नति, बागमती नदीको सुधार, साना किसानको आम्दानी बढाउन र कृषि तथा खाद्य सुरक्षाका लागि एडीबीसँग सरकारले सम्झौता गरेको हो । ऋण सहयोग सम्बन्धी सम्झौतामा आज नेपाल सरकारका तर्फबाट अर्थसचिव राजन खनाल र एडीबीका देशीय निर्देशक मुख्तोर खामुद्खानोभले हस्ताक्षर गरे।

कार्यक्रममा एडीबीका देशीय निर्देशक खामुद्खानोभले मुग्लिङ–पोखरा सडकको स्तरोन्नति गर्न १९ करोड ५० लाख अमेरिकी डलर, बागमती नदिमा बाढी व्यवस्थापन तथा नदीको सुधारका लागि ६ करोड ३० लाख डलर, साना किसानको आम्दानी बढाउन र कृषि तथा खाद्य सुरक्षाका लागि ५/५ करोड अमेरिकी डलर बराबरको ऋण सहयोग गरिएको बताए।

कार्यक्रममा अर्थसचिव खनालले पोखरा–मुग्लिङ सडकको स्तारोन्नतिका लागि २५ करोड ४० लाख अमेरिकी डलर अर्थात झण्डै २९ अर्ब रूपैयाँ बराबरको लागत लाग्ने बताए । त्यसमध्ये एडीबीको १९ करोड ५० लाख अमेरिकी डलर ऋण सहयोग र सरकारको ५ करोड ९० लाख अमेरिकी डलर बराबरको लगानी रहने जानकारी दिए।

उनले उक्त सडकखण्डको आँबुखैरेनीदेखि पोखरासम्मको ८१ किलोमिटर सडक चार लेनको बनाइने समेत बताए । अर्थसचिव खनालले सडकको स्तरोन्नति गरिएपछि पूवार्धारको विकास मात्र नभएर सुरक्षित यात्रा र पर्यटन विकासमा सहयोग पुग्ने प्रष्ट पारे। एडीबीले नेपालमा पूर्वाधार विकास, कृषि तथा ग्रामीण विकासका लागि सहयोग गर्दै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !