४ बैशाख २०८१, मंगलबार

२५ मेगावाट क्षमताको अपरमादीले मङ्सिरदेखि नियमित विद्युत् उत्पादन गर्ने


upper-madhi-hydropower

पोखरा, २ भदौ – कास्कीको सिल्दुजुरे गाविस–९ बाहुनडाँडामा निर्माणाधीन अपरमादी जलविद्युत् आयोजनाको ९८ प्रतिशत काम सम्पन्न भएको छ ।

मादी खोलाबाट निकालिने २५ मेगावाट क्षमताको सो आयोजनाले आगामी मङ्सिरदेखि नियमित रुपमा विद्युत् उत्पादन गर्ने आयोजनाको संयोजक राजकुमार बरालले जानकारी दिनुभयो ।

आयोजनाको चार हजार २०० मिटर सुरुङ खन्ने काम सकिएको छ । सुरुङभित्रको भागमा कङ्क्रिट लाइनिङ गर्ने काम ७० प्रतिशत सकिएको छ । विद्युत् लाइनलाई सव स्टेसनसम्म जोड्न ३२ वटा विद्युत् टावर निर्माण र त्यसमा तार तान्ने काम सम्पन्न भएको छ ।

रु पाँच अर्ब २८ करोड स्वदेशी तथा वैदेशिक सहयोग जुटाइ निर्माण सुरु गरिएको सो आयोजना निर्माण अवधिमा नाकाबन्दी, मधेस आन्दोलन, भूकम्प र सुरुङ खन्ने क्रममा पहिरो गएकाले लागत बढेर रु आठ अर्ब पुगेको बरालको भनाइ छ ।

कुल लागतमध्ये आयोजनाका कार्यकारी अध्यक्ष विजय मल्लको २० प्रतिशत र चाइना ‘थ्री’ गर्जेज कर्पोरेसनको ८० प्रतिशत लगानीमा विसं २०६९ पुस महिनाबाट सो आयोजना निर्माण सुरु गरिएको हो । तीस महिनामा सक्ने लक्ष राखिए पनि ४८ महिनासम्ममा समेत निर्माण कार्य सम्पन्न हुन सकेको छैन । रासस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !