७ बैशाख २०८१, शुक्रबार

मादी नदीमाथि ज्याम्दुको पुल निर्माण सम्पन्न


पुल

पोखरा, २८ जेठ । कास्कीको मादी गाउँपालिका–३ र ७ जोड्ने मादी नदीमाथि ज्याम्दुको मोटरेबल पुल निर्माण सम्पन्न भएको छ ।

प्रदेश सरकार पूर्वाधार विकास कार्यक्रमअन्तर्गत रु आठ करोड ६९ लाख लागतमा निर्माण भएको सो पुल पोखराबाट मादी गाउँपालिकाको केन्द्र याङजाकोट जोड्ने सडकखण्डमा पर्दछ । तीन वर्षको अवधिमा निर्माण सम्पन्न गर्ने गरी विसं २०७२ मा मृत सञ्जीवनी निर्माण सेवा हेटौँडाले जिम्मा लिएको सो पुलको लम्बाइ ८३ मिटर र चौडाइ साढे सात मिटर रहेको छ ।

पुल निर्माणसँगै एकतर्फ ज्याम्दु, तारकाङ हुँदै गाउँपालिकाको केन्द्र याङजाकोट र अर्कोतर्फ पर्यटकीय गाउँ ताङतिङसम्म वर्षभरि नै यातायातको सुविधा पुग्ने गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम) ले जानकारी दिनुभयो । पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य खगराज अधिकारी, प्रदेशसभा सदस्य मनबहादुर गुरुङलगायत गाउँपालिकाका निर्वाचित जनप्रतिनिधि तथा स्थानीय समाजसेवीको सक्रियतामा पछिल्लो समय पुल निर्माणले मूर्तरुप लिएको उहाँको भनाइ छ ।

पुलको मुखबाट याङजाकोट र ताङतिङसम्म पुग्नका लागि गाउँपालिकाले सडक स्तरोन्नति गरिएको छ, उहाँले भन्नुभयो, “सङ्घ र प्रदेश सरकारको लगानीमा विजयपुर खोरा र मादी नदीको विभिन्न स्थानमा निर्माणाधीन पक्कीपुल सम्पन्न भएसँगै सो क्षेत्रका जनताको मुहार फेरिनेछ ।

अहिले पुलको दुवैतर्पm सहज बाइपासका लागि कटिङ गरी फिलिङको काम भइरहेको छ । पुल नबन्दा मादीमा अस्थायी पुल निर्माण गरेर हिउँदको समयमा मात्र यातायातको सुविधा पुग्ने गरेको थियो । सो पुललगायत मादी गाउँपालिकास्थित विकास निर्माणका योजनाको जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीसहितको टोलीले अनुगमन गरेर जानकरी लिएको थियो ।
–––


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !