१२ बैशाख २०८१, बुधबार

चेपाङ बस्तीमा सडक


Nepalpatra

१७ पुस, रत्ननगर । केही वर्षअघि चितवनको चेपाङ बस्ती पुग्न गोरेटो बाटो हिँड्नुपर्ने हुन्थ्यो तर अहिले अवस्था त्यस्तो छैन । स्थानीय तहको निर्वाचन भएसँगै यहाँको पूर्वाधार विकासले गति लिएको छ । चेपाङ बस्ती जोड्ने साँघुरा, गोरेटा बाटो अहिले छ देखि आठ मिटरसम्म ग्राबेल भएका छन् ।

चेपाङको बाहुल्य रहेको कालीकानगरपालिका–११ मा वडातहको अधिकांश बजेट सडक निर्माणमा लगानी भएको छ । यसले कोराक, सिद्धीलगायतका बस्तीका सडकसँग सहज तरिकाले जोडिन सहयोग पुग्छ । क्रयाइलिङदेखि मजवाङसम्म करीब तीन दशमलव दुई किमी सडकमा आठ मिटरको ट्र्याक खोल्ने काम भएको छ । रु ३० लाख खर्चेर सो बाटो निर्माण हुँदैछ । रन्तेसदेखि गामीडुङसम्मको करीब दुई किमी ट्र्याक खोल्ने काम भएको छ । यो सडकमा रु २० लाख खर्च भएको छ । यस्तै दौतेसदेखि गिरेक भञ्ज्याङसम्म करीब तीन किमी सडक बनेको छ । यो सडक बनाउन रु १० लाख खर्च भएको छ । त्यस्तै छ मिटरको ट्र्याक खोलिएको जाम्वालिङ सडकमा रु २० लाख खर्च भएको छ । वडाले लालीवाङदेखि रन्तेससम्मको करीब चार किमी नालासहितको सडक बाटो निर्माण गर्दैछ । यस्तै मजवाङदेखि गोरखलिङसम्मको दुई किमी सडकमा रु ११ लाख खर्च हुनेछ । सैपाम्पदेखि बाँसघारीसम्म करीब चार किमी सडक बन्दैछ ।

वडाले चालु आर्थिक वर्षका लागि कुल रु एक करोड ३४ लाख विकास बजेट विनियोजन गरेको छ । वडाध्यक्ष कृष्णबहादुर प्रजाले सडक निर्माण पहिलो प्राथमिकतामा पारेको बताउनुभयो । “सहजरूपमा ओहरदोहर गर्न मिल्ने बाटो बनाउने लक्ष्य छ”, उहाँले भन्नुभयो, “सडक सञ्जालले सबै बस्ती छुने छ ।” उहाँले हरेक सडकलाई मोटरबाटोका रूपमा विकास गर्न बजेट माग भइरहेको जानकारी दिनुभयो । “पहाड काटेर ट्र्याक खोल्ने काम चलिरहेको छ”, उहाँले भन्नुभयो, “सडक नहुँदा सास्ती खेपेका स्थानीयवासीमा अहिले खुशी छाएको छ ।”

लालीवाङदेखि रन्तेससम्मको गोरेटो बाटो हाल आठ मिटरको बनाउने काम भइरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार यो वडामा ३२० घरधुरी छन् । जसमध्ये करीब २० घर तामाङ समुदायको रहे पनि अन्य सबै चेपाङ हुन् । वडाध्यक्ष प्रजाले वडा नं ११ विकासमा निकै पछि परेकाले नगरपालिकाले समेत बजेट विनियोजन गर्दा प्राथमिकतामा पारेको बताउनुहुन्छ ।

“बनेका बाटोमा सजिलै एम्बुलेन्स चल्न मिल्ने बनाउने धोको छ”, उहाँले भन्नुभयो, “ट्र्याक खोल्ने काम लगभग अन्तिम चरणमा पुग्यो, अब कालोपत्रे गर्न बजेट आवश्यक छ ।” अगुवा युवा दिनेश प्रजाले सडक बन्न थालेपछि ठूला व्यावसायिक फार्म खुल्ने क्रमसमेत बढेको बताउनुहुन्छ । “दुई ठूला ह््याचरी फार्म खुलेका छन्, अन्य कैयन व्यवसायीले प्रशस्तै जग्गा खरिद गरेको अवस्था छ”, उहाँले भन्नुभयो, “वडाको तल्लो क्षेत्रमा जग्गा पाउनै मुस्किल भइसकेको छ ।”

स्थानीय मानबहादुर प्रजा जग्गाको मूल्य ह्वात्तै बढेको बताउनुहुन्छ । “हावापानी अनुकूल भएरै होला, ठूला रिसोर्ट तथा ह््याचरी खोल्न जग्गा लिनेको होडबाजीनै चलेको छ”, उहाँले भन्नुभयो, “पाँच वर्ष पहिले रु पाँच हजार कठ्ठामा पाइने जग्गाको मूल्य रु पाँच लाखसम्म पुगेको छ ।”

बिजुली विस्तारमा बजेट

पहाडी भूगोलका वडा १० र ११ मा विद्युतीकरण गर्न करीब रु चार करोड बजेट विनियोजन भएको छ । सङ्घीय सांसद कृष्णभक्त पोखरेलको अगुवाइमा विद्युतीकरणका लागि केन्द्र सरकारले बजेट छुट्याएको छ । मजवाङ, कल्याणचौर र गामीडुङ क्षेत्रको आंशिक क्षेत्रमा विद्युत् सेवा पुगे पनि अन्यत्र सेवा पुग्न सकेको छैन ।

एम्बुलेन्स आवश्यक

वडाध्यक्ष प्रजाले सडक सञ्जाल विस्तार भइसकेकाले चेपाङ बस्तीमा एम्बुलेन्स अतिआवश्यक परेको बताउनुभयो । “तीनदोभान क्षेत्रमा मात्रै स्वास्थ्यचौकी छ, सैपाम्पबाट आउन झण्डै तीन घण्टा पैदल हिँड्नुपर्छ”, उहाँले भन्नुभयो, “बिरामीलाई तत्काल उपचार गराउन एम्बुलेन्स चाहिन्छ, बजेट माग गरिरहेका छौँ”, चेपाङ बस्तीमा आजभोलि अटोरिक्सा चल्दै आइरहेका छन् । घुम्न जानेका लागि साना सवारी तथा मोटरसाइकल गुड्ने गर्छन् ।

वडा भवन छैन

वडा कार्यालय भवन बनाउन बजेट विनियोजन भए पनि जग्गा नहँुदा गत वर्ष रु ३० लाख बजेट ‘फ्रिज’ भएको थियो । लालीवाङ (तीनदोभान) खोला नजिक रहेको घर भाडामा लिएर हाल वडा कार्यालय सञ्चालनमा छ । मासिक रु चार हजार ५०० भाडा तिर्नुपर्छ । “वडा भवन बनाउन जग्गा खोजिरहेका छौँ, भेटिएका जग्गा पनि वनले प्रयोग गर्न दिँदैन”, वडाध्यक्ष प्रजाले भन्नुभयो, “जग्गा उपलब्ध हुनासाथ भवनका लागि बजेट खोजिने छ ।” (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !