७ बैशाख २०८१, शुक्रबार

पाटन देगुतलेजु मन्दिरको काठ र इँटा फेरिने


पाटन देगुतलेजु मन्दिर

ललितपुर । पाटन दरबार परिसरमा रहेको देगुतलेजु मन्दिरको काठ र इँटा फेरिने भएको छ । गोर्खा भूकम्पले सो मन्दिर क्षतिग्रस्त बनाएको हुँदा हाल जीर्णेद्धारका साथै मर्मतसुधार गर्दा अधिकांश पुराना काठ र करिब ४० प्रतिशत इँटा फेरिन लागिएको हो । गत फागुन १२ मा क्षमापूजा गरी चैत १ देखि मन्दिर जीर्णेद्धारको काम सुरु गरिरहेको देगुतलेजु मन्दिर पुनःनिर्माण समितिका अध्यक्ष किरणमान प्रधानले बताए ।

उनले भने, “छ तले मन्दिरमा तल भुइँ तलाबाट काठ फेर्दै आउँदा दुई तलासम्मको काठ फर्ने काम सम्पन्न भयो । बाँकी अब माथि चार तलाको काम सुरु गर्नेछौँ ।” सो मन्दिर निर्माणमा भक्तपुरका कामदार खटिएका प्रधानले जानकारी गराए । सो मन्दिर निर्माणमा सरकारबाट प्राप्त रु आठ करोड र ललिपतुर महानगरपालिकाबाट प्रदान रु दुई करोड गरी कूल रु १० करोड खर्च हुने अनुमान छ ।

उनले भने, “मन्दिरका लागि ४० प्रतिशत नयाँ इँटा किन्नुपर्छ । मन्दिरलाई पुरानो शैलीमा निर्माण गराउन आवश्यक सामग्री प्रयोग गरिनेछ ।” मन्दिर जीर्णेद्धारको काम थालिएसँगै देगुतलेजु भवानीअर्थात् भगवतीलाई अन्यत्रै सारी पूजापाठ भईरहेको छ ।

राजा शिवसिंह मल्लका शासनकालमा गुरुपदवी धारणा गरेका लम्बकर्ण भट्टले कान्तिपुर र ललितपुर दुवै सहरमा देगुतलेजु मन्दिर स्थापना गरेको जनाइएको छ । त्यसैगरी १७४९ सालमा राजा योगनरेन्द्र मल्लले प्रस्तर स्तम्भ माथि आफ्ना दुई रानीसहित आफ्ना प्रतिमा राखेका र विसं १९९० को भूकम्पमा पूर्णरुपमा भत्किएको सो मन्दिर श्री ३ जुद्ध शमशेरले जगैदेखि नयाँ बनाएको जनाइएको छ ।

छत्र शैलीमा निर्माण भएको सो मन्दिर जीर्णेद्धार गर्ने क्रममा हाल मन्दिरबाट झिकिएका टुँडाल, गजूर, तोरण, आदि महत्वपूर्ण वस्तु सुरक्षित स्थानमा राखिएको समितिका कोषाध्यक्ष हरिनरसिंह अमात्यले बताए । सो मन्दिर जीर्णेद्धारको प्राविधिक सहयोग काठमाडौँ भ्याली प्रिजर्भेशन ट्रष्ट (केभिपिटी) को जिम्मामा अघि बढेको साइट इञ्जिनियर प्रणाम होराले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !