६ बैशाख २०८१, बिहिबार

लुम्बिनीमा अन्तर्राष्ट्रिय सेमिनार शुरु


Nepalpatra

२ मङ्सिर, रुपन्देही । बुद्धजन्मस्थल लुम्बिनीमा पूर्वीय दर्शनको विविधता विषयमा छलफल गर्न शनिबारदेखि अन्तर्राष्ट्रिय सेमिनार शुरु भएको छ । नेपाल र चीनका दुई विश्वविद्यालयको आयोजनामा एशियाली प्राकृतिक दर्शनको विविधिकरण विषय सेमिनार शुरु भएको हो ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना र चीनको बेइजिङ नर्मल युनिभर्सिटीको सहकार्यमा शुरु भएको सेमिनारमा नेपाल, चीन र भारतका बौद्ध विद्धानको सहभागिता रहेको छ । विज्ञान सभ्यताअघिको प्राचीन सभ्यताको पुनःउत्थान, खोज अनुसन्धान र प्रवद्र्धन गर्ने उद्देश्यले यो सेमिनार आयोजना गरिएको हो ।

दुई दिनसम्म चल्ने सेमिनारमा तीन देशका विज्ञहरुले २४ कार्यपत्र प्रस्तुत गर्दैछन् । पूर्वीय दर्शनको प्रभाव विश्वव्यापीकरण भइरहेका बेला यसको अध्ययन पूर्वी क्षेत्रबाटै हुनुपर्ने लक्ष्यसहित आयोजना भएको सेमिनारले आगामी दिनमा खोज अनुसन्धानका लागि कार्यदिशा तय गर्नेछ ।

सेमिनारको उद्घाटन गर्दै विश्वविद्यालयका निमित्त उपकुलपति तिलक आचार्यले पूर्वीय सभ्यताले विश्वलाई मार्गदर्शन गरेको र यसको थप खोज अनुसन्धानका लागि विश्वविद्यालयले काम थालेको बताउनुभयो ।
“पूर्वीय सभ्यताले विश्वलाई नै शान्तितर्फ प्रेरित गरेको छ, त्यसको मुहान नै लुम्बिनी हो”, उहाँले भन्नुभयो, “लुम्बिनीबाटै विश्वशान्ति र बौद्धदर्शनको शुरुआत भएको छ ।”

कार्यक्रममा बेइजिङ नर्मल युनिर्भसिटीका प्रोफेसर लिउ स्याओ थिङ्गले पूर्वीय दर्शनलाई बहुआयामिक रूपमा अध्ययन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

नेपाल संस्कृत विश्वविद्यालयका अनुसन्धान केन्द्र प्रमुख प्रा डा काशीराज न्यौपानेले पूर्वीय दर्शनका करोडौँ हस्तलिखित दस्तावेज अनुसन्धान हुनुपर्ने बताउनुभयो । लुम्बिनी बौद्ध विश्वविद्यालयले प्राचीन हस्तलिखित ग्रन्थमाथि अनुसन्धान, प्रकाशन र अध्ययनमा जोड दिनुपर्ने उहाँले सुझाव दिनुभयो । लुम्बिनी विश्वविद्यालयका डिन डा माणिकरत्न शाक्यले बौद्धशिक्षा र दर्शनको विकास, अध्ययनका लागि खुलेको विश्वविद्यालयले सिक्ने चरणमै महत्वपूर्ण काम थालनी गरेको बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !