नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको मर्जर प्रक्रिया भाँडियो Nepalpatra नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको मर्जर प्रक्रिया भाँडियो
११ माघ २०७८, मंगलबार

नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको मर्जर प्रक्रिया भाँडियो


नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको मर्जर प्रक्रिया भाँडिएको छ । आज शुक्रबार बसेको हिमालयन बैंकको साधारण सभाको बहुमत सदस्यले मर्जरको विरुद्धमा मत राखेपछि यी दुई बैंक बीच हुने भनिएको मर्जर प्रक्रिया भाँडिएको हो ।

आज शुक्रबार भएको हिमालयन बैंक सञ्चालक समितिको बैठकले इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने विशेष प्रस्ताव अस्वीकृत गरेसँगै दुई बैंकको मर्जर प्रक्रिया असफल भएको हो । मर्जर सम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको ९ महिनापछि यी बैंकको मर्जर प्रक्रिया तोडिएको हो ।

राष्ट्र बैंकबाट मर्जरका लागि सैद्धान्तिक सहमति लिएपछि पनि मर्जर नगर्ने भएपछि हिमालयन बैंक राष्ट्र बैंक कारबाहीमा पर्ने भएको छ । लामो समयसम्म मर्जरका लागि भएको पहल अन्तिम समयमा आएर भाँडिएसँगै राष्ट्र बैंक दुबै बैंकसँग रुष्ट भएको हो ।

यसअघि यी दुई वाणिज्य बैंकहरबीचको मर्जरका लागि भएको प्रयासमा सम्पति मूल्याङ्कनमा इन्भेष्टमेन्ट बैकको बढी र हिमालयन बैंकको कम मूल्यांकन गरिएको भन्दै विवाद हुँदै आएको थियो । मर्जर सम्बन्धी विनियमावली अनुसार राष्ट्र बैंकले हिमालयन बैंकलाई तीन वर्षसम्म थप शाखा खोल्न नदिनेसहित केन्द्रीय बैंकबाट प्रदान हुने सेवा सुविधा प्राप्त गर्न वा दुवैमा रोक लगाउन सक्नेछ ।

बैङ्क तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ को विविध व्यवस्थामा कारबाही सम्बन्धी व्यवस्था उल्लेख गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !