८ बैशाख २०८१, शनिबार

भैरहवा—लुम्बिनी सडकको काम अगाडि बढ्दै


Road Construction

२० कात्तिक, बुटवल । निर्माण कार्यले तीव्रता लिएको भैरहवा—लुम्बिनी—तौलिहवा सडक आगामी १५ महिनाभित्रै सम्पन्न हुने भएको छ ।

यो सडकको भैरहवा– विमानस्थल पाँच किलोमिटर ६ लेन, विमानस्थल लुम्बिनी १६ किलोमिटर चार लेन र लुम्बिनी–तौलिहवा २० किलोमिटर दुई लेनमा निर्माण हुँदैछ । ठेकेदार कम्पनीसँग सम्झौता भएको १५ महीनाभित्र यो सडकको दुबैतिर रहेका दुई हजार ६०० रुख काट्ने, माटो भर्ने, कल्भर्ट र नाली बनाउनेलगायतका काम प्रायः सम्पन्न भएका छन् ।

तीव्र गतिमा काम भइरहेकाले सडक निर्माण (३० महीनाको अवधि) समयसीमाभित्रै सम्पन्न हुने अपेक्षा गरिएको छ । त्यसो भए यो सडक म्याद नथपिकनै निर्धारित समयभित्र काम सक्ने मुलुककै पहिलो नमूना सडक बन्नेछ । भैरहवा–लुम्बिनी—तौलिहवा सडक आयोजनाका प्रमुख राजेश पौडेलले निर्धारित समयमै काम सकेर नमूना बनाउने उद्देश्य राखिएको बताउनुभयो । पौडेलले भन्नुभयो,“ १५ प्रतिशत काम सम्पन्न भएको छ,अब कल्भर्टको काम सम्पन्न भएपछि २५ प्रतिशत पु¥याउँछौं, बाँकी काम कालोपत्रेमा पर्ने भएकाले समयमै सम्पन्न हुनेमा विश्वस्त छौँं ।”

कूल ४२ किलोमिटर लम्बाइको यो सडकको सबै ठेक्का भारतीय निर्माण कम्पनी गाभर कन्स्ट्रक्सनले लिएको छ । उक्त कम्पनी भारतमा राम्रो काम गर्ने ठूलो प्रतिष्ठित कम्पनी हो । आयोजना प्रमुख पौडेलले ठूलो र अनुभवि कम्पनीका कारण काममा समस्या नआएको स्वीकार गर्नुभयो ।

साधन, स्रोत र जनशक्तिका लागि यो कम्पनीलाई कुनै पनि समस्या नभएकाले पनि काममा प्रगति देखिएको बताइएको छ । निर्माण कम्पनीले तोकिएको अवधि भन्दा ६ महीनाअघि नै काम सम्पन्न गर्ने दाबी गरेपनि गुणस्तर खस्किने गरी हतार गर्न नदिने आयोजना प्रमुख पौडेलले बताउनुभयो । दीपावली र छठका कारण काममा केही दिन सुस्तता आए पनि छठ लगत्तै ग्राभेलिङ सकेर कालोपत्रेको प्रक्रियामा जाने तयारी छ । करीब दुई अर्ब लगानीमा निर्माण भइरहेको यो सडक सन् २०२० को जुलाई १९ भित्र निर्माण सक्नुपर्ने सम्झौता छ ।

कूल २४ किलोमिटरमध्ये भैरहवा—विमानस्थल ६ लेन सडकको ढाँचा बुटवल—बेलहिया ६ लेन सडकको भन्दा फरक छ । यो सडकमा डिभाइडर क्षेत्रमा हरियाली हुनेछ । तर, सडकभित्रको दुबै छेउमा रुख रोप्ने योजना छैन । सडक बाहिर भने ६ हजार रुख रोप्ने योजना रहेको बताइएको छ । विमानस्थल– लुम्बिनी खण्ड र लुम्बिनी—तौलिहवा खण्डमा पनि बीचमा रुख रोपेर हरियाली बनाउने योजना छ ।

मुलुकमा सञ्चालित अन्य आयोजनाको काम निकै सुस्त भएका कारण जनताले सास्ती भोगिरहेका बेला भैरहवा—लुम्बिनी—तौलिहवा सडकको काम तीव्र गतिमा भइरहेको प्रति यस क्षेत्रका पर्यटन व्यावसायी खुशी छन् ।

व्यवसायीहरुले मुग्लिन—नारायणगढ तथा बुटवल—भैरहवा सडक विस्तारका कारण लामो समय पर्यटन व्यवसाय प्रभावित भएको भन्दै यो सडक छिटो सक्न आयोजना प्रमुखलाई पटक÷पटक ज्ञापनपत्र समेत बुझाएका थिए । सडक निर्माण यही गतिमा अघि बढे लुम्बिनीको पर्यटन फस्टाउने विश्वास पर्यटन व्यवसायी हेमबहादुर विष्टको छ ।भैरहवादेखि लुम्बिनी पुग्ने सडक साँघूरो र अव्यवस्थित हँुदा बुद्धको जन्मस्थल लुम्बिनी आएका पर्यटक सडकको दूरावस्था देख्दा खिन्न भएर फर्किने गरेका थिए । सडककै कारण स्वदेशी तथा विदेशी पर्यटकले सास्ती भोग्देै आएका थिए ।

भैरहवामा निर्माणाधीन गौतमबुद्ध विमानस्थलको काम अन्तिमचरणमा पुग्नु र भैरहवा—लुम्बिनी सडक ६ र ४ लेनमा विस्तार हुुनुले यहाँको पर्यटन प्रबद्र्धनमा आशा पलाउन थालेको सिद्धार्थनगर होटल एशोसिएशनका महासचिव लीलामणि शर्माले बताउनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !