११ बैशाख २०८१, मंगलबार

महिला लघुवित्तको आईपीओ बाँडफाँट : नतिजा कसरी हेर्ने ? तपाईलाई पर्यो कि परेन ?


महिला लघुवित्तको आईपीओ बाँडफाँट

काठमाडौँ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणमा बिक्री गरेको प्राथमिक सेयर (आईपीओ) बाँडफाँड भएको छ । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गका अनुसार सर्वसाधारणमा बिक्री गरेको आइपीओ आज फागुन १४ गते शुक्रबार कम्पनीको कार्यालयमा बाँडफाँड गरिएको हो ।

१५ लाख ४० हजार ३५ जना आवेदकहरुमध्ये गोलाप्रथाबाट ३७ हजार ५०० भाग्यमानी लगानीकर्तालाई प्रतिव्यक्ति १० कित्ताका दरले आईपीओ बाँडफाँट गरिएको छ । १५ लाख ४० हजार ३५ जना आवेदकबाट २ करोड ३७ लाख ४७ हजार ५९० कित्ता शेयर खरिदको लागि आवेदन परेको थियो ।

मागभन्दा धेरै आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताका दरले शेयर वितरण गरिएको हो।महिला लघुवित्तले माघ ३० गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने फागुन ५ गते अन्तिम दिन थियो ।

लघुवित्तले जारी पूँजी १० करोड रुपैयाँको ४० प्रतिशतले हुन आउने रकम ४ करोड रुपैयाँ बराबरको प्रति कित्ता १०० अंकित दरका ४ लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो । निष्काशन गरिएको कुल शेयरमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।

त्यसैगरी, सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ३ लाख ७५ हजार कित्ता साधारण शेयरका लागि आवेदन खुलाइएको थियो ।

आईपीओ बाँडफाँट भएपनि एकदम बढी ट्राफिकका कारण नतिजा हेर्न भने समस्या भएको छ । यसअघि आईपीओको नतिजा विभिन्न संचारमाध्यमबाट सार्वजनिक हुने गरेको थियो । धितोपत्र बोर्डको निर्देशनमा सीडीएससीले संचार माध्यममा नतिजा सार्वजनिक गर्न रोक लगाएपछि नतिजा हेर्न समस्या आएको छ ।

महिला लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । सर्वसाधारणले मेराे शेयर, कम्पनीकाे वेबसाइटबिक्री प्रबन्धककाे वेबसाइटमा गइ नतिजा हेर्न सक्नेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !