११ बैशाख २०८१, मंगलबार

हुलाकी राजमार्ग सडकको कालोपत्र गर्न शुरु


Road Construction

२ पुस, नेपालगञ्ज । बाँकेमा हुलाकी राजमार्गअन्तर्गतको सडक कालोपत्र गर्ने काम शुरु गरिएको छ । आज पहिलो दिन पुरैनादेखि साढे एक किलोमिटर बाटोमा कालोपत्रेका लागि गर्नुपर्ने पहिलो चरणको काम सकिएको इञ्जिनीयर तुलसीराम भण्डारीले जानकारी दिनुभयो ।

नेपालगञ्जको पुरैनादेखि सुइया बघौडासम्मको ४४ दशमलव ६ किलोमिटरको हुलाकी राजमार्गअन्तर्गतको सडक कालोपत्रे हुने बताइएको छ । योजनाको बजेट सरकारले नियमित उपलब्ध गराउँदै गएमा २०७६ साउनसम्ममा काम सक्ने गरी कालोपत्रे शुरु गरिएको इञ्जिनीयर भण्डारीले बताउनुभयो ।

“निर्माणाधीन सडकखण्डको ठाउँठाउँमा जग्गा अधिग्रहणसम्बन्धी विवाद समाधान नभएकाले ती स्थानलाई छाड्दै सडक कालोपत्रे गरिनेछ”, इञ्जिनीयर भण्डारीले भन्नुभयो ।

यसैबीच, नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रा शिवचोकबाट पुरैनासम्मको सडक ११ मिटर चौडा हुनुपर्नेमा सात मिटरमै बनाउन थालेको भन्दै स्थानीयवासीले अवरोध गरेका छन् ।

सडकमा घर परेका स्थानीयवासी रामनारायण बर्माले आफ्नो घर भत्काउन आलटाल गरेपछि अन्य स्थानीयवासीले भने मापदण्डआनुसारकै सडक संरचना निर्माण हुनुपर्ने माग गरेका हुन् ।

स्थानीय बर्माले आफ्नो घर अगाडिको नाली आफँै निर्माण गर्न थालेपछि नगर प्रहरीले स्थानीयवासीको आग्रहमा ढलान गरेको नाली भत्काएको छ । सहमतिको आधारमा समाधान गरेर सडक बनाउने उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरले बताउनुभयो ।

हर्न बजाउनेलाई जरिवाना

नेपालगञ्जमा हर्न निषेध उल्लङ्घन गर्ने सवारीसाधनलाई ट्राफिक प्रहरीले कारवाही शुरु गरेको छ । पहिलो पटक नगद जरिवाना गरेर छोडिएको ट्राफिक कार्यालय नेपालगञ्जले जनाएको छ । आइतबार १२ सवारीसाधनलाई जरिवाना गरिएको छ ।

‘नो हर्न’ क्षेत्रमा हर्न बजाएकाले दुई बस, दुई ट्रक, तीन जिप र पाँच मोटरसाइकललाई ट्राफिकले प्रत्येक सवारीसाधनबाट रु ५०० का दरले जरिवाना लिएको जिल्ला ट्राफिक कार्यालय नेपालगञ्जका प्रमुख हिरेन्द्र रोकायले जानकारी दिनुभयो ।

अवैद्य काठ बरामद

बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियाबाट प्रहरीले गए राति अवैध काठ बरामद गरेको छ । जिल्लाको इलाका प्रहरी कार्यालय हिरमिनियाका प्रमुख प्रहरी सहायक निरीक्षक देवबहादुर केसी नेतृत्वको प्रहरी टोलीले करीब रु ४० हजार मूल्य बराबरको पाँच थान सालको काठको गोलिया बरामद गरेको हो ।

सीमावर्ती भारतीय जङ्गलबाट फडानी गरेर ल्याएको काठ प्रहरी टोली देखेपछि तस्करले काठ फालेर भागेका थिए । बरामद गरिएको काठ आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !