६ बैशाख २०८१, बिहिबार

शेयर कारोबार मापक नेप्से परिसूचकको पहिरो रोकिएन


घट्यो नेप्से

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि लगातार ओरालो लागेको कारोबार मापक परिसूचक मङ्गलबार ४५.५९ अङ्कले ओरालो लागेर दुई हजार २०.२३ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोकार मापन गर्ने सेन्सेटिभ परिसूचक ११.२४ अङ्कले ओरालो लागेर ३८९.१२ मा ओर्लेको छ ।

कूल २३४ कम्पनीको ३८ लाख ८७ हजार ७४८ कित्ता शेयर रु एक अर्ब ३१ करोड २८ लाख ६ हजार ५६३ मूल्यमा खरिद बिक्री भए । मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण समेत न्यून भई रु २८ खर्ब ७७ अर्ब असी करोड करोड ३२ लाख ५० हजार बराबर भएको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु ६ करोड ११ लाख ८८ हजार ६८३ बराबरको कारोबार भयो । यस्तै, कुमारी बैंक रु पाँच करोड ८८ लाख २४ हजार, हिमालयन डिस्टिलरी रु तीन करोड ७५ लाख २० हजार २२४, शिवम् सिमेन्ट रु तीन करोड २० लाख ७७ हजार र नबिल बैंक रु दुई करोड ९० लाख ४६ हजार ५९७ बराबरको कारोबार भई शीर्ष पाँच भित्र परेका छन् ।

नेप्सेका अनुसार ओरालो लागेको बजारमा उपकार लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लाग्यो । बलेफी हाइड्रोपावर ९.९८, माउण्टेन हाइड्रो नेपाल ३.८२, नारायणी डेभलपमेन्ट बैंक ३.७२ र आरबीबी म्युचुअल फण्ड एकका लगानीकर्ताले ३.७० प्रतिशतले कमाएका छन् । त्यस्तै, हिमालयन बैंक ९.९७, सपोर्ट माइक्रोफाइनान्स ५.९९, समता घरेलु लघुवित्त ५.६३, जनउत्थान सामुदायिक लघुवित्त ५.५१ र एनएमबी– ५० का लगानीकर्ताले ५.५१ प्रतिशतले गुमाए ।

उता शेयर बजारको सुधारको माग राख्दै केही समूहले आज नेपाल स्टक एक्सचेञ्जको कार्यालय परिसर भद्रकाली प्लाजामा प्रदर्शन गर्न खोजेका थिए । निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेको भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !