
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै नाफा नबिल बैंकले कमाएको छ । उक्त बैंकले ३ अर्ब २४ करोड रुपैयाँ नाफा कमाउँदा एनआईसी एशिया बैंकको सबैभन्दा कम अर्थात् १५ करोड १७ लाख रुपैयाँ कमाएको उल्लेख छ ।
हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । उक्त विवरण हेर्दा समग्रमा वाणिज्य बैंकहरुको नाफामा गिरावट आएको छ ।
यस अवधिमा वाणिज्य बैंकहरुले २७ अर्ब ४३ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.६२ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकहरुले २८ अर्ब ७६ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।
पुस मसान्तसम्म ९ वाणिज्य बैंकको नाफा घटेको छ । नाफा घट्नेमा एनआइसी एशिया बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, नेपाल बैंक, सिटिजन्स इन्टरनेशनल बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, प्राइम कमर्सियल बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेका छन् ।
सबैभन्दा बढी नाफा घट्नेमा एनआईसी एशिया बैंक छ । यो बैंकको नाफा पुस मसान्तसम्म ९२.०३ प्रतिशतले घटेको छ । एनआईसी एशियाले गत वर्षको पुससम्म एक अर्ब ९० करोड ३८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यो बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा १५ करोड १७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
कुमारी बैंकको नाफा ६८.२० प्रतिशतले घटेको छ । यो बैंकले पुस मसान्तसम्म २७ करोड ५७ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको पुस मसान्तसम्म बैंकले ६८ करोड ७२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
११ वाणिज्य बैंकको नाफा बढेको छ । यो अवधिमा सर्वाधिक नाफा वृद्धि प्रतिशतका आधारमा प्रभु बैंकले गरेको छ । यो बैंकको नाफा ८५.४९ प्रतिशतले बढेको छ । तर सबैभन्दा बढी नाफा (रकम) नबिल बैंकले गरेको हो । गत वर्षको पुससम्मको नबिलको नाफा १.२९ प्रतिशतले वृद्धि भएको हो ।
बैंकहरूको खराब कर्जा बढ्दै गएकाले नाफामा कमी देखिएको हो । पछिल्ला दिनमा बैंकले प्रवाह गरेको ऋण उठाउन नसक्दा त्यसको असर दोस्रो त्रैमासको वित्तीय विवरणमा देखिएको हो ।