८ बैशाख २०८१, शनिबार

पेप्सीकोला सल्लाघारी सडकमा १२ प्रतिशत मात्रै काम


Road Construction

२६ चैत, काठमाडौँ । पेप्सीकोलाबाट सल्लाघारीसम्मको सडक विस्तारको भौतिक प्रगति ठेक्का सम्झौता भएको दुई वर्षमा १२ प्रतिशत मात्रै भएको छ । मापदण्डअनुसार सडक खाली नहुँदा भौतिक प्रगति न्यून भएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले बताएको छ ।

बाहखा बजारबाट सल्लाघारीतर्फका घर भत्काउनुपर्ने भए पनि स्थानीयवासीको अवरोधका कारण नसकिएको आयोजनामा कार्यरत इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले बताउनुभयो । काठमाडौँ उपत्यका नगर विकास प्राधिकरणले सडक खाली गराउनुपर्ने भए पनि गर्न सकेको छैन । उहाँले भन्नुभयो, “स्थानीयवासीले घरको मात्रै नभएर जग्गाको समेत मुआब्जा माग गरिरहेकाले काममा अवरोध पुगेको हो ।”

नेपाल सरकारको जग्गाको मुआब्जा दिने व्यवस्था नहुँदा काम अघि बढ्न नसकेको इञ्जिनीयर श्रेष्ठले बताउनुभयो । मुआब्जा विवादका कारण अवरुद्ध सडक निर्माण अघि बढाउन जनप्रतिनिधिले पहल गरे पनि प्रगति नभएको उहाँको भनाइ छ । स्थानीयवासीले सङ्गठितरूपमा मुआब्जाको माग गरिरहेका छन् । सडक निर्माण ढिलाइमा ठेकेदारको गल्ती नभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी आफैँले नै काम गर्ने ‘साइट’ खाली गरिदिन सकेका छैनौँ ।”

चार दशमलव पाँच किलोमिटर लम्बाइको यो सडकको ठेक्का सम्झौता २०७४ साल असारमा भएको थियो । ठेक्का अवधि आगामी पुसमा सकिँदैछ । सडक निर्माणको ठेक्का कान्छाराम पिआर उमा कम्पनी एण्ड जेभिले लिएको थियो । काठमाडौँ उपत्यकामा आयोजनाबाट ११ वटा सडक विस्तारको काम शुरु भए पनि कामले गति लिन सकेको छैन । काठमाडौँ र ललितपुर जिल्लाका पाँच–पाँच र भक्तपुर जिल्लाको एउटा आयोजना शुरु भए पनि भौतिक प्रगति कम छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !