११ बैशाख २०८१, मंगलबार

अस्पताल भवन निर्माण शुरु


Nepalpatra

१४ कात्तिक, पर्वत । पर्वत सदरमुकाम कुश्माबजारमा रहेको पर्वत अस्पतालको अत्याधुनिक भवन निर्माण शुरु भएको छ ।

हालसम्म १५ श्ययाको अस्पताल रहेको जिल्लामा ५० श्यया क्षमताको भवन निर्माण गर्न लागिएको हो । लिफ्ट सुविधासहितको प्रविधिमैत्री संरचना निर्माण शुरु भएको हो ।

भवन, जनशक्ति र प्रविधिको अभावमा गुणस्तरीय सेवा प्रवाह गर्न नसकिरहेका बेला चालू आर्थिक वर्षको बजेटबाट भवन निर्माण गर्न रकम निकासा भएको थियो । अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडीले भन्नुभयो “अब छिट्टै नयाँ संरचनासहितको व्यवस्थित अस्पताल बनाउँछौँ ।”नयाँ भवनमा अपाङ्गमैत्री, बालबालिका, साधारण तथा मूख्य शल्यक्रिया, एक्सरे कक्षसहितको एकीकृत भवन हुने छ । पाँच वटा ब्लकमा निर्माण हुने अस्पतालमा डाक्टर तथा नर्सको आवास, ५० वटा श्यया, प्रसूतिगृह, शल्यक्रिया भवन, एक्सरे, इसिजी, प्रयोगशालालगायतका छुट्टाछुट्टै कोठा रहने अध्यक्ष पहाडीले जानकारी दिनुभयो ।

हालको साना टहरा हटाइ भवन निर्माण भएपछि विशेषज्ञ डाक्टरसहितको सेवा सञ्चालनमा आउने र १६ जना डाक्टरको दरबन्दी हुनेछ । त्यहीअनुसार अन्य कर्मचारीको व्यवस्थापन हुनेछ ।

भवन निर्माणका लागि गोरखा कन्स्ट्रक्सन कम्पनीले जिम्मा पाएको छ । आगामी ३० महीनाभित्र सम्पन्न हुने भवनको यसै महीना शिलन्यास गरेर काम अघि बढाउने तयारी भइरहेको अध्यक्ष पहाडीले बताउनुभयो । गएको असारदेखि मेडिकल सुपरिटेण्डेन्टसमेत रिक्त रहेको अस्पताल पछिल्लो समय रिफरल सेन्टरका रुपमा विकास हुँदै गएको छ । अहिले अस्पतालमा तीन करारका डाक्टर छन् । एक वर्षदेखि एम्बुलेन्स बिग्रिएर थन्किएकोमा हालै मात्रै नेपाल सरकारबाट नयाँ एम्बुलेन्स प्राप्त भएको हो ।

अस्पतालमा स्वास्थ्य सेवा लिन कुस्मा नगरपालिका, फलेवास नगरपालिका, महाशिला गाउँपालिका, बिहादी र जलजला गाउँपालिकाका साथै छिमेकी जिल्ला बागलुङको दक्षिण क्षेत्रका बासिन्दा आउने गरेका छन् ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !