४ बैशाख २०८१, मंगलबार

मुख्य सचिव बैरागी भन्छन्- मुलुकको अर्थतन्त्र डरलाग्दो अवस्थामा पुगेको छैन


शंकरदास बैरागी

काठमाडौं । नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले मुलुकको अर्थतन्त्र डरलाग्दो अवस्थामा नपुगेको दावी गरेका छन् । उनले बाहिर संचारमाध्यममा आएजस्तो मुलुकको अर्थतन्त्र डरलाग्दो नभएको जिकिर गरेका हुन् ।

नेपाल चेम्बर कमर्शको ७१ औं वार्षिकोत्सवका अवसरमा आज आइतबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दै उनले मुलुकको अर्थतन्त्रलाई नयाँ ढंगले अघि बढाउन सक्षम छौं भन्ने विश्वासका साथ काम गर्नुपर्ने पनि बताए ।

यसका लागि आयातमा देखिएको संकट समाधान गर्दै मुलुकमा पर्यटक भित्र्याउने खालका कामलाई तीव्रता दिनुपर्नेमा उनले जोड दिए । उनले यसका लागि आयातमा देखिएको संकट समाधान गर्दै मुलुकमा पर्यटक भित्र्याउने खालका कामलाई तीव्रता दिनुपर्नेमा जोड समेत दिएका छन् ।

यद्यपि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज आइतबार नेपाल राष्ट्रिय शिक्षक संगठनको राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै अपराधी गठबन्धनले देश बर्बाद बनाउँदै गरेको भनेर आक्रोश व्यक्त गरेका छन् ।

उनले पटक-पटक देश श्रीलंका जस्तो हुन थालेको दोहोर्याएका थिए । उनले अहिले नै अर्थतन्त्र ध्वस्त भइसकेको भन्दै देश असल राष्ट्रतर्फ उन्मुख भई रहेको समेत बताए । उनले अहिले देशको पैसा बाहिर बाहिरै कारोबार भइरहेको दाबी गर्दै उतै भुक्तानी हुने, तर देशभित्र पैसा नआउने गरेको बताए ।

त्यस्तै नेकपा एमालेको प्रचार विभागले गरेको पत्रकार सम्मेलनमा तीन पूर्वअर्थमन्त्रीहरु विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज खतिवडाले मुलुकको अर्थतन्त्रको खस्किन नदिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

हाल व्यापार घाटा बढेको र अहिलेकै अवस्था कायम रहे यो आर्थिक वर्षको अन्त्यसम्ममा व्यापार घाटा रु २० खर्ब नाघ्ने अनुमान पनि उनीहरुले गरेका छन् । उनीहरुले गभर्नर अधिकारीमाथि गरिएको निलम्बनको निर्णयको चर्को विरोध पनि गरेका छन् ।

तीन पूर्वअर्थमन्त्रीहरुद्वारा जारी संयुक्त प्रेस विज्ञप्तिमा एमालेले सरकार छोडेको ९ महिनामै अर्थतन्त्र तहसनहस बनाइएको र प्रतिस्थापन बजेटमार्फत विकासका कामसमेत अवरुद्ध पारिएको आरोप समेत लगाएका छन् । एमालेले ९ महिनाअघि आफूले सरकार छोड्दा देशको अर्थतन्त्रका सबै सूचक राम्रो रहेको दावी समेत गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !