४ बैशाख २०८१, मंगलबार

सुन्तला बियाँबाट कमाइ


पाल्पा, १०असार । सुन्तलाको बियाँ बीउका लागि सुरक्षितसाथ संकलन गर्न सके राम्रो गर्न सकिन्छ । रैनादेवी छहरा गाउँपालिकाका सुन्तला किसान बन्दाबन्दी अवधिमा सुन्तलाको बीउबाट उत्पादित बिरुवाको कारोबारबाट राम्रो आम्दानी गरी नमूना बनेका छन् ।

रैनादेवी छहरा–४,सल्लेधाराका ददीराम पोखरेलले झण्डै चार हजार सुन्तला र कागतीको बिरुवाबाट करीब रु दुई लाख आम्दानी भएको बताउनुभयो । सुन्तला, कागती, जुनारलगायत बिरुवाको बगनासकाली र रैनादेवी गाउँपालिकाबाट ठूलो मात्रामा माग भएको छ ।

एउटा सुन्तला र कागतीबाट आठदश बिरुवा हुर्काउन सकिने हुँदा पैसा कमाउना लागि दुःख नै नभएको उहाँले बताउनुभयो । प्रतिसुन्तला र कागतीका विरुवा रु २५ र कलमी विरुवा रु ४५ मा घरबाट नै कारोबार हुँदै आएको उहाँ बताउनुहुन्छ ।

रैनादेवी छहरा गाउँपालिकाको अम्लाबासका मनबहादुर बगालेले पनि बन्दाबन्दी अवधिमा आठ नौ हजार सुन्तला विरुवाको कारोबार भएको बताउनुभयो । गत वर्ष असारसाउनमा मात्र बिरुवाको बिक्री हुने गरेकामा यस वर्ष जेठमै विरुवा सकिएको बगालेले बताउनुभयो ।

गाउ फर्केका युवा अहिले आफ्नै घरबारीमा सुन्तला, कागती, जुनार जस्ता बोटविरुवा लगाउन व्यस्त छन् । रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्की व्यावसायिक रुपमा सुन्तला किसानलाई अनुदानमा बिरुवा वितरण गर्ने योजना रहेको बताउनुभयो । गाउँपालिकाले बाँझो जमीनमा अन्न तथा फलफूल किसानलाई रु तीन हजारदेखि पाँच हजारसम्मको अनुदानको व्यवस्था गरेकाले युवाहरु सुन्तला तथा कागती खेतीप्रति आकर्षित देखिएको उहाँ बताउनुहुन्छ ।

जिल्लामा वार्षिक पाँच हजार ६६० टन सुन्तला उत्पादन हुँदै आएको छ । गत आर्थिक वर्षमा मात्र जिल्लाले करीब रु ११ करोड आम्दानी गर्न सफल भयो । पाल्पामा ८५३ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको कृषि ज्ञान केन्द्र पाल्पा प्रमुख शिव अर्यालले बताउनुभयो । पाल्पामा उत्पादित सुन्तलाका बिरुवा म्याग्दी, पर्वत, बालुङलगाया जिल्लामा ठूलो मात्रामा निर्यात हुँदै आएको छ । गत आव २०७५।०७६ मा सुन्तला तथा फलफूल विकास केन्द्र पाल्पाले बाहिरी जिल्लामा निर्यात गरी रु आठ लाख आम्दानी गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !