१२ बैशाख २०८१, बुधबार

बन्दाबन्दीले रोकिएन धार्चेको विकास निर्माण


gorkha himpat

गोरखा, १६ जेठ । देशभर बन्दाबन्दीको अवस्था छ । निर्माण सामग्री ढुवानीमा समस्या र मजदुरको अभावका कारण गोरखा जिल्लामा धेरैजसो विकास निर्माणको काम रोकिएका छन् । तर जिल्लाकोे धार्चे गाउँपालिकाले भने बन्दाबन्दीको समयमा पनि विकास निर्माणको कामलाई तीव्रता दिइएको छ ।

कोरोना भाइरसको बढ्दो जोखिमका बीच गाउँपालिकाले सामाजिक दूरी कायम गरी विकास निर्माणको कामलाई निरन्तरता दिएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिनुभयो ।

गाउँपालिकाले सडक निर्माण, विद्यालय भवन निर्माण, खानेपानी आयोजना निर्माण, गोरेटो बाटो निर्माणलगायतका विकास निर्माणका कामलाई प्राथामिकता दिएर अघि बढाएको उहाँले बताउनुभयो । “स्थानीय जनशक्ति र स्रोत साधन परिचालन गरेर निर्माण गर्न सकिने योजनालाई गाउँपालिकाले निरन्तरता दिँदै आएको छ”, उहाँले भन्नुभयो, “सकभर विकासका काम प्रभावित नहोस् भन्ने हामी सचेत छाँै ।” “स्वास्थ्यसम्बन्धी मापदण्डलाई पनि कायम गरेका छौं”, उहाँले भन्नुभयो, “गाउँपालिका तथा विभिन्न गैरसरकारी संस्थाअन्तर्गत भइरहेको कामलाई निरन्तरता दिँदै विकास निर्माणका काम पनि भइरहेका छन् ।”

चालू आर्थिक वर्षभित्र सम्पन गर्नुपर्ने विकासका काम बन्दाबन्दीका कारण अधुरो रहन नदिन स्थानीय जनशक्ति परिचालन गरी काम अघि बढाएको दावी अध्यक्ष गुरुङको छ । गाउँपालिकाभित्र अहिले काशीगाउँ र केरौजा जोड्न सडक निर्माण, वडा नं १ देखि ३ सम्मको उहिया जाने सडक निर्माणको काम धमाधम भइरहेको उहाँको भनाइ छ । त्यस्तै पहिरोको जोखिममा रहेको केरौजा गाउँको बस्तीलाई सुरक्षित गर्न टेवा पर्खाल लगाउने काम, मणिकादेवी मावि, सूर्योदय माविको भवन निर्माणको काम पनि भइरहेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

“बन्दाबन्दीकै अवधिमा पालिकाभित्र वडा नं ४ को लाप्राक गाउँदेखि वडा नं ५ को सिङ्ला जोड्ने सडक निर्माणको कामलाई पनि निरन्तरता दिँदै आएका छौँ, उहाँले भन्नुभयो, “निर्माणाधीन माछाखोला हाइड्रोपावरको काम पनि अहिले भइरहेको छ ।” त्यस्तै पालिकाभित्र निर्माणाधीन बहुउद्देश्यीय भवन, काशीगाउँमा बहुउद्देश्यीय सभाहल निर्माण र खानेपानी आयोजनाको कामसमेत निर्वाधरूपमा सञ्चालन भइरहेको उहाँले बताउनुभयो ।

बन्दाबन्दीका समयमा समेत विकास निर्माणका कामलाई निरन्तरता दिने सरकारको निर्णयानुसार गाउँपालिकाले जिल्ला सुरक्षा समिति तथा कोरोना विपद् व्यवस्थापन केन्द्रले कायम गरेको सामाजिक दूरीलगायत स्वास्थ्यसम्बन्धी मापदण्डभित्र रही विकास निर्माणको कामलाई निरन्तरता दिइएको अध्यक्ष गुरुङको भनाइ छ । काम सञ्चालन भए पनि निर्माण सामग्रीको अभावमा भने पटक–पटक समस्या झेल्नुपरेको उहाँले बताउनुभयो ।

“पालिकाभित्र बन्दाबन्दी अवधिमा भइरहेका विकास निर्माणका काममा सबै स्थानीय मजुदर परिचालन गरेका छाँै”, अध्यक्ष गुरुङले भन्नुभयो, “उनीहरुको नियमित स्वास्थ्य परीक्षणसमेतको व्यवस्था गरी काम त अघि बढाइएको छ, तर अब निर्माण सामग्री सकियो र इन्धन सकियो भने कसरी ल्याउने भन्ने चिन्ताको विषय त छँदैछ ।” बन्दाबन्दीको समयमा गाउँपालिकामा भइरहेका कामको अनुगमनका लागि पनि समस्या भइरहेको उहाँले गुनासो छ ।

गाउँपालिका क्षेत्रभित्र पर्ने बेनीघाट आरुघाट लार्के सडक निर्माण तथा स्तरोन्नतिको काम पनि सेनाले निर्वाध रुपमा सञ्चालन गरिरहेको छ । “चालू आर्थिक वर्षको अन्तिम हुन लागिसक्यो, विकास निर्माणका सबै काम ठप्प पारेर बस्दा पनि सबै काम एक वर्ष पछाडि धकेलिन्छ”, अध्यक्ष गुरुङले भन्नुभयो, “स्वास्थ्य सुरक्षालाई प्राथामिकता दिएर विकासलाई पनि अगाडि बढाउँदै स्थानीय स्रोत, साधन र जनशक्तिको भरपुर उपयोग गर्ने नीतिका साथका गाउँपालिका अघि बढिरहेको छ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !