७ बैशाख २०८१, शुक्रबार

राष्ट्र बैंकद्वारा क्रेडिट कार्ड प्रयोगमा कडाइ, अब नगद झिक्न र ट्रान्सफर गर्न नपाइने


क्रेडिट कार्ड

काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रेडिट कार्डको प्रयोगमा कडाइ गरेको छ । प्रयोगकर्ताले क्रेडिट कार्डको दुरुपयोग गरेको भन्दै राष्ट्र बैंकले कडाइ गरेको हो । क्रेडिट कार्डबाट नगद झिक्न र बैंक खातामा ट्रान्सफर गर्न नपाइने भएको छ ।

राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन-२०७८ संशोधन गरी वालेटमा रकम लोड गर्दा अनिवार्य प्रयोजन खुलाउनुपर्ने व्यवस्था गरेको छ । भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०७८ मा संशोधन/थप गर्दै नेपाल राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।

सामान्यतया क्रेडिट कार्डबाट नगद कारोबार गर्न पाइँदैन । तर अत्यावश्यक परेको अवस्थामा कार्डको स्वीकृत सीमाको १० प्रतिशतसम्म नगद झिक्न पाइन्छ । यस्तो सीमा हुँदाहुँदै पनि क्रेडिट कार्ड प्रयोगकर्ताले सतप्रतिशत नगद झिक्ने प्रवृत्ति बढेकाले यसलाई रोक्न कडाइ गरेको हो ।

बैंकले क्रेडिट कार्डमार्फत् वालेटमा लोड गरिएको रकम वस्तु तथा सेवाको विद्यतीय भुक्तानीको लागि मात्र प्रयोग गर्नुपर्ने जनाएको छ । उक्त रकम बैंक खातामा ट्रान्सफर गर्न र नगद झिक्न नमिल्ने व्यवस्था गर्न भुक्तानी सेवा प्रदायक संस्थालाई निर्देशन दिइएको छ ।

ग्राहकहरुले कार्डको रकम वालेटमा लोड गर्दै आफ्नै बैंक खातामा पठाउने गरेको पाइएको छ । क्रेडिट कार्डमार्फत् वालेटमा लोड गरिएको रकम वस्तु तथा सेवा विद्युतीय भुक्तानीका लागिमात्र प्रयोग गर्नुपर्ने छ ।

यसैगरी बैंकले विद्युतीय वालेटमा ग्राहकको खाता खोल्दा तथा ग्राहक पहिचान विवरण अद्यावधिक गर्दा ‘पेश गरेको विवरण ठिक साँचो रहेको तथा सो विवरण झुटो ठहरिएमा कानुन बमोजिम सहुँला/बुझाउँला’ भन्ने व्यहोराको विद्युतीय रुपमा स्वःघोषणा गर्न लगाउनुपर्ने व्यवस्था पनि गरिएको छ ।

यस्तो छ हेर्नुहोस् नेपाल राष्ट्र बैंकले निकालेको सूचना

नेपाल राष्ट्र बैंकले निकालेको सूचना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !