१२ बैशाख २०८१, बुधबार

किबी खेतीबाट पन्ध्र लाख आम्दानी


kivi

२३ पुस, बनेपा । कतिपय मान्छेको जागिरे जीवनपछि के गर्ने भन्ने विषयमा सोच्दा सोच्दै श्रम गर्नसक्ने समय व्यतित भइसकेको हुन्छ । सूर्यप्रसाद पाण्डेले भने जागिरे जीवनपश्चात किबीखेती गरेर मनग्य आम्दानी गर्दै आउनुभएको छ ।

नेपाल कृषि अनुसन्धान परिषद्का पूर्व निर्देशकसमेत रहनुभएका काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–६ का पाण्डेले धुलिखेल नगरपालिका–११ फस्कोटमा किबीखती गर्दै आउनुभएको छ । रिसोर्ट सञ्चालन गर्ने सोच बनाएर २०५३ सालमा खरीद गरेको करीब २० रोपनी जग्गामा उहाँले १५ वर्षदेखि व्यावसायिक रुपमा किबीखेती गर्दै आउनुभएको छ ।

“वर्षेनी आठ हजारदेखि १० हजार किलोसम्म किबी फल्छ,” उहाँले भन्नुभयो । कृषि अनुसन्धानकर्तासमेत रहनुभएका पाण्डेले अन्य खेती गर्न धेरै कोशिस गरेपनि सफल हुनु भएन । “पहिला हलुवावेद र जापानी नास्पाती खेती पनि गरेँ, उत्पादन भएन,” उहाँले भन्नुभयो । अहिले उहाँको खेतमा चार सयको हाराहारीमा किबीको बोट छ ।

कामको चाप अनुसार कामदार राख्ने गरेको सञ्चालक पाण्डे बताउनुहुन्छ । “वार्षिक रु १५ लाखदेखि रु २० लाखसम्म आम्दानी हुन्छ । लक्ष्य अनुसारको आम्दानी भइरहेको छ,” उहाँले भन्नुभयो, “बजार खोज्दै हिँड्नु परेको छैन, व्यापारी फार्ममै आउने गरेका छन् ।” काठमाडौँबाट समेत किबीको माग आउने गरेको छ । किबी प्रतिकिलो रु २५० सम्ममा बिक्री हुने गरेको छ । “फलको आकारअनुसार ग्रेडिङ गरिन्छ । त्यही अनुसार बिक्री हुन्छ,” पाण्डेले भन्नुभयो । उहाँले फलसँगै बिरुवासमेत उत्पादन गरेर बिक्री गर्दै आउनुभएको छ । किबीखेती गर्न उहाँले हालसम्म रु ८० लाखसम्म लगानी गर्नुभएको छ ।

किबीको एउटा बिरुवाको मूल्य रु तीन सय पर्छ । यसलाई असिना पानी र हावाहुरीबाट जोगाउनुपर्ने हुन्छ । “एक पटक लगाएको बोटले पचास वर्षसम्म फल दिन्छ,” पाण्डेले भन्नुभयो । एक हजार मिटरदेखि तीन हजार मिटरको उचाइसम्म किबीखेती गर्न सकिन्छ । जिल्लाको नाला, तेमाल, पनौतीको बेहावर, कोशीपारिको चौवासलगायत ठाउँमा पछिल्लो समयमा किबीको व्यावसायिक रुपमा खेती गरिँदै आएको छ ।
(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !