८ बैशाख २०८१, शनिबार

नारेश्वर तालमा एक करोड मुआब्जा वितरण


करोड

तनहुँ । व्यास नगरपालिका–१० मा निर्माण गर्न लागिएको नारेश्वर तालका लागि जग्गा अधिग्रहण गरिएका उपभोक्ताहरुलाई नगरपालिकाले रु एक करोड ३७ लाख ६० हजार ५०५ मुआब्जा वितरण गरेको छ ।

नगरपालिकाले ताल निर्माणका लागि करीब २५ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । आन्तरिक एवं बाह्य पर्यटकलाई जलविहार गराउने उद्देश्यले ताल निर्माण गर्न लागिएको नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । गत वर्ष र यस वर्ष गरी २० जनालाई रु एक करोड ३७ लाख ६० हजार ५०५ वितरण गरिएको वडाध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिनुभयो । बढी मुआब्जा पाउनेमा रु १० लाखसम्म रहेको उहाँले बताउनुभयो ।

उपभोक्ताको २५ र ऐलेनी जग्गा करीब २० रोपनी गरी कूल ४५ रोपनी क्षेत्रफलमा ताल निर्माण गर्न लागिएको छ । यसका लागि गण्डकी प्रदेश सरकारले रु एक करोड १५ लाख बजेट विनियोजन गरिसकेको बताइएको छ । देवीडाँडा पर्यटन प्रवद्र्धन विकास समिति र नारेश्वर ताल पर्यटन प्रवद्र्धन विकास समिति बनाएर वडालाई कृषि एग्रो टुरिजम क्षेत्र बनाउन लागेको हो ।

पर्यटन प्रवद्र्धनका लागि ऐतिहासिक पर्यटकीयस्थल देवीडाँडामा वनभोजस्थल र भ्यू टावर निर्माण गरेर फूलै फूलको बगैँचा बनाउने योजनाअनुरुप काम भइरहेको वडाध्यक्ष सापकोटाले बताउनुभयो । “सो स्थानमा अहिले सार्वजनिक शौचालय र ट्रष्ट निर्माण गर्ने काम भइरहेको छ”, उहाँले भन्नुभयो, “उक्त स्थानबाट सिधै फुड ट्र्याक बनाएर खहरेस्थित छाङ्ग बाराही मन्दिर जोड्ने लक्ष्य रहेको छ ।” ४० फिट अग्लो उचाइको भ्यू टावर निर्माणका लागि डिपिआर तयार भइसकेको उल्लेख गर्दै वडाध्यक्ष सापकोटाले सो टावर निर्माणका लागि नगरपालिकाले रु १५ लाख बजेट समेत विनियोजन गरिसकेको जानकारी दिनुभयो ।

व्यासमार्ग हुँदै पर्यटकहरु छाङ्ग बाराही मन्दिरको अवलोकनपश्चात् निर्माण गरिएको सिँढी चढ्दै देवीडाँडा पुग्न सकिनेछ । देवीडाँडामा निर्माण गरिएको भ्यू टावरबाट दृश्य अवलोकनपश्चात् दुम्सीचौरस्थित कालिका मन्दिरको दर्शन गरी थालीडाँडा होमस्टेमा पुगेर बास बस्ने व्यवस्था मिलाइने व्यवस्था गर्न लागिएको बताइएको छ ।

भ्यू टावरबाट जिल्लाको अधिकांश भाग देख्न सकिन्छ । पहाडकी रानी नामले परिचित बन्दिपुर, दमौली, फराकचौर, गजौडे, मादी, दरबार, मिर्लुङकोट, क्यामिनकोट, मानुङकोट र गलेखामकोटलगायत स्थानको अवलोकन गर्न सकिन्छ ।

नारेश्वर तालमा जलविहार गराई तालघरे मार्ग हँुदै पृथ्वीराजमार्गमा पुगेर पर्यटकहरु गन्तव्यमा पुग्न सक्नेछन् । तालमा डुङ्गा चलाउने, तालको दायाँबायाँ कटेज तथा फुड ट्र्याक बनाउने कालिका जङ्गलमा रिसोर्ट निर्माण गर्नेलगायत संरचना निर्माण गरिनेछ । “ताल निर्माणको प्रक्रिया बल्ल सकिएको छ”, उहाँले भन्नुभयो ।

व्यापारिक केन्द्र भएन सञ्चालन

पशुपन्छी तथा कृषि बजार व्यवस्थापनका लागि बन्दिपुर गाउँपालिका–४ डुम्रे बजारस्थित निर्माण गरिएको व्यपारिक बजार केन्द्र सञ्चालनमा आउन सकेको छैन । डुम्रे भन्सार नयाँ शहर आयोजनाले व्यपारिक बजार केन्द्र निर्माण गरेर गाउँपालिकालाई बुझाएको झण्डै डेढ वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन नसकेको हो ।

अव्यवस्थितरुपमा पशुपन्छी र कृषि बजार सञ्चालन हुँदा बजार क्षेत्रमा दुर्गन्ध बढ्नाका साथै अशोभनीय देखिएकाले त्यसका लागि छुट्टै व्यवस्थित बजार बनाउन लागेको हो । आयोजनाले विसं ०७४ जेठ १० गते सम्झौता गरी विसं ०७६ जेठ ७ मा सो केन्द्रको निर्माण सम्पन्न गरेको थियो । विसं ०७६ असोज ९ गते सो केन्द्र गाउँपालिकालाई हस्तान्तरण गरिसकेको आयोजनाका इन्जिनीयर मनोज पन्थले जानकारी दिनुभयो ।

शुरुका दुईतीन महिना भाडा नलिने र त्यसपछि भाडादर कायम गरेर भए पनि व्यवसाय सञ्चालनका लागि गाउँपालिकाले पहल थाल्नुपर्ने अवस्था देखिएको उहाँले बताउनुभयो । रु एक करोड १६ लाख १० हजार ५६९ लागतमा तरकारी बजारका लागि ११ र मासु बजारका लागि पाँचवटा सटर निर्माण गरिएको उहाँले बताउनुभयो ।

करीब पाँच रोपनी सार्वजनिक क्षेत्रफलमा पशु र तरकारी पसललाई व्यवस्थित गर्नका लागि बजार केन्द्र निर्माण गरिएको हो । किसानले उत्पादन गरेका कृषि उपजको बजारीकरण सहज गराउने उद्देश्यले भवन निर्माण गरिएको बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताउनुभयो । सोही स्थानमा बन्दिपुर गाउँपालिकाले समेत रु ३२ लाखको लागतमा व्यापारिक प्रयोजनका लागि सटरहरु बनाएको छ । सङ्घीय सरकारको रु तीन करोडको लागतमा सो स्थानमा चिस्यान केन्द्र निर्माण गर्नका लागि पहिलो वर्ष रु एक करोड विनियोजन भइसकेको अध्यक्ष थापाले बताउनुभयो ।

हाल निर्माण गरिएको बजार केन्द्र एकान्त स्थान भएकाले व्यापार नहुने डरले पनि व्यवसायीहरु त्यहाँ जानका लागि चासो नदेखाएको हुन सक्ने गाउँपालिका कार्यालयले जनाएको छ । पृथ्वीराजमार्ग विस्तार गर्ने अभियानपछि मात्रै उक्त स्थानमा व्यापारीहरु जान सक्ने अवस्था देखिएको बताइएको छ ।

कारागारबाट २५ कैदीबन्दी स्थानान्तरण

जिल्ला कारागारबाट २५ कैदीबन्दीलाई स्थानान्तरण गरिएको छ । आइतबार दिउँसो कारागारभित्र कैदीबन्दीबीच झडप भएपछि बसेको सुरक्षा निकायको बैठकले २५ जनालाई अन्यत्र स्थानान्तरण गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी सागर आचार्य, प्रहरी उपरीक्षक अरुण पौडेलसहित सुरक्षा निकायका प्रमुखहरुको बैठकले झडप र विवादमा संलग्न कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गर्ने निर्णयबमोजिम राति नै उनीहरुलाई स्थानान्तरण गरिसकिएको निमित्त जेलर नारायण अधिकारीले जानकारी दिनुभयो । “दुई समूहबीच भएको विवादका कारण सामान्य झैझगडा भएको हो, सो घटनामा ६ जना घाइते भएकामा उपचारपश्चात् उनीहरु डिस्चार्ज भइसकेका छन्”, अधिकारीले भन्नुभयो ।

कारागारमा केही समय अगाडि स्थानान्तरण भई आएका कैदीबन्दीका कारण झगडा भएको कारागार स्रोतले जनाएको छ । नाइके फेर्नुपर्ने मागमा विवाद हुँदा दुई समूहबीच झडप भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !