७ बैशाख २०८१, शुक्रबार

नेपाल–भारत जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न


Nepalpatra

५ पुस, दार्चुला । लेकम गाउँपालिका–३ लालीमा निर्माण भएको नेपाल–भारत जोड्ने झोलुङ्गे पुल निर्माणको काम पूरा भएको छ ।

भारतसँग सीमा जोडिएको लेकम गाउँपालिकाको लालीमा सञ्चालन हुने ट्युब विस्थापनअन्तर्गत निर्माण भइरहेको झोलुङ्गे पुल निर्माणको काम पूरा भएको हो । पुल निर्माणको औपचारिक रुपमा सम्पन्न भएको घोषणा गर्न मात्रै बाँकी रहेको निर्माण कम्पनी मनोमालिका कन्सटक्र्सनका प्रतिनिधि दीपक साउँदले बताउनुभयो । पुलको प्राविधिक रुपमा स्वीकृत गरेपछि झोलुङ्गे पुलबाट आवतजावत गर्न दिइनेछ ।

पुल निर्माणको प्राविधिक मूल्याङ्कन गर्न यही दुई तीन दिनभित्र प्राविधिक टोली लाली आउने कार्यक्रम रहेको साउँदले बताउनुभयो । पहिलोपटक केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला २०७२ साल असोज २५ गते देशभरका तुइन दुई वर्षभित्र हटाउने घोषणा गर्नुभएको थियो । उक्त घोषणमा दार्चुलाको लेकम क्षेत्रमा सञ्चालन रहेको ट्युब तथा उत्तरी क्षेत्रमा सञ्चालनमा रहेका तुइन विस्थापन गर्ने लक्ष्य राखिएको थियो ।

लेकम गाउँपालिकालाई भारतसँग जोड्ने झोलुङ्गे पुल निर्माणको लागि ०७३ असोज ४ गते कूल रु एक करोड ३२ लाख लागतमा सम्झौता भएको थियो । ढिलै भए पनि पुल निर्माणपछि स्थानीयवासी हर्षित भएका छन् । वर्षौंदेखि महाकाली नदीमाथि ट्युबको सहारामा आवतजावत गर्दै आएका स्थानीयवासीलाई पुल निर्माणले सहज भएको सीमा प्रहरी चौकी लालीका निमित्त इञ्चार्ज गणेश बुडालले बताउनुभयो ।

पुल निर्माण करीब सकिएको छ, बुडालले भन्नुभयो, “दुवैतिर ढोका बन्द गरेर राखेका छौँ । अहिले पुलमा आवतजावत गर्न दिएका छैनौँ । प्राविधिक रुपमा मूल्याङ्कन नगरिएको कारण पुलबाट स्थानीयवासीलाई आवतजावत गर्न नदिइएको हो ।

पुल निर्माणपछि लेकम गाउँपालिका वडा नम्बर १, २, ३, ४, र ५ का स्थानीयवासीलाई आवतजावतमा सहज हुने लेकम गाउँपालिका स्थानीयवासी गणेश भण्डारीले बताउनुभयो । २०४८ सालमै लालीमा नेपाल भारत जोड्ने झोलुङ्गे पुल निर्माण हुन्छ भनेर सुनेका स्थानीयवासीले झण्डै ३० वर्षपछि झोलुङ्गे पुल पाएका हुन् ।

पुल नहुँदा यहाँका स्थानीयवासीले ट्युबको सहारामा दैनिक उपभोग्य सामग्री ल्याउनुपरेको थियो । लेकम क्षेत्रलाई जोड्ने नेपालतिरको निर्माणाधीन महाकाली करिडोरले गति लिएको छैन । लालीको झोलुङ्गे पुल निर्माणपछि लेकम क्षेत्रको व्यापारिक नाकाको रुपमा यो क्षेत्र विकास हुने गाउँपालिका अध्यक्ष प्रमानन्द जोशीले बताउनुभयो । लेकम क्षेत्रको लाली उर्बर भूमि भएको क्षेत्र हो । सडक पहुँच नहुँदा यहाँ उब्जनी हुने धान दाल अन्न बिक्री गर्न समस्या हुने गरेको थियो ।

सुरक्षा चुनौती

नेपाल भारत जोड्ने झोलुङ्गे पुल निर्माणपछि पुलको सुरक्षा तथा सामान जाँच गर्न समस्या उत्पन्न भएको छ । दुई देश जोड्ने महाकाली नदीमाथि निर्माण भएको पुलको सुरक्षा तथा पुलबाट आयात निर्यात हुने सामानको जाँचको लागि समस्या भएको हो ।

भारतीय पक्षले पुल निर्माणसँगै सुरक्षाकर्मी बस्ने भवन निर्माण गरेको छ । पुल सँगसँगै स्थानीय मानसिह भाटको जमीन भाडामा लगेर भवन निर्माण गरेको हो । पुल छेउमै एसएसबी राख्नको लागि भवन निर्माण गरेको छ । यता नेपालतिर भने प्रहरीको लागि प्रहरी बिटसमेत बनाउन समस्या भएको सीमा प्रहरी चौकी लालीका निमित्त इञ्चार्ज गणेश बुडालले बताउनुभयो ।

“अहिलेको सीमा चौकीबाट १०/१५ मिनेट लगाएर झोलुङ्गे पुल पुग्नुपर्छ । अहिलेलाई बिहानदेखि बेलुकीसम्म ड्युटी खटाउने गरिएको छ” उहाँले भन्नुभयो, “पुलमा नियमित आवतजावत गरेपछि रातिको समयमा खोल्नुपरे समस्या हुन्छ ।” छिमेकी भारतमा पक्की संरचनामा भवन निर्माण भइसकेको छ, हामीतिर भवन त परै जाओस् प्रहरी बस्न पोष्टसमेत निर्माण गरिएको छैन । पुल निर्माण गर्ने निर्माण व्यवसायीलाई भन्दा घाटा भइसकेको छ भनेर पन्छिने गरेको छ । गाउँपालिकाले पनि अहिलेसम्म सहयोग नगरेको बुडालको भनाइ छ ।

उक्त ठाउँमा प्रहरी बिट राख्न र भन्सार स्थापनाको लागि गाउँपालिकाले पहल गरे पनि निर्णय भइनसकेको गाउँपालिका अध्यक्ष प्रमानन्द जोशी बताउनुहुन्छ । प्रहरी पोष्ट राख्न स्वीकृतपछि भन्सार पनि चाहिन्छ, उहाँले भन्नुभयो, “भन्सार बिना भारतीय सामान ल्याउन स्थानीयवासीलाई समस्या हुन्छ । लेकम र मालिकार्जुनको ठूलो क्षेत्रका नागरिक यही पुल भएर आवतजावत गर्छन् ।” विगतमा छोटी भन्सार कार्यालय रहेको यस क्षेत्रमा भन्सार पुर्नबहाली गर्न गाउँ कार्यपालिका बैठकले निर्णय गरी माग भइसकेको अध्यक्ष जोशी बताउनुहुन्छ ।

मार्मा विद्युत्को राष्ट्रिय प्रसारण लाइनमा

विद्युत्को राष्ट्रिय प्रसारण लाइनमा नजोडिएको दार्चुलाको मार्मा गाउँपालिका पहिलोपटक विद्युत्को प्रसारण लाइनमा जोडिएको छ । दार्चुला वितरण केन्द्रअन्तर्गत शिखरको बलाँचदेखि मार्मा गाउँपालिकाको लटिनाथसम्मको ११ केभी प्रसारण लाइन जोडिएपछि मार्मा विद्युत्को राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।

गाउँपालिकाको विभिन्न क्षेत्रमा ग्रामीण विद्युतीकरण भएसँगै अहिले प्रसारण लाइनको परीक्षण भइरहेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र दार्चुलाले जनाएको छ ।

उक्त क्षेत्रमा पर्ने विद्युतीय उपकरणमा विद्युत् चार्ज प्रवाह भइरहेकाले पोल र तार नछुन विद्युत् प्राधिकरण दार्चुला वितरण केन्द्रले आग्रह गरेको छ । विद्युत्को राष्ट्रिय प्रसारण लाइनअन्तर्गत अहिले मार्मा गाउँपालिका–४ मा बिजुली बत्ती बालिएको दार्चुला वितरण केन्द्र प्रमुख दयाराम शाहले जानकारी दिनुभयो ।

चमेलिया जलविद्युत्बाट मार्मा गाउँपालिकासम्म अहिले एक मात्रै ट्रान्सर्फमर राखेर बत्तीको परीक्षण गरिएको छ । बत्ती पुगेको क्षेत्रमा केही दिनमै मिटर वितरण शुरु हुने शाहको भनाइ छ । अहिले सफलरुपमा प्रसारण लाइन जोडिएको छ, उहाँले भन्नुभयो, “मिटर सबैले लगाएपछि पहिलो चरणमा ५०/६० घरधुरीमा बत्ती दिइन्छ ।”

मार्मा गाउँपालिका–४ मर्मती, वडा नम्बर ६ शेरी, वडा नम्बर ३ को लटिनाथ बजार, रिल, बजानी, बिटुले, च्युरानी, गाउँपालिका कार्यालय र नालाबगडलगायतका स्थानमा विद्युतीकरणको काम अन्तिम चरणमा पुगेसँगै स्थानीय घर, पसलमा वायरिङ गर्न थालेका छन् ।

आर्थिक वर्ष २०७४/०७५ मा नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र दार्चुलासँग सम्झौता गरेर काम शुरु गरेको लटिनाथ एण्ड जोशी निर्माण सेवाले उक्त क्षेत्रमा विद्युतीकरणको काम गरेका थियो ।

अहिलेसम्म राष्ट्रिय प्रसारणको विद्युत् नपुगेको मार्मामा पछिल्लो समय विद्युतीकरणमा प्रगति भएर परीक्षणको कामसमेत हुँदा स्थानीयवासी खुशी भएका छन् स्थानीय देवसिंह महराले भन्नुभयो । ढिलै भए पनि विद्युत्को सफल परीक्षण भएको छ । गाउँपालिकाको लागि थप चार पाँच वटा ट्रान्सर्फमर राख्न सके सबैको घरमा बत्ती पु¥याउन सकिन्छ ।

चालू आवमा समेत मार्मा गाउँपालिकामा विद्युतीकरणका लागि रु एक करोड बजेट नियोजन भएको छ । अहिले मार्मा गाउँपालिकालगायत बजार क्षेत्रमा विद्युत् पुगेको मार्मा गाउँपालिकाका सव इञ्जिनीयर विक्रम जोशी बताउनुहुन्छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !