८ बैशाख २०८१, शनिबार

सरकारद्वारा रेलमार्गको अध्ययन अघि बढाउने


जोगबनी-कटहरी रेलमार्ग बिस्तार

काठमाडौँ । सरकारले पूर्व–पश्चिम विद्युतीय रेलमार्ग, रसुवागढी–काठमाडौँ रेलमार्ग, वीरगञ्ज–काठमाडौँलगायतका रेलमार्गको अध्ययन अघि बढाउने भएको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षमा पूर्व–पश्चिम विद्युतीय रेलमार्ग आयोजना विकासको पूर्वतयारी गरिने बताइन् ।

रसुवागढी–काठमाडौँ रेलमार्ग सम्भाव्यता अध्ययन अघि बढाइने तथा वीरगञ्ज–काठमाडौँ रेलमार्गको अध्ययन अघि बढाइने सरकारको योजना उनले बताइन् । नीति तथा कार्यक्रमका अनुसार काठमाडौँ उपत्यकामा मेट्रो रेलको विस्तृत अध्ययन गरिने छ ।

नेपालका नदी प्रणालीमा आन्तरिक जल यातायात सम्भाव्यता पहिचान तथा विकास गरिने र सार्वजनिक यातायातलाई थप प्रभावकारी बनाउन वातावरणमैत्री बृहत् बस परिवहन प्रणालीलाई प्रोत्साहन गरिने तथा केबुलकार र रोपवोको निर्माण र सञ्चालन थप प्रोत्साहित गरिने नीतिमा उल्लेख छ ।

सवारी चालक अनुमतिपत्र सम्बन्धित प्रदेशबाट सरलरुपमा शीघ्र वितरणको व्यवस्था मिलाउने सरकारको योजना छ । विराटनगर सुक्खा बन्दरगाहसम्म कार्गाे रेल सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !