८ बैशाख २०८१, शनिबार

“पिलाछेँ”लाई पर्यटकीय गन्यव्यका रुपमा विस्तार गरिने


pilache

ललितपुर । गत वर्षको विनाशकारी भूकम्पले क्षतिग्रस्त बनाएको पिलाछेँलाई होमस्टेका रुपमा विस्तार गर्ने गरी निर्माणकार्यलाई अगाडि बढाइएको छ । भूकम्पले क्षतविक्षत बनाएको उक्त टोलका बासिन्दा सरकारी योजना पर्खेर नभई स्वयम् नै पुनःनिर्माणको काम सुरु गरेका छन् । भूकम्प गएको डेढ वर्ष हुन लाग्दा पनि उक्त टोलका अधिकांश बासिन्दा टहरामै आफ्नो दैनिक जीवनयापन चलाउन बाध्य भएका छन् ।

क्षतिग्रस्त घरहरुको पुनःनिर्माणको थालनी सबै घरको नक्साङ्कन पर्यटकीय रुपमा विकास गरिने उनीहरुको भनाइ रहेको छ । परम्परागत शैलीमा बनाइने उक्त घरहरु भूकम्प प्रतिरोधात्मक हुने बताइएको छ । भूकम्पले क्षतिग्रस्त बनाएको उक्त ठाउँको पुनःनिर्माणका लागि माया फाउन्डेसनले तयार पारेको कार्ययोजनाअनुरुप अगाडि बढाउन स्थानीयवासी तयार रहेको फाउन्डेसनका अध्यक्ष रमेश महर्जनले बताउनुभयो ।

फाउन्डेसनको अगुवाइमा सुरु गरिएको उक्त कार्यमा स्थानीयवासी, विभिन्न सङ्घसंस्था, महिला, युवादस्ता लगायतको सहभागिता रहँदै आएको छ । पिलाछेँ पुनःनिर्माण कार्यमा सहयोग गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय क्षेत्रका विभिन्न सङ्घसंस्था एवम् व्यक्तिहरुले समेत अध्ययन गरेर गएको बताइएको छ । उनीहरुले आ–आफ्नो देशमा पिलाछेँ पुनःनिर्माण कार्यमा सहयोग पु¥याउन प्रचार–प्रसारसमेत गर्ने प्रतिबद्धता जनाएका छन् ।

फाउन्डेसनले तयार पारिएको मापदण्डअनुसार उक्त क्षेत्रमा साढे चारतलेसम्म भवन निर्माण गर्न सकिने छ । यसरी निर्माण गरिने भवनहरु पुरानै प्रकृतिका संरचनामा आधारित रहेर काम गरिने महर्जनको भनाइ रहेको छ । भुइँतलामा पर्यटक आकर्षित गर्न काष्ठकला, क्याफे, रेस्टुरेन्टका रूपमा विकास गर्ने योजना फाउन्डेसनको रहेको छ । यसैगरी पहिलो तलामा पाहुना घर तथा माथिल्लो तलाहरुमा घरधनी बस्न मिल्नेखालको घर निर्माण हुने जनाइएको छ ।

पिलाछेँस्थित २७ रोपनी क्षेत्रफलमा फैलिएको बालकुमारी चौरलाई समेत परम्परागत वास्तुकला झल्कने गरी विकास गर्ने उद्देश्य रहेको बताइएको छ । यसरी पिलाछेँ निर्माणका लागि आवश्यक रकमको २५ प्रतिशत स्थानीयवासीले बेहोर्ने जानकारी महर्जनले दिनुभयो । यसैगरी २५ प्रतिशत रकम आर्थिक सहयोग जुटाउने लक्ष्य फाउन्डेसनले लिएको छ ।

पुनःनिर्माणका लागि २५ प्रतिशत रकम भौतिक तथा श्रमदानबाट खर्च गरिने जनाइएको छ । बाँकी रहेको २५ प्रतिशत रकम सरकारले प्रदान गर्ने सहुलियत दरको ऋण लिने उनीहरुको योजना रहेको छ । पिलाछेँ पुनःनिर्माणका लागि जम्मा रु ५० करोड लाग्ने बताइएको छ ।

काँग्रेस सांसद चन्द्र महर्जनका अनुसार पिलाछेँ पुनःर्निर्माणका लागि तिलगङ्गा आँखा अस्पतालका चिकित्सक डा सन्दुक रुइतले रु चार करोड सहयोग गरेको बताउनुभयो । ललितपुर उपमहानगरपालिका–७ स्थित उक्त क्षेत्रमा ८२ वटा घर भूकम्पले क्षतिग्रस्त बनाएको थियो । उहाँका अनुसार उक्त टोलका स्थानीयवासी एकताबद्ध रुपमा आफ्नो गाउँ आफैँ बनाऔँ भन्ने उद्देश्यका साथ अघि बढेका छन् । सरकारी तवरबाट आउने सहयोगको अपेक्षा सकारात्मक रहे तापनि बस्ने बासका लागि उनीहरु आफैँ मिलेर कामको सुरुवात गरिएको उहाँको भनाइ छ । रासस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !